कांग्रेस-एमाले गठबन्धनको विपक्षमा देउवा

डिसी नेपाल
६ वैशाख २०८१ १३:३८

काठमाडौं। राजनीतिक स्थायित्वका लागि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्य हुनुपर्छ भनेर नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले जोड दिँदै अएका छन्।

उनीहरुले अस्थितर निर्वाचन प्रणालीका कारण साना दललाई पनि समेट्नु पर्ने बाध्यतालाई अन्त्य गर्दै राजनीतिक स्थायित्व दिनका लागि पनि दुई ठूला दलबीचको सहकार्य आवश्यक रहेको तर्क गर्दै आएका छन्।

संसदका सबैभन्दा ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले रहेपनि तेस्रो ठूलो दल त्यो पनि ३२ सिट मात्रे भएको माओवादी केन्द्रले सरकारको नेतृत्व गर्दै आएको छ।

माओवादी केन्द्रक अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेर्दै आफू लामो समयसम्म प्रधानमन्त्री भइराख्ने नीति लिएपछि कांग्रेसको संस्तापन इतर पक्ष भने कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने तर्क गर्दै आइरहेको छ। त्यसका लागि चाँडो संवाद सुरु गर्नुपर्ने कांग्रेस महामन्त्री गगन थापाले प्रस्ताव नै गरेका छन्।

शेखर र गगनले एमालेसँग मिलेर सरकार बनाउनु पर्ने पक्षमा वकालत गरिरहँदा सभापति शेरबहादुर देउवाले बिहीबार संसदमा १० प्राप्त गरेको तर राष्ट्रिय दलको मान्यता पाउन नसकेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरे। सो भेटमा उनीहरुबीच बैकल्पिक गठबन्धन बनाउने विषयमा छलफल भएको छ।

छलफलको मुख्य विषय सुदूरपश्चिम प्रदेश सरकार गठन भएपनि केन्द्रमा वैकल्पिक गठबन्धन बनाउनेसम्मका विषमया चर्चा भएको थियो। एमाले र एकीकृत समाजवादी दुवै एउटै गठबन्धनमा आबद्ध छन्। कांग्रेस अहिले प्रतिपक्षमा पुगेको छ।

वर्तमान गठबन्धनप्रति असन्तुष्ट रहेका माधव नेपालले सुदूरपश्चिम प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बन्नु पर्ने अडान राखेपछि त्यहाँ नेकपा एसकै नेतृत्वमा सरकार बनाउने सहमति भएको बताइएको छ।

तर मुख्यमन्त्रीमा प्रस्तावित एकीकृत समाजवादीका दीर्घ सोडारीलाई एमालेले समर्थन नगर्ने बताएपछि त्यहाँ सरकार गठन हुन सकेको छैन। सरकार गठबनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज सकिँदैछ।

यही सेरोफेरोमा देउवा र नेपालबीच बिहीबार भेटवार्ता भएको हो। सो भेटमा अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेशमा आफ्नो नेतृत्वमा सरकार गठन गर्न देउवासँग सहयोग मागेका थिए। एकीकृत समाजवादीको नेतृत्वमा सरकार गठन गर्न देउवा सकारात्मक रहेको जनाइएको छ।

देउवा र नेपालबीचको भेटवार्तामा केन्द्रमा वैकल्पिक गठबन्धन बनाउने विषयमासमेत छलफल भएको थियाे। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार समसामयिक विषयमा दुई नेताबीच छलफल भएपनि वैकल्पिक गठबन्धनका विषयमा पनि छलफल भएको थियो।

‘दुई नेताबीच भएको छलफलमा विभिन्न विषयमा छलफल भयो,’ प्रवक्ता डा.महतले डिसी नेपालसँग भने, ‘सुदूरपश्चिम प्रदेश र केन्द्रमा पनि कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा छलफल भयो।’

कांग्रेसभित्र एमालेसँग मिलेर नयाँ गठबन्धन बनाउने वा ससाना दललाई मिलाएर वैकल्पिक गठबन्धन बनाउने भन्ने विषयमा स्पष्ट दुई धार देखा परेको छ। संस्थापन पक्ष राप्रपा, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमतसहितका साना दललाई मिलाएर वैकल्पिक गठबन्धन बनाउने अभियानमा जुटेको छ भने इतर पक्ष कांग्रेस र एमाले मिलेर सरकार बनाउनु पर्ने पक्षमा छ।

इतर पक्षले सार्वजनिक रुपमा एमालेसँग मिल्नु पर्ने अभिव्यक्ति दिएपछि परिणाम आउने गरी संवाद गरेको छैन तर संस्थापन पक्षले भने वर्तमान गठबन्धनलाई काउन्टर दिने गरी वैकल्पिक गठबन्धन बनाउने गरी पहल थालेको छ।

‘हाम्रा साथीहरुको चाहना एमाले र कांग्रेस मिल्नुपर्छ भन्ने होला तर त्यसका लागि एमाले तयार हुनुपर्छ,’ प्रवक्ता महतले भने, ‘एमाले अहिले सत्ता गठबन्धनमा छ, यस्तो अवस्थामा एमालेसँग कांग्रेसको सहकार्य कसरी सम्भव हुन्छ?’

माधव नेपाल वर्तमान गठबन्धनमा सहज रहन नसकेको बुझेका देउवाले वर्तमान गठबन्धनलाई कमजोर पार्न नेपाललाई गठबन्धन बाहिर ल्याउन चाहन्छन्। गठबन्धन बनेकै दिनदेखि देउवाले नेपाललाई फकाउन थालेका हुन्।

देउवाले नेपाललाई प्रधानमन्त्रीको समेत अफर गरेका थिए। तर बामपन्थी एकताको वातावरण बनेको भन्दै महासचिव घनश्याम भुसालगायतका नेताले वर्तमान गठबन्धनमा सामेल हुन आग्रह गरेपछि नेपाल ब्याक भएका थिए।

तर पूर्व सहमति कार्यान्वयन गर्न प्रचण्ड र ओली तयार नभएको भन्दै नेपालले असन्तुष्टि जनाउँदै आएका छन्। सो असन्तुष्टिलाई ‘क्यास’ गर्न देउवाले नेपाललाई बिहीबार भेट गरेका हुन्। भेटको नजिता तत्काल नआएपछि त्यसले बैकल्पिक गठबन्धनको आधारत तयार पार्ने कांग्रेसका एक नेताले दाबी गरेका छन्।

प्रचण्ड नेतृत्वको सरकारलाई अल्पमतमा पार्न एकीकृत समाजवादीसँगै जसपा समेत बाहिरिनु पर्दछ। प्रतिनिधिसभामा जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन्। पछिल्लो पटक फागुन ३० गते विश्वासको मत पाउदा प्रचण्डले १५७ मत पाएका थिए। त्यस आधारमा २२ मत कम हुदा उनी १३५ मतसहित अल्पमतमा पर्ने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *