अभिनेता राजपाल यादव फेरि जेल जाने
काठमाडौं । दिल्ली उच्च अदालतले बलिउड अभिनेता राजपाल यादवलाई चेक बाउन्स मुद्दामा दोषी ठहर गर्ने तल्लो अदालतको फैसलालाई सदर गर्दै तीन महिनाको जेल सजाय सुनाएको छ।
न्यायाधीश स्वर्णकान्त शर्माको एकल इजलासले शुक्रबार अभिनेता यादवविरुद्ध दर्ता भएका सातवटा फरक–फरक चेक बाउन्स मुद्दामा उक्त फैसला सुनाएको हो। अदालतले सबै सातवटा मुद्दामा यादवलाई तीन–तीन महिनाको साधारण कारागार सजाय सुनाए पनि ती सबै सजायहरू एकैसाथ भुक्तान हुने स्पष्ट पारेको छ। यसको अर्थ उनले कुल तीन महिना मात्र जेलमा बिताउनुपर्नेछ।
यसका साथै उच्च अदालतले अभिनेता यादवलाई प्रत्येक मुद्दामा १ करोड ५ लाख रुपैयाँका दरले पीडित पक्ष (उजुरीकर्ता) लाई क्षतिपूर्ति रकम भुक्तानी गर्न आदेश दिएको छ। अदालतले उनकी पत्नी राधा यादवलाई पनि प्रत्येक मुद्दामा ५ लाख ५१ हजार ३८० रुपैयाँ जरिवाना तिर्न निर्देशन दिएको छ। तर, उच्च अदालतले यादवलाई यस फैसला विरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्नका लागि दुई महिनाको समय दिएको छ।
उक्त फैसला सुनाउँदै न्यायाधीश शर्माले अभिनेता यादवलाई आफ्नो ऋण चुक्ता गर्न र सम्झौता पालना गर्न अदालतले पटक–पटक अवसर प्रदान गरेको भए तापनि उनी त्यसमा असफल भएको उल्लेख गरे। अदालतले भन्यो, “पीडित पक्षसँगको सम्झौतालाई सम्मान गर्न पर्याप्त समय दिइएको थियो। यादव र उनका कानुनी सल्लाहकारले अदालतमा पटक–पटक प्रतिबद्धता र आश्वासन दिएका थिए, तर ती प्रतिबद्धताहरू पूरा गरिएनन्।”
यो विवाद सन् २०१० मा राजपाल यादवले आफ्नो निर्देशकीय डेब्यु चलचित्र ‘अता पता लापता’ निर्माणका लागि मेसर्स मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेडबाट लिएको ऋणसँग सम्बन्धित छ। ऋण चुक्ता नगरेपछि र उनले दिएका चेकहरू बाउन्स भएपछि उक्त कम्पनीले अदालतमा मुद्दा दायर गरेको थियो। यसअघि सन् २०२४ मा सेसन्स अदालतले उनलाई ६ महिनाको जेल सजाय सुनाएको थियो, जसका विरुद्ध यादवले उच्च अदालतमा पुनरावेदन गरेका थिए।






डिसी नेपाल





Facebook Comment