राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन तीब्र पार्न सरकारले बनायो संयन्त्र

डिसी नेपाल
४ जेठ २०८० ६:४३

काठमाडौं। राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनलाई प्रभावकारी बनाउन सरकारले महत्वपूर्ण निर्णय गरेको छ। सफ्टवेयरबाट दैनिक अनुगमन गरेर राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्ने गरी उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले विभिन्न निर्णयहरु गरेको हो।

राष्ट्रिय गौरवका आयोजनाका प्रमुखहरुसहित मन्त्रालयमा बुधबार बसेको बैठकले सफ्टवेयरमार्फत दैनिक अनुगमन गर्ने, आयोजनाहरुको कार्यान्वयन समन्वय संयन्त्र बनाउने र सबै आयोजनाहरुको पब्लिक अडिट गर्ने सहितका निर्णय गरेको छ।

आयोजनाहरुको अवस्थालाई दैनिक अनुगमन गरी त्यसमा देखिएका समस्याहरुलाई तत्काल समाधान गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ। आयोजनाहरुमा देखिएका स्रोत व्यवस्थापनका समस्याहरुलाई पनि समाधान गर्ने गरी मन्त्रालयले निर्णय गरेको छ।

बैठकमा उर्जामन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवका आयोजनाहरुलाई छिटोभन्दा छिटो सम्पन्न गर्ने गरी कदम चाल्न आयोजनाका प्रमुखहरुलाई निर्देशन दिएका थिए।

राष्ट्रिय गौरवका रुपमा सूचिकृत भएका आयोजनालाई अरु सामान्य आयोजनाका रुपमा लिन नहुने मन्त्री बस्नेतले बनाए। यी आयोजनाहरु अब तीब्र गतिमा अगाडि बढ्ने पनि उनले बताए।

मन्त्रालयले सबै आयोजनाको पब्लिक अडिट गर्ने गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। संघ, प्रदेश र स्थानीय सरकार, उपभोक्ता, आयोजना क्षेत्रका राजनीतिक दलका प्रतिनिधिहरु, निर्माण व्यवसायी, मिडिया, विज्ञहरु र आयोजनाका अधिकारीहरुसहितको सहभागितामा पब्लिक अडिट गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत सिंचाइका ६ वटा राष्ट्रिय गौरवका आयोजनाहरु छन्। जसमा महाकाली सिंचाइ आयोजना, रानी जमरा कुलरिया सिंचाइ आयोजना, भेरी बबई डाइभर्सन आयोजना, बबई सिंचाई आयोजना, सिक्टा सिचाई आयोजना, सुनकोशी मरिन डाइभर्सन आयोजना रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *