प्रस्तावित प्रधानन्यायाधीशका चुनौतीहरु

केशवकुमार श्रेष्ठ
२२ साउन २०८० १४:५६

संसदीय सुनुवाईको लागि प्रस्तावित हुनुभएका कायममुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सुदुरपश्चिमको डोटी जिल्लामा जन्मिनु भई कानूनको डिग्री गरे पश्चात २०३८ सालमा तत्कालीन श्री ५ को सरकारको कानून अधिकृत पदबाट सरकारी जागिर प्रवेश गरी विभिन्न निकायको प्रशासनको अनुभवको साथै न्यायपालिकाको तीनै तहमा न्यायधीशको पदमा काम गरी अनुभव प्राप्त व्यत्तित्व हुनुहुन्छ ।

आउने दिनमा प्रधानन्यायाधीशको रुपमा कार्य सम्पादन गर्न त्यति सजिलो चाहिँ छैन। तर पनि असहज र असजिलो पार गर्न सक्ने क्षमता उहाँमा छ।

एक त उहाँसँग सबै तहका न्यायधीशले भोग्नुपर्ने समस्याको अनुभव छ दोस्रो, न्याय सम्पादनको क्रममा कहिले काहिँ कतै पनि विवादमा नपरेको निर्विवादित र सक्षम न्यायधीशको रुपमा चिनिनुहन्छ।

त्यसैले उहाँलाई उहाँमा भएको गुणकै कारण न्यायपालिकाको नेतृत्वमा हुनुुपर्ने गुण नैतिक रुपले, चारित्रिक रुपले, शैक्षिक रुपले, निष्पक्ष र स्वतन्त्र हैसियत देखाउन सक्ने गुण पूरक रुपले त्यसमा पनि शालीन, भद्र व्यत्तित्व, उहाँले विगतमा हासिल गरेको अनुभव, आदि इत्यादी कारणले उहाँको एक वर्ष प्लसको कार्यकाल सक्षम स्वतन्त्र, निष्पक्ष न्यायपालिकालाई नेतृत्व दिन र न्यायपालिकामा देखिएका र भएका समस्या निराकरण गर्दै न्यायपालिकालाई अघि वढाउन उहाँ सक्षम र सफल हुने कुरामा सरोकारवाला आम नागरिकले अपेक्षा राखेका छन् ।

न्यायपालिकामा देखिएको समस्या एउटा त मिडियाले यत्रतत्र कसैलाई फाइदा पुर्‍याउने हिसावले र चुरो कुरोको ज्ञान नराखीकन जथाभावी समाचार प्रकाशन गरिदिने न्यायपालिकाको लागि यो एउटा समस्या हो भने अर्को असक्षम, अज्ञानी जो पार्टीको झोले कार्यकर्ता छन् त्यस्ता वकिलहरुलाई पार्टी, सरकार र नेताहरुको दवावमा परेर न्यायधीश नियुक्ति गरिनु न्यायपालिकाको लागि समग्रमा यो अर्को समस्या हो।

त्यस्तै न्यायपालिकको विभिन्न तहबाट निवृत्त माननीय न्यायधीशज्यूहरु सरकारी वकिलवाट निवृत्त सरकारी वकिलहरु र विश्वविद्यालय, कलेज, गैह्र सरकारी, सरकारी, विभिन्न प्रतिष्ठानमा कार्यरत तथा निवृत्त भएका कानूनको उपाधी र इजाजत लिएका, धारण गरेका यस्ता व्यक्तिहरु विभिन्न बारको सदस्यत ग्रहण गर्ने, विभिन्न तहको अदालतमा उपस्थित हुने तर वास्तविक भित्री कुरा चाहिँ वकालात पेशाको खोल ओडेर बिचौलियाको वा आफ्नो पूर्व जानपहिचान र पूर्व रिलेसनका आधारमा घरघर धाउने चेम्वर चेम्वर धाउने अनुचित प्रभावमा पारेर दामासाही बुझ्ने यस्ता मानिसको प्रवृत्तिले जनताको नजरमा आक्रान्त बन्दै गएको न्यापालिकाको साख र गिर्दो जनविश्वास कसरी पुनः जागरित गर्ने भन्ने सबैभन्दा ठूलो चुनौती अहिले देखिन आएको छ ।

न्यायपालिका भित्र कर्मचारी प्रशासनमा बढ्दै गएको मनलाग्दीपन अर्थात सेवाग्राहीको सेवा प्रति केन्द्रित नहुने, आफ्नो हितप्रति केन्द्रित हुने यो पनि ठूलो चुनौती हो।

अब सरसर्ती हेर्दा मूल चुनौती यी भएतापनि अरु यस्ता कैयौं चुनौती छन् त्यसको सामना गर्नु न्यायपालिकालाई शुद्धिकरणमा लानु विश्वम्भर श्रीमानको लागि त्यति सजिलो भने छैन ।

वास्तवमा विगतको अनुभवले के प्रमाणित गर्‍यो भने कानून व्यवसायीवाट न्यायधीश नियुक्ति गरिँदा सुरु जिल्ला अदालतमा र उच्च अदालतमा मात्रै जम्मा चालिस प्रतिशतको हिसाबले नियुक्ति गरिँदै जाने हो भने त्यसमा पनि परीक्षा प्रणालीवाट छनौट गरेर अनि मात्र नियुक्ति गर्ने हो भने न्यायपालिका भित्र विकृृती विसंगतीको न्यूनीकरण सम्भव हुन सक्ला ।

त्यस्तै उच्च अदालतमा साठी प्रतिशत जिल्ला तहका अदालतबाट उच्चमा नियुक्ति गर्दा विशेष कार्यदक्षता मूल्याङ्कन कार्य समितिद्वारा विषयगत शैक्षिक योग्यता, उमेर, कार्यकुशलता मुल्याङ्कनलाई मुख्य आधार बनाएर उच्च अदालतमा नियुक्ति गरिँदा र यसै गरी उच्चबाट न्यायपरिषद्द्वारा गठित सक्षम, निष्पक्ष र विशेषज्ञको समितिद्वारा मूल्याङकन गरी विषयगत आवश्यकताको आधारमा बढी अङ्क ल्याउनेलाई नियुक्ति गरिने हो भने बल्ल सर्वोच्च अदालतमा सुधारको संकेत देखिन सक्ला ।

अर्को विकराल समस्याको रुपमा रहेको कानून व्यवसायीको जमातलाई सर्वोच्च अदालत तथा न्याय परिषद्को नेतृत्व साथै सर्वोच्च बार र नेपाल बारको नेतृत्व एकसाथ रहेर बार काउन्सिलको नेतृत्वसँग समन्वय गरी आवश्यक र कडा आचारसंहित जारी गराई कडाइका साथ आ आफ्नो ठाउँबाट पालना गर्नु गराउन लगाउन प्रस्तावित प्रधानन्याधीशले सक्नुपर्छ।

अन्यथा समस्या नै समस्याको विचमा विलय हुँदै निवृत्त हुनु नै नियती हुनेछ। र, अरुकै जस्तै सम्माननीय विश्वम्भर श्रीमानको पनि उस्तै हालत नहोला भन्न सकिन्न ।

सम्माननीय विश्वम्भर श्रीमानलाई आउने दिनमा सहयोग सुझाव र गर्नुपर्ने काम यसै गरी औंल्याएर सहयोग पुु¥याउन यो स्तम्भकार लालायीत छु। मेरो मिडियासँगको सम्बन्ध र अनुभव कानून व्यवसायमा संलग्न भएर हासिल गर्दै गरेको अनुभव समेतको आधारमा आउने दिनमा श्रीमानलाई यसै गरी सहयोग पुर्याउने अपेक्षा राख्छु । साथै श्रीमानको सफलता र उत्तरोउत्तर प्रगतिको लागि शुभकामना र हार्दिक बधाई छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *