गौ हत्या गर्नेलाई गाउँपालिकाले एक वर्षसम्म सेवा निषेध गर्ने निर्णय
बाँके। बाँकेको नरैनापुर गाउँपालिकाले गौ हत्याको घटना रोक्न कडाइ गर्न थालेको छ।
गाउँपालिकाको शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले गौ हत्यामा संलग्नको पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न र गौहत्यामा संलग्न भएको प्रमाणित भएमा एक वर्षसम्म गाउँपालिकाबाट प्रदान गरिने कुनै पनि सेवा उपलब्ध नगराउने निर्णय भएको गाउँपालिका अध्यक्ष मो. इस्तियाक अहमद शाहले बताए।
अध्यक्ष शाहका अनुसार गौ हत्या गर्ने व्यक्तिको सम्बन्धमा सूचना दिने व्यक्तिलाई पुरस्कार स्वरुप रु १५ हजार नगद उपलब्ध गराउने निर्णय भएको छ। गाउँपलिकाले यससम्बन्धी कानूनीरूपमै मान्यताका लागि नीति तथा कार्यविधि निर्माणको तयारी गरेको छ।
गौ हत्या नियन्त्रण गर्नसम्बन्धी सुरक्षाकर्मीहरूलाई गाउँपालिकाले अनुरोध गरेको छ। गाउँपालिकाले सो सम्बन्धमा जनचेतना कार्यक्रम सञ्चालन गर्ने प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए। नेपालको राष्ट्रिय जनावरको रूपमा गाईलाई मानिन्छ। नेपालको कानूनले गौहत्यालाई निषेध गरेको छ। रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment