भारतीय मूलकी महिलासँग नेल्सन मन्डेलाको प्रेम र वियोगको कथा

रेहान फजल
८ साउन २०८० ६:५१

बीबीसी। नेल्सन मन्डेलाले एक पटक ठट्टा गरेर भनेका थिए, “महिलाहरूले मलाई हेर्छन् र मप्रति चासो राख्छन् भने त्यो मेरो गल्ती होइन। इमानदारीपूर्वक भन्नुपर्दा, त्यसको कहिल्यै विरोध गर्ने छैन।”

तीन पटक विवाह गरिसकेका मन्डेलाले आफ्नो बुढेसकालमा पनि विश्वभरिका महिलालाई आकर्षित गर्दै आएका थिए। तर यस्ती एक महिला थिइन् जसले मन्डेलाको विवाहको प्रस्तावलाई स्वीकार गरिनन्। भारतीय मूलकी ती महिलाको नाम अमिना कचालिया थियो।

किन अस्वीकार गरिन् प्रस्ताव ?

दक्षिण अफ्रिकी सरकारको रङ्गभेद विरोधी आन्दोलनमा अमिनाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। उनी २१ वर्षकी छँदा नेल्सन मन्डेला उनको जन्मदिनको अवसरमा आयोजित भोजमा आएका थिए र अमिना पनि एक पटक उनलाई भेट्न पोल्जमोर जेल गएकी थिइन्।

अमिनाले युसुफ कचालियासँग विवाह गरेकी थिइन् जसको सन् १९९५मा मृत्यु भयो। त्यतिबेला नेल्सनको दोस्री श्रीमती विनीसँग सम्बन्धविच्छेदको प्रक्रिया सुरु भइसकेको थियो।

अमिनाका छोरा गालेब कचालिया भन्छन्, “हामीलाई थाहा थियो कि मन्डेला र मेरा आमाबाबु एकदमै मिल्ने साथी थिए। उहाँ प्रायः हाम्रो घरमा आउनुहुन्थ्यो। ९० को दशकमा एक पटक आमाले म र मेरी बहिनी कोकोलाई एउटा कुनामा लग्नुभयो र मन्डेलाले आफूसँग विवाहको प्रस्ताव राखेको र त्यसलाई आफूले अस्वीकार गर्ने बताउनु भएको थियो।’’

त्यतिबेला नेल्सन मन्डेलाको उमेर ८० वर्ष थियो। अमिना ६८ वर्षकी थिइन्। उनकी आमाले त्यति प्रसिद्ध व्यक्तिको विवाहको प्रस्ताव किन अस्वीकार गरिन् भन्ने प्रश्न मैले गालेबलाई सोधेँ।

गालेबको जबाफ थियो, “मेरी आमा नेल्सनलाई धेरै मन पराउनुहुन्थ्यो। तर उहाँ मेरो बुबालाई बिर्सन तयार हुनुहुन्नथ्यो। मेरा बुबा उहाँभन्दा १५ वर्ष जेठो हुनुहुन्थ्यो। सायद उहाँको मृत्युपछि अर्का एक बुढा व्यक्ति आफ्नो जिन्दगीमा आऊन् भन्ने उहाँले चाहनुभएन।”

अत्यन्त सुन्दर

नेल्सन मन्डेला जेलबाट रिहा भएपछि पहिलो पटक आफूले अमिनालाई भेट्ने अवसर पाएको प्रख्यात पत्रकार सईद नक्वी बताउँछन्।

त्यतिबेला अमिनाका श्रीमान् युसुफ जीवित थिए। जेलबाट रिहा भएपछि नेल्सन मन्डेलालाई डेसमन्ड टुटुको घरमा भेट्न जाँदा अमिना मन्डेलाको छेउमा बसेकी थिइन्।

नक्वी भन्छन्, “अमिनालाई हेर्दा कुनै बेला उनी निकै सुन्दर, मनमोहक र चञ्चल थिइन् भन्ने महसुस भएको थियो। उनको चाल हात्तीको जस्तो थियो। उनमा बिहारकी नायिकामा पाइने सबै कुरा थियो। उनले अफ्रिकन न्याशनल कङ्ग्रेसमा काम गरेकी थिइन्। उनी मन्डेलाकी साथी थिइन् र उनको बौद्धिकस्तर पनि मन्डेला बराबरकै थियो।’’

चाखलाग्दो कुरा के छ भने सन् १९४८ मा दक्षिण अफ्रिकाको भ्रमण गरेका अस्ट्रेलियाली क्रिकेट टोलीका सदस्य कीथ मिलरले पनि अमिनालाई मन पराएका थिए।त्यतिबेला उनको विवाह भएको थिएन। मिलर त्यतिबेला विश्वका चर्चित अलराउन्डर क्रिकेट खेलाडी थिए।

सईद नक्वी भन्छन्, “उनीहरू दुईको भेट एउटा पार्टीमा भएको थियो। त्यसपछि मिलरले अमिनालाई दिनरात फोन गर्न थाले। रमाइलो कुरा के थियो भन्दा उनले फोन गर्न सक्थे तर उनलाई (अमिना) भेट्न आउन भने सक्दैनथे, किनभने उनी गोराहरू बस्ने क्षेत्रमा बसिरहेका थिए भने अमिना भारतीयहरू बसोबास गर्न क्षेत्रमा बसिरहेकी थिइन्। अमिनाका श्रीमान् युसुफ भाइले मज्जाले हाँस्दै यो किस्सा सुनाउने गर्थे कि रङ्गभेदले हामीलाई धेरै मद्दत गर्‍यो नत्र त्यो कीथ मिलर आएर अमिनालाई भेट्ने थियो।”

मन्डेला र अमिनाको घनिष्ठता

अमिना र नेल्सन मन्डेलाले सईद नक्वीका सामने धेरै पटक भेटघाट गरेका थिए।

सन् १९९५ मा उनी दक्षिण अफ्रिका जाँदा युसुफको निधन भइसकेको थियो।

सईद भन्छन्, ‘‘अमिनाले मलाई मन्डेला नजिक लिएर गइन्। हाम्रा सवारी चालक पनि साथैमा थिए। उनकी श्रीमतीको नाम एलिसा थियो। उनले ‘लङ वाक टु फ्रिडम’ नाम गरेको उनको आत्मकथामा उनकी श्रीमतीका लागि हस्ताक्षर गरिदिन आग्रह गरे। हस्ताक्षर गरेपछि मन्डेलाले अमिनालाई भने – तिमीलाई याद छ, वर्षौँ पहिले म एलिस नाम गरेकी एक जना महिलासँग प्रेम सम्बन्धमा थिएँ र फलानो फलानो रेस्टुरेन्टमा जाने गर्थेँ।”

”त्यसपछि दुवैले आफ्ना पुराना प्रेम सम्बन्धबारे कुराकानी गर्न थाले अनि मलाई थोरै लाज लाग्यो र म पछि हटेँ। त्यसबेला मलाई हेक्का भयो कि उनीहरूको सम्बन्धको अन्तरङ्ग पाटो पनि छ जसबारे दुनियाँलाई थाहा थिएन। केही समयपछि मन्डेलाले अमिनाको हात समातेर आफ्नो बङ्गला भित्र लगे। त्यस बेलासम्म हामी उनको घरको बगैँचामा कुराकानी गरिरहेका थियौँ। केही समयमा अमिना बाहिर आइन्। त्यसबेला हामी क्यामेरा लगायतका सामग्री समेटिरहेका थियौँ। त्यसपछि मैले अमिनालाई अब आफूहरू निस्कन लागेकाले साँझ भेटौँला भनेँ। अमिनाले साँझसम्म आफू त्यहीँ हुने भएकाले मसँग भेट्न नपाउने बताइन्। यसबाट मलाई यी दुईबीच धेरै निकटता भएको महसुस भयो।’’

त्यसपछि कैयौँ पटक सईद नक्वी अमिनालाई भेट्न जाँदा उनी मन्डेलाकहाँ पुगेकी हुन्थिन्।त्यहाँ गएपछि उनी भर्खरै अन्त कतै गएको उनले थाहा पाउँथे।

सईद नक्वी भन्छन्, “त्यसबाट मलाई थाहा भयो कि नेल्सन मन्डेलाले कीथ मिलरले गर्न नसकेको काम गरेका थिए। त्यसपछि मन्डेलाले उनीसँग विवाह गर्ने मन बनाइरहेको बिस्तारै सबैले थाहा पाउन थाले।”

अमिना कचालियाले पछि एक अन्तर्वार्ता क्रममा राष्ट्रपति छँदा नै मन्डेला आफ्नो घरमा आएको कुरा उनको हृदयमा मन्डेलाबारे सबैभन्दा मीठो सम्झनाको रूपमा रहेको बताएकी थिइन्।

“उहाँका लागि समोसा पकाइरहेका बेला उहाँ मेरो भान्सामा मेरो पछाडि एउटा स्टूलमा बसिरहनु भएको थियो,” अमिनाले अन्तर्वार्ताका क्रममा भनिन्।

अमिनाले आफ्नो आत्मकथा ‘ह्वेन होप एन्ड हिस्ट्री राइम’मा लेखेकी छन्, ‘‘ग्रासा मशेलसँगको तेस्रो विवाहपछि मेरो जोहानेसबर्गको फ्ल्याटमा एक पटक मन्डेला आउनु भएको थियो र उहाँले मप्रति आफ्नो प्रेम स्पष्ट रूपमा व्यक्त गर्नु भएको थियो। त्यसबेला मैले तपाईँको भर्खरै बिहे भएको छ भन्दै त्यसको विरोध गरेकी थिएँ। म त स्वतन्त्र छु तर तपाईँ स्वतन्त्र हुनुहुन्न। त्यसपछि मन्डेला चिन्तित हुनुभयो र बारम्बार मैले उहाँका लागि माछा पकाएकी छु भन्दा पनि ढोका बन्द गरेर बाहिर निस्किनु भएको थियो।’’

अमिनाले आफ्नो आत्मकथामा लेखेकी छन्, “मन्डेलामा रोमान्सको रङ थिएन। सायद उहाँले वर्षौँ जेलमा बिताएका कारण यो अनुभूति गुमाउनु भएको थियो। उहाँ भूमिका नबाँधेर आफ्ना भावनाहरू व्यक्त गर्ने गर्नुहुन्थ्यो। तर मैले उहाँको प्रेम प्रस्तावको राम्रोसँग प्रतिक्रिया दिन सकिनँ। म पक्कै पनि उहाँलाई रुचाउँथे तर बुढेसकालमा पनि मेरा स्वर्गीय श्रीमान्लाई मन पराए जसरी भने होइन।”

अमिनाले जे लेखे पनि वा उनका छोरा गालिबले जे भने पनि सईद नक्वी अफ्रिकी न्याशनल कङ्ग्रेसका शीर्ष नेताहरूले पनि मन्डेला र अमिनाबीच घनिष्ठ सम्बन्ध होस् भन्ने नचाहेको आफ्नो विश्वास रहेको बताउँछन्।

नक्वी भन्छन्, “दक्षिण अफ्रिकामा रङ्गभेदबाट स्वतन्त्रताका नायक नेल्सन मन्डेला अफ्रिकी स्वतन्त्रताका पनि नायक हुन् भन्ने हिसाबले बुझ्नुपर्ने हुन्छ।विनी मन्डेलासँग सम्बन्ध विच्छेदपछि उनले भारतीय महिलासँग विवाह गरे पूरै अफ्रिकी समाजमा गलत सन्देश जने थियो। तर मन्डेलाको हृदयमा भने यस्तो कुनै कुरा थिएन।’’

नक्वी भन्छन्, “एक भारतीय महिलाको सट्टा मन्डेलाले मोजाम्बिकका राष्ट्रपतिकी विधवा ग्रासा मशेलसँग विवाह गरे उनका लागि राम्रो हुने बुझिएको थियो र उनलाई बिस्तारै त्यसतर्फ अघि बढाइएको थियो।यसरी को कसले हुन्छ भन्यो वा कसले हुँदैन भन्यो भन्ने कुराको कहिल्यै पुष्टि हुने छैन। तर उनीहरूबीच पक्कै केही न केही भने थियो। उनीहरूलाई नजिकबाट देखेपछि म के कुरा भन्न सक्छु भने दुवै तर्फ उत्तिकै तत्परता देखिन्थ्यो!’’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *