चैतन्यद्वारा आयाजित कविता वाचन प्रतियोगिता सम्पन्न, उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान
धनगढी । २१३औं भानु जयन्तीको अवसरमा चैतन्य पाठशालामा अन्तर विद्यालय कविता वाचन प्रतियोगिता–२०८३ सम्पन्न भएको छ।
कैलाली कञ्चनपुर क्षेत्रका १६ विद्यालयको सहभागिता रहेको थियो। चैतन्य पाठशालाको सभा हलमा आयोजित कार्यक्रममा चैतन्य पाठशालाका शिक्षक अभिभावक सङ्घका अध्यक्ष ईश्वर गिरी सभापति रहेका थिए। सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष तथा साहित्यकार रामलाल जोशी प्रमुख अतिथि रहेका थिए।
कैलाली कञ्चनपुरका १६ विद्यालयका २९ जना विद्यार्थी सहभागिता रहेको कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ। अन्तर विद्यालय कविता प्रतियोगितामा चैतन्य पाठशालाकी छात्रा सन्ध्या अवस्थी प्रथम, डिस्कोभरि स्कुलबाट शिशिर ओझा द्वितीय, माइल स्टोन स्कुलकी अनुजा चौधरी तृतीय र पञ्चोदय माविबाट अञ्जली धानुकले सान्त्वना स्थान हात पारेका छन्।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हात पार्नेलाई क्रमशः ५ हजार १०५, ३ हजार ५०५,२ हजार ५, १ हजार ५ रुपैयाँ र प्रमाण पत्रसहित पुरस्कार प्रदान गरिएको थियो। साथै, सहभागिता जनाएका सम्पूर्ण २९ जना विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. वासुदेव बिष्ट, सह प्राध्यापक गणेश राज जोशी र साहित्यकार कोपिला शर्मा (कल्प) निर्णायकको रूपमा रहेका थिए।
कार्यक्रममा बोल्दै विद्यालयका निर्देशक कटक बहादुर सिंहले नेपाली भाषा र साहित्य हाम्रो राष्ट्रिय सम्पदा भएको भन्दै यसको संरक्षण र प्रवर्धन सबैको साझा जिम्मेवारी रहेको उल्लेख गरे। उनले यस्ता प्रतियोगिताहरूले विद्यार्थीमा भाषिक क्षमता विकास गर्ने र साहित्यिक अभिरुचि बढाउने भएकाले चैतन्यले यस्ता कार्यक्रमलाई अझ आयोजना गर्दै जाने बताए।
आँखाले नदेखेको कुरा समेत साहित्यले प्रकाश पार्ने कार्यक्रममा प्रमुख अतिथि रहेका साहित्यकार रामलाल जोशीको भनाई रहेको थियो। उनले “आजको कार्यक्रमको उपस्थिति र कार्यक्रममा प्रस्तुत भएका रचनाले अहिलेको युवा पुस्तामा साहित्य प्रतिको मोह झल्काएको र विद्यालय स्तरमा यतिको प्रस्तुतिले आफूलाई खुसी लागेको बताए।
कार्यक्रममा धन्यावाद ज्ञापन गर्दै पाठशालाका शिक्षक अभिभावक सङ्घका अध्यक्ष ईश्वर गिरीले आज पाठशालाले कवि भानुभक्त आचार्यको योगदानको कदर र उहाँको बिचारको उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। भानुभक्तको देश प्रेम र समाज प्रेमको बिचार र बाटोमा हिन्न सकेमा देशलाई समेत योगदान पुग्ने बताए।
भानुभक्तको समाजप्रतिको योगदान उदाहरणीय रहेको व्यक्त गरे। एउटा घाँसीबाट सिकेको शिक्षाले भानुभक्त आदिकवि बन्न सक्छन् भने हामीले समेत सिक्ने कुरामा हरदम तत्पर रहनुपर्ने शिक्षा भानुभक्तले दिएको उनको भनाइ रहेको थियो।






डिसी नेपाल





Facebook Comment