नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई अदालतमा उपस्थित गराइँदै

डिसी नेपाल
१ जेठ २०८० ८:२१

काठमाडौं। पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदैछ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भए पछि फरार रहेका रायमाझी हिजो बुढानिलकण्ठबाट पक्राउ परेका थिए। उनलाई आज अदालतमा उपस्थित गराउन लागिएको हो।

आइतबार साँझ पक्राउपछि हिजो नै मेडिकल जाँच गरी लैनचौरस्थित प्रहरी हिरासतमा रात कटाएका रायमाझीलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लैजान लागिएको हो।

स्राेतका अनुसार रायमाझी शनिबार मात्रै काठमाडौ छिरेको सूचना प्रहरीले पाएको थियो। उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका थिए।

सो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, सुरक्षाविज्ञ डा. इन्द्रजित राईलगायत १२ जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट वैशाख २० मा पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी आउँदा उनी अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा थिए। त्यहाँबाट काठमाडौं हिँडेका रायमाझी फरार भएका थिए।

प्रहरीले शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई वैशाख २७ गते पक्राउ गरेको थियो ।

त्यसअघि वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई र वैशाख २० गते बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे पक्राउ परेका थिए ।

प्रहरीले उक्त घटनाका गिरोहहरु सन्दीप रायमाझीलाई वैशाख २० मा साथै केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई गत चैतमा पक्राउ गरेको थियो । यही वैशाख २६ गते काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ परेका थिए । उनीहरु सबैका लागि आजै चार दिन म्याद थप भएको छ।

घटनामा मुछिएर पक्राउ पुर्जी जारी भएकापक्राउ परेका डा इन्द्रजित राईका छोरा निरजलाई प्रहरीले खोजी गरिरहेको छ।

आज पक्राउ परेका रायमाझीलाई नेकपा (एमाले)ले सचिवबाट निलम्बन पनि गरिसकेको छ । उक्त घटनामा हालसम्म एक सय छजनाले २० वटा जाहेरी दिएका छन् । उनीहरुले कूल रु २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन् ।

घटनामा मुछिएपछि प्रहरीले थप दुईजनालाई पक्राउ पुर्जी जारी गरिसकेको छ । शुक्रबार पक्राउ पुर्जी जारी भएकामा तत्कालीन गृहमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक र कांग्रेसका नेता पूर्वसभासद् आङ्टावा शेर्पा छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *