अर्घाखाँचीमा आगोले जलेर मृत्यु भएका चार जनाको सामूहिक दाहसंस्कार

डिसी नेपाल
२८ वैशाख २०८० २०:१०

अर्घाखाँची । आगोले जलेर मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ढाकाबाङ्गका चार जनाको सामूहिक दाहसंस्कार गरिएको छ ।

खाकाबेँसीको बघमारे घाटमा सो सामूहिक दाहसंस्कार गरिएको भुमिकास्थान नगरपालिका–१ का वडाध्यक्ष गोपाल खनालले बताए । भुमिकास्थान नपा–२ ढाकाबाङ्गमा आगो निभाउने क्रममा घाइते भएका चार जनाको उपचारका क्रममा मृत्यु भएपछि सिङ्गो तिरतिरे गाउँ शोकमा डुबेको छ ।

मङ्गलबार दिउँसो भुमिकास्थान नगरपालिका–२ तिरतिरे गाउँमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका एकै गाउँ बेल्वासे टोलका चारै जनाको मृत्यु भएको थियो । घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा सिफारिस गरिएको थियो । पाल्पामा उपचार हुन नसकेपछि काठमाडौँ सिफारिस गरिएकामा उपचारका लागि लैजाँदै गर्दा केहीको बाटोमा र केहीको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको थियो ।

आगलागीमा परी घाइते भएका भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासेको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा, ५५ वर्षीय पदम बेल्वासेको नारायणघाट नजिकै र ५२ वर्षीय घनश्याम बेल्वासेको काठमाडौँ कीर्तिपुरको बर्न अस्पतालमा र ३६ वर्षीय माधव वेल्वासेको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको हो । आगलागीमा परी घाइते भएकी २६ वर्षीया अस्मिता बेल्वासेको अवस्था सुधारोन्मुख छ । उनको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *