सुन तस्करीमा सरकार जवाफदेही हुनुपर्छः ईश्वर पोखरेल

डिसी नेपाल
७ साउन २०८० १९:१६

काठमाडौं । नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले सुन तस्करीमा सरकार जवाफदेही हुनुपर्ने बताएका छन् ।

४५ औं पुष्पलाल स्मृति दिवसका अवसरमा एमाले काठमाडौं जिल्ला कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको समाज रुपान्तरणमा पुष्पलालको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा पोखरेलले सुन तस्करीमा भन्सार, अध्यागमनका प्रमुखहरु सेटिङमा चलेको देखिएको र भरियालाई मात्रै पक्राउ गरिएकाले सरकार जवाफदेही भएर अनुसन्धान गर्नुपर्ने बताएका हुन् । मुलुकमा सरकार रहेपनि आर्थिक बिकास र समृद्धिमा अवरोध गर्ने, मुलुकलाई लुटतन्त्रमा परिणत काम गरिरहेको उनले आरोप लगाए ।

पोखरेलले एमाले सरकारले सुरु गरिएका विकासका आयोजनाहरुलाई वर्तमान सरकारले अघि बढाउन नसकेको बताए । उनले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन पुष्पलाल श्रेष्ठले मार्गनिर्देश गरेको बाटोमा अघि बढ्न आवश्यक भएको पनि बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देश र जनताका लािग पुष्पलाल लगाएतका नेताहरुले बोकेका उदेश्यहरुलाई पुरा गर्न सक्यौ कि सकेनौ भन्ने समिक्षा गर्न आवश्यक रहेको धारणा राखे । उनले शीर्ष दलहरु विभिन्न कामका लागि छलफलमा जुटेपनि गरिबी हटाउने राष्ट्रिय एजेण्डामा भने बनाउन नसकिएको जिकिर गरे ।

त्यस्तै अन्य सहभागीहरुले कम्युनिष्ट आन्दोलनमा पुष्पलालले खेलेको भूमिकाको चर्चा गरेका थिए । १९८१ असार १५ गते रामेछापको भङ्गेरीमा जन्मिएका श्रेष्ठको २०३५ साउन ७ गते भारतको गोविन्दवल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । जनताका पक्षमा अधिकार स्थापना गर्ने लक्ष्यका साथ पुष्पलालले २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *