सय किलो सुन प्रकरणमा छानबिन गर्न भन्सार विभागद्वारा समिति गठन
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिएको १०० किलो सुन बरामद प्रकरणमा छानबिन गर्न भन्सार विभागले समिति बनाएको छ ।
यो सुन भन्सारबाट जाँचपास भएर बाहिरिइसकेको अवस्थाना ट्याक्सीबाट बरामद भएको थियो । राजश्व अनुसन्धान विभागले विशेष सुराकीका आधारमा सुन जफत गरेर २ जनालाई घटनास्थलबाटै पक्राउ गरेको थियो ।
भन्सार विभागका सूचना अधिकारी पुण्यबिक्रम खड्काका अनुसार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन भएको छ ।
उक्त समितिले विमानस्थलको भन्सार जाँचपासमा क-कसको संलग्नता थियो भन्नेबारे छानबिन गर्नेछ ।
समितिले भन्सार अधिकृतलगायत अन्य कर्मचारीहरूको संलग्नताबारे पनि छानबिन गर्न लागेको हो। विमानस्थलमा रहेका सिसिटिभी फुटेजमा पनि जाँच गरिनेछ ।
भन्सार जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारीसमेत भएको छ। अन्यको पनि संलग्नता खुले त्यसअनुसार कारबाही अघि बढाइने सूचना अधिकारी खड्काले जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment