फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु

डिसी नेपाल
२२ जेठ २०८० ११:४९

खोटाङ। खोटाङको फोक्सिङटार–सिमपानी (राजापानी) सडक कालोपत्रेको काम सुरु गरिएको छ। गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर)को महुरे–फोक्सिङटार सडक खण्ड अन्तरगत फोक्सिङटार–सिमपानी (२७ किलोमिटर) सडकमा प्राईमकोट राख्न सुरु गरिएको हो।

ठेक्काको म्याद नाघेको वर्षदिनभन्दा बढी समय बितेपछि ठेकेदार कम्पनी देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले जेठ २० गतेदेखि फोक्सिङटार–सिमपानीको रसुवाघाट खण्डमा प्राईमकोट राख्न सुरु गरेको गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरका योजना प्रमुख गोपालप्रसाद खकुरेलले बताए। प्राईमकोटमाथि कम्तीमा ४८ घण्टापछि डिबीएसटी राखिन्छ। निर्माण कम्पनीले करिब चार किलोमिटर खण्डमा प्राईमकोट राखिसकेका छन्।

खोटाङका प्रदेशसभा सदस्य भुपेन्द्र राईले ठेकेदार, सडक विभाग लगायतमा पुगेर निरन्तर दवाव सिर्जना गरेपछि निर्माण कम्पनीले प्राईमकोट राख्न सुरु गरेको हो। सडक कालोपत्रेको काम अलपत्र पार्ने ठेकेदारको बिरोधमा प्रदेशसभा सांसद पाँचकर्ण राई नेतृत्वको स्थानीयले पनि वैसाख १७ गते महुरे (नुनथला)मा सडकमै बसेर डेढ घण्टा चक्का जाम गरेका थिए।

ठेकेदार कम्पनी देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले सम्झौता अनुसारको काम नगर्दा सडक कालोत्रेको काम वर्षौंसम्म अलपत्र परेपछि गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरले २०७९ पुस ८ गते फोक्सिङटार–सिमपानी (राजापानी) र उदयपुरको अँधेरी खोला–फोक्सिङटार सडक खण्डको ठेक्का तोड्ने निर्णय गरेको थियो।

ठेक्का तोड्ने निर्णय विरुद्ध ठेकेदार अदालत पुगेपछि अदालतले अन्तिम फैसला नआएसम्मका लागि सडक कालोपत्रेको ठेक्का तोड्ने निर्णय कार्यान्वयन नगर्न, निर्माण कम्पनीलाई कालोपत्रेको नियमित काम गर्न दिन र समय–समयमा कामको प्रगतिबारे अनुगमन गर्न माघ ४ गते अन्तरिम आदेश दिएको थियो। तर अदालतको आदेशमा ठेक्का तोड्ने निर्णय उल्टाउन सफल भएका ठेकेदारले फर्किएर सन्तोषजनक प्रगती देखाउन सकेका छैनन्।

अन्तिम फैसलाका लागि जेठ २४ गते तोकिएको पेशीमा कालोपत्रेको प्रगती विवरण पेस गर्नुपर्ने भएका कारण ठेकेदार काम गर्नैपर्ने दवावमा परेका छन्। अदालतको अन्तिम फैसला आफ्नोपक्षमा पार्नका लागि पनि ठेकेदारले काम गरेको देखाउन खोजेको अनुमान गरिएको छ। कालोपत्रेको प्रगती विवरण उपलव्ध गराउनका लागि अदालतले सडक विभागमार्फत पठाएको पत्र आइतबार गाईघाट दिक्तेल सडक योजनाको कार्यालय पुगेको छ।

ठेक्काको म्याद समाप्त हुँदासम्म पनि खरिद सम्झौता बमोजिम कार्य सम्पादन गर्नेतर्फ कुनै चासो नदेखाएको भन्दै कार्यालयले ठेक्का तोडेको सुचना जारी गरेको थियो । ‘फैसलामा कसले हार्छ, कसले जित्छ, चासोको विषय होईन, खोटाङले हार्नु भएन। निर्माण कार्यले निरन्तरता पाउँदै योजना सम्पन्न हुनुपर्‍यो,’ प्रदेश सांसद राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘न्यायालयको फैसलालाई प्रभावित पार्न कोसिस गरिएको हो भने त्यो निकै महंगो पर्नेछ। अव खोटाङ झुक्किने छैन, ढाँटिने छैन । छलछाम अब खोटाङमा चल्दैन।’

यस्तै महुरे–फोक्सिङटार सडक खण्डको ठेक्का महुरे–राजापानीको सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम भारत कन्ट्रक्सन/सिद्धीशाही जेभीले लिएको छ। गत पुस अन्तिम सातादेखि निर्माणस्थलबाट उपकरण उठाएर अन्यत्र लैजान थालेको भारत कन्ट्रक्सन/सिद्धीशाही माघ ४ गते क्रसरको सामान उठाएर हिँडिसकेको छ। दिक्तेल–गाईघाट सडक तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ फागुन १४ गते शिलान्यास गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *