पानी नपर्नु र डढेलोका कारण वायु प्रदूषण पुनः बढ्दै

डिसी नेपाल
२९ वैशाख २०८० ११:५६
72
Shares

काठमाडौँ। पानी नपर्दा र डढेलोका घटना बढेकाले वायु प्रदूषण पुनःबढ्न थालेको छ। हावाको गुणस्तर मापन सूचकांक एक्यूआइका अनुसार अहिले ललितपुर पाटनको एक्यूआइ एक सय ७६, काठमाडौँ कीर्तिपुरको एक सय ६३, रत्नपार्कको एक सय ६३, नारायणीको एक सय ७१ र धनकुटाको एक सय ५५ रहेको छ।

एक्यूआइ शून्यदेखि ५० सम्मको मानकलाई सामान्य अवस्था मानिन्छ। एक्यूआइ एक सय ५० भन्दामाथि जानुलाई हानिकारक मानिने गरिएको छ। पाटन, कीर्तिपुर, रत्नपार्क, नारायणी र धनकुटाको एक्यूआइ एक सय ५० भन्दामाथि छ। स्वास्थ्यलाई नै हानि गर्ने खालको प्रदूषण बढेकाले घर बाहिर निस्कँदा मास्क लगाउन स्वास्थ्य विज्ञले सुझाव दिएका छन्।

प्रदूषणकै कारण काठमाडौँ उपत्यकासहित धेरै ठाउँमा बिहानदेखि तुवाँलो लागेको मौसमविद् गोविन्द झाले जानकारी दिए। उनका अनुसार तत्काल पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने अनुमान छ।

भक्तपुर, मध्यपुरथिमि र वीरेन्द्रनगरको हावा पनि जोखिममा रहेकाले यहाँको हावा अस्वस्थकर देखिएको जनाइएको छ। यी क्षेत्रको एक्यूआइ एक सय ५० भन्दा कम रहेको छ। यस्तो हावामा दीर्घरोगी, बालबालिका र ज्येष्ठ नागरिकलाई जोखिम हुन्ने विज्ञ बताउँछन्। गाडीबाट निस्किएको धुवाँका कारण पनि वातावरण प्रदूषित बन्दै गएको बताइएको छ। – रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *