प्रतिनिधिसभामा एमालेको विरोध, सरकारले सुरक्षा नदिएको आरोप

डिसी नेपाल
२६ जेठ २०८० १२:१३

काठमाडाैं। प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विरोध जनाएको छ।

एमालेले पार्टीका केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभाका संसदीय दलका उपनेता राम रानामाथि बिहीबार इलाममा आक्रमण भएको घटनालाई लिएर विरोध जनाएको हो।

शुक्रबार प्रतिनिधिसभा बैठकको सुरुमै एमाले नेता योगेश भट्टराईले पहिचानवादी भन्नेहरुले आफ्ना नेता चढेको गाडी तोडफोड गर्ने, मोविल छर्केर हत्या गर्ने योजना बनाएको आरोप लगाएका हुन्।

उनले आफ्ना नेतालाई निशाना बनाउँदै पटक पटक आक्रमण हुँदा पनि सरकारले सुरक्षा दिन नसकेको बताए। राज्यले आफ्ना नेता कार्यकर्ताको सुरक्षा दिन नसके एमाले आफैं आफ्ना नेता तथा कार्यकताको सुरक्षा गर्न सक्षम रहेको उनले बताए।

त्यस्तै भट्टराईले प्रदेशको नाममा कसैलाई चित्त नबुझे प्रदेशसभामा वैधानिकरूपमा दुईतिहाइ बहुमत ल्याएर नाम स्वीकार गरे एमालेलाई स्वीकार्य रहेको उल्लेख गरे। उनले यस बिषयमा गृहमन्त्रीले स्पष्ट रुपमा जवाफ दिन माग गरेका थिए।

सांसद भट्टराईले मधेशमा एमालेलाई लखेट्न खोज्दा पहिलो पार्टी बन्न सफल भएको भन्दै एमालेलाई लखेट्ने नाममा आफ्ना कार्यकर्तामाथि आक्रमण गर्ने कुरा कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारे।

उनले कोशी प्रदेशको आन्दोलनमा एक जनाको कसरी ज्यान गयो भन्ने बारेमा पनि सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए।

उक्त प्रश्नका सन्दर्भमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायाणकाजी श्रेष्ठले जवाफ दिएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *