नेपाली कला संस्कृति त्याग्न नसकेको एक सपना

डिसी नेपाल
५ जेठ २०८० १७:११

काठमाडौं। भनिन्छ, चाहनालाई अभाव र परिधिभित्र सीमित गर्न सकिँदैन । अठोटका साथ लम्किएका पाइला र त्यसप्रतिको आफ्नै विश्वास सफलताको कारक हो ।

आफूभित्र रहेको इच्छालाई मेहनतबाट प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् यी युवा । जसले नेपालमा भुटानी शरणार्थी भएर रहँदा होस् या अमेरिकामा पुनर्वास भएपछि समय अभाव हुँदा पनि यी युवाको गायक बन्ने चाहनाले छोडेन ।

आफ्नो चाहनालाई सपनाकै रुपमा लिए र निरन्तर अघि बढे । सायद त्यही मेहनतको प्रतिफल यतिबेला ‘मेरो भ्वाइस युनिभर्स’मा प्रतियोगीका रूपमा उनीहरु प्रतिस्पर्धामा छन् ।

पूर्वी नेपालको शरणार्थी शिविर हुँदै अमेरिका पुगेर पनि नेपाली कला र संस्कृति नछोडेका उनीहरु यतिखेर काठमाडौँमा जारी सो प्रतियोगिताका सहभागी छन् । नेपाली गीतसङ्गीत र नृत्यलाई आफ्नो सपना बनाएका उनीहरु अहिले खुसी छन् ।

नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रममा अडिसनदेखि पछिल्लो समयसम्मको यात्रा तय गर्दा सपना झैँ लागेको छ, राजेश सुब्बालाई । उनी गायनसँगै गितार बजाउन खप्पिस छन् ।

“पहिलो पटक साथीहरूसँग मिलेर मजदुरी गरेर गितार किनेको थिएँ । शिविरमा हुँदासमेत समय निकालेर नै साधना गर्ने गरेको थिएँ । आर्थिक अभावले धेरै सपना बाहिर निस्किन पाएका थिएनन्”, सुब्बाले भने । उनी अमेरिकामा भएको अडिसनमार्फत छानिएर नेपाल आएका हुन् ।

यो यात्राको त उनले कल्पनासमेत गरेका थिएनन् । शिविरमा छँदा गायनमा धेरै रहर भए पनि परिचय अभावले उनलाई अगाडि बढ्न दिएको थिएन ।

“मसँग राष्ट्रियता थिएन । त्यसैले गर्दा शिविर बाहिर हुने गतिविधिमा सहजै सहभागी हुने अवसर मिल्दैनथ्यो । तर पनि आफ्नो सपनालाई निरन्तरता दिएँ”, उनले भने । अमेरिकामा आफ्नै व्यावसाय गरिरहेका सुब्बाले दैनिक केही घण्टा सङ्गीत साधनालाई छुट्याएका छन्। जतिसुकै काम गरेर फर्किए पनि उनको त्यो दैनिकी नै बनिसकेको छ ।

शिविरमा रहँदा सुब्बाभन्दा केही सहज थियो तारा तिवारीलाई । “आर्थिक अभाव नभएको होइन । तर रहर त्याग्नुपर्ने अवस्था पनि थिएन । मैले जिल्लासम्म पुगेर साङ्गीतिक कार्यक्रममा सहभागिता जनाएको छु”, तिवारीले भने। उनी पनि सुब्बा झैँ गायनमा सुखदुःखको यात्रा गर्दै अहिले ‘रियालिटी शो’सम्म आइपुगेका छन्।

उनीहरूभन्दा उमेरमा पाको छन् जीवन गुरुङ । बाल्यकालदेखि क्यासेट सुनेर गुनगुनाउन थालेका गुरुङ त्यही क्रममा गायनसँग नजिकिए । रेडियो र क्यासेटमा गीत सुनेर आफ्नो गुनगुनाउने कलालाई गायनमा बदले । गुरुङ अहिले पनि प्रतिस्पर्धामा छन्। “गायनसँग रहरमै भए पनि धेरै वर्षसम्म सम्बन्ध जोडिएको छ । त्यही सम्बन्धले अमेरिकाबाट नेपाल ल्यायो”, गुरुङले भने।

गुरुङ झैँ बाल्यकालमा पनि गीत सङ्गीतमै हुर्किने वातावरण पाए टेक दूतराजले पनि । शिविरमा रहँदा आर्थिक अभावका कारण गीत सुन्नसमेत सङ्घर्ष गर्नुपथ्र्यो । नयाँ ठाउँ भएकाले सहजै शिविर बाहिर जाने अवस्था थिएन ।

“एउटा क्यासेट पाएपछि त्यहीँ गीत सुनेर बारम्बार गाउने गर्थेँ । अरू साथी पनि यस्तै गर्थे । पछिपछि सेवासुविधा थपिए । गायनको कक्षासमेत हुन्थ्यो तर आर्थिक अभावका कारण काममा जानु पथ्र्यो”, दूतराजले भने ।

मन मगरलाई भने बेलाबेलामा सङ्गीत छाड्ने विचार आउने गथ्र्यो । किनकी आफ्नो सपनालाई साकार पार्ने कुनै उपाय उनीसँग थिएन । शिविरको जीवनमा परिधिले सपना खुम्च्याउँदै थियो ।

“शिविरमा पाइने खाद्यान्नले नपुग्दा मजदुरी गर्थेँ । त्यो समयमा गायनलाई अगाडि बढाउने कुनै उपाय नै थिएन । अमेरिका पुगेपछि पनि दैनिकीले सहजता दिएन । सुरुआती समय घुलमिलमै गयो । तर रहर त कहाँ दबिएर बस्छ र ?”, मगरले भने, “यो यात्रा हाम्रो एउटा आँट पनि हो । हामीले दैनिकीलाई छाडेर आफ्नो सपना पूरा गर्न नेपाल आएका छौँ । यो हाम्रा लागि कर्मले जुराएको अवसर हो ।”

मगरले अन्तिम समयमा अडिसन दिएका थिए । उन्नाइस घन्टाको यात्रा तय गरेर अडिसन दिन पुगेपछि आफ्नो सपनासँग उनी झनै नजिकिए । “तीन दिन बाँकी हुँदा मात्र मैले पाउने छुट्टी माग गरेर अडिसनमा आफैँ यात्रा तय गरेर सहभागी भएँ । मभित्र गायनको महत्व कस्तो रहेछ भन्ने त्यो यात्राले पनि जानकार गरायो, “ मगरले भने ।

मगर झैँ प्रतियोगितामा अहिले बाँकी रहेका पाँच (शिविरमा रहेर अमेरिका पुगेका) छन् । उनीहरु ‘मेरो भ्वाइस युनिभर्स’ सम्म आइपुग्नुको श्रेय परिवारलाई नै दिन्छन् । हिजो रहरलाई छुट्याएर गरेको सङ्घर्षकै फल आज जीवन सोचेजस्तो भएको छ । त्यही कारण अहिले परिवारको साथ लिएर रहरको यात्रामा छन् यी युवा ।

शिविरमा रहँदा उनले बाहिरसमेत साङ्गीतिक कार्यक्रममा सहभागी हुने अवसर पाए। अन्यले नपाएको अवसर पाउनुमा अग्रजकै राम्रो काम रहेको तिवारीले बताए ।

“हाम्रा अग्रज शिविर बाहिर निस्किएर काम गर्न थाल्नुभयो । शिक्षा, सङ्गीतलगायतका विविध कामले हामीलाई हेर्ने मानसिकता र गरिने व्यवहारमा परिवर्तन भयो । त्यसकै कारण मेरो पुस्ताले सहजता पाएका थियौँ”, तिवारीले भने ।

नेपालबाट राष्ट्रियता नभएकै कारण अमेरिकामा पुनर्वासका लागि पुगेका पाँच जनाको परिचय छ । तर उनीहरु खुसी भने छैनन् । “हामीले थाहा नपाई अमेरिका पुगेका थियौँ । पहिला पुग्नेले केही समस्या पनि झेल्नुभयो । भाषाको समस्यादेखि आफ्नो भन्ने कोही थिएनन । तर पछि राम्रो भयो”, मगरले भने। सुब्बालाई भने ‘म नेपाली हुँ’ भन्दा गौरव लाग्छ । उनले आफूलाई यसरी नै परिचित गराउँछन्। तर, नेपाल रहँदा यो अधिकार उनले पाएका थिएनन् ।

“हामी नेपाली बोल्छौँ । आफूलाई परिचित गराउछौँ । हाम्रो मनमा त्यही भाव छचल्किएको छ”, सुब्बाले भने, “अहिले हाम्रो बच्चालाई हामीले सक्दो नेपाली कला र संस्कृतिसँग नजिक ल्याउने प्रयासमा हुन्छौँ । घरमा नेपाली नै बोल्छौँ ।” केहीले त घरमा नेपाली भाषामा मात्र कुरा गर्ने नियम झैँ बनाएका छन्। नेपालीत्व नयाँ पुस्तामा पनि उस्तै होस् भन्ने उनीहरूको चाहना छ ।

“नेपाली बोल्न गाह्रो नै छ, नयाँलाई । उनीहरु अमेरिकामै जन्मिए र हुर्किंदै छन् । यद्यपि हामीले सक्दो मेहनत गरेर सिकाउने र बुझाउने गरेका छौँ”, दूतराजले भने । उनी र गुरुङले नेपाली पढाउनेसँगै गीतसङ्गीतसँग बालबालिकाको सामीप्यता बढाउने गतिविधिसमेत गर्छन् । गायन प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका यी पाँचकै ठूलो सपना छैन । आफ्नो रहरको उडान भरेका सबै प्रतिस्पर्धीका रूपमा प्रस्तुत हुन पाउँदा नै खुसी छन् ।

“हामीले निकै दुःखको समयमा पनि गायन छाडेनौँ । त्यसकै प्रतिफल आज यहाँ छौँ । सफलता वा असफलताभन्दा पनि हामी सबै यो क्षणलाई उत्सवका रुपमा लिइरहेका छौँ”, गुरुङले भने।

गीत सङ्गीतको कुनै औपचारिक शिक्षा नलिएका पाँचै जनाले सुन्दै, सिक्दै प्रतियोगितासम्म आइपुगेका हुन्। आउँदो समयमा उनीहरूले गीत सङ्गीतमा कुन स्थान हासिल गर्छन् भन्ने कुनै चिन्ता छैन । तर, गीत सङ्गीत भने आफूबाट कहिले टाढा नहुने उनीहरु बताउँछन् ।

नेपालबाट अमेरिका जाँदा होस् या अहिले फर्किंदा सामान्य बनेर आएका पाँच जनाको अगाडि अहिले गायक पनि थपिएको छ । आगामी दिनमा उनीहरुलाई सम्बोधन गर्दा त्यो जोडिन्छ । अभावमा समेत आफ्नो सपनालाई त्याग्न नसकेका यी पाँच जनाले प्रतियोगीका रुपमा जित्ने वा हार्नेभन्दा पनि पाइरहेको परिचय र बाँचिरहेको सपनामा रमाइरहेका छन् ।

उनीहरुका हिजोका दिन के भए उनीहरुले भोगेका छन् । उनीहरु शरणार्थी शिविरमा हुर्किए, आफ्नो इच्छाअनुसार नभए पनि अमेरिका पुनर्वास हुनुपर्यो । तर यसपटक भने उनीहरु आफ्नो इच्छा र चाहना बोकेर नेपाल आएका छन् ।

अभाव र परिधिमा रहेर बाँचेको जीवनमा अहिले उनीहरु आफ्नो सपनाको उडान भरिरहेका छन् । यसमा नेपालमा आयोजना भएका रियालिटी शोमध्ये अहिलेसम्मकै सबैभन्दा धेरै राशिको पुरस्कारको व्यवस्था गरिएको छ ।

गायन र नृत्य गरी दुवैतर्फ प्रतियोगितामा छानिएका प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै समूह नृत्यका विजेतालाई पनि आकर्षक पुरस्कारको व्यवस्था छ ।

गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ का निर्णायकमा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, पुष्पन प्रधान, गायिका अञ्जु पन्त र सुजाता वर्मा हुनुहुन्छ । नेपाल टेलिभिजनमा बुधबार र बिहीबार ‘मेरो भ्वाइस युनिभर्स’ बेलुकी ८ः५० बजेदेखि प्रसारण भइरहेको छ । विश्वका ५२ भन्दा बढी देशबाट प्रतिस्पर्धामा छानिएर आएका प्रतिभाहरुको अब अन्तिम प्रतिस्पर्धासम्म आइपुगेका उनीहरु अब दौड जित्ने बाटो तय गर्दैछन् ।

नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायी डिल्ली अधिकारीलगायतले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरेको इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले विश्वमा बसोबास गरिरहेका नेपालीबीच सांस्कृतिक एकता कायम गर्न गायन र नृत्यका यी दुई प्रतियोगिताको आयोजना गरेको हो ।

सन् १९९० को दशकको सुरुमै भुटानी शासकको नेपालीभाषीप्रतिको व्यवहार फेरिन थाल्यो । ‘एक भाषा, एक संस्कृति’ नीतिका नाममा जोङ्खा भाषा लाद्न सुरु गरेपछि नेपाली भाषा र संस्कृतिमा प्रतिबन्धित लगाइयो ।

नेपाली भाषाका पुस्तक र सांस्कृतिक वेषभुषा जलाइयो । उक्त नीतिको विरोधमा भुटानको दक्षिणी भागमा बहुसङ्ख्यामा बस्ने नेपाली भाषीले शान्तिपूर्ण आन्दोलन गरे । फलस्वरुप उनीहरु देश निकालामा परे ।

यसरी लखेटिएका नेपाली भाषी भुटानी नागरिकलाई भारतले शरण नदिएपछि नेपाल आउनुपर्यो । नेपालमा शरणार्थी शिविरमा आफ्ना अभिभावकसँगै हुर्किएका यी युवा जसले शिविरदेखि अमेरिकासम्म नै नेपाली भाषा र संस्कृतिलाई त्याग्नु त परै जाओस सपनाका रुपमा लिए, अहिले खुसीसाथ नेपाली गायन र नृत्यमा उत्रिएका छन् ।

भेषराज कार्की\रासस




प्रतिक्रिया

One thought on “नेपाली कला संस्कृति त्याग्न नसकेको एक सपना

  1. सबै साहसी युवाहरुलाई मेरो सलाम! इश्वरको वरदान र हामीसबै आशिष लागोस, जय नेपाली कला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *