विकारल बन्दै वन डढेलो, तुवाँलोले आकाश ढाक्दा उडान प्रभावित

डिसी नेपाल
२३ वैशाख २०८१ ६:४०

काठमाडौं। वन डढेलो र आगलागीको घटना दिनानु दिन बढ्दै गएको छ। आगोलागीमा परी दर्जनौ घर र सयौ हेक्टर वन क्षेत्र खरानीमा परिणत भएको छ।

डढेलो तथा आगलागीका घटनाहरु बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण मनवको जनस्वास्थ्यमा गम्भीर असर पर्न थालेको छ भने आखाँ पोल्न र पिरो धुँवाको महसुस ले कठिनाइ बढ्दै गएको छ।

हिजो तस्करबाट बन जोगाउन मुस्किल हुन्थ्यो। तर आज वन डढेलोबाट वन जोगाउनै मुस्किल परिरहेको छ। जीवजन्तु, जडीबुटी र रैथाने वनस्पति समेत मासिँदैछन्। यति मात्रै होइन, डढेलो तथा आगलागीका घटनाहरु बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण जनस्वास्थ्यमा समेत गम्भीर असर परिरहेको छ। सुख्खायाम सुरु भएसँगै देशभर वन र बस्ती जलिरहेका छन्। आगोमा जलेर दिनहुँ दर्जनौं घर र सयौं हेक्टर वन क्षेत्र खरानी भइरहेको छ।

जंगलमा सल्किएको डढेलो ह्वारर्ह्वार्ती बस्तिमा फैलिन थालेपछि फेरि अर्को विपद्को सामना गर्नुपरेको छ। बढ्दै गएको गर्मीका बीच चलिरहेको हावाहुरीले समयमा आगोलागी नियन्त्रणमा नआउँदा केही बस्तीहरु क्षेणभरमा सखाप भएका छन्। यसबाट भएको क्षतिको यकिन तथ्यांक छैन।

आगलागी भएको स्थान, मृत्यु भएका मानिस, चौपाया र घरको संख्या त एकिन होला। तर डढेको वन क्षेत्र र त्यसबाट पारिस्थितिकीय प्रणालीमा परेको क्षतिको कुनै विवरण छैन। वायु प्रदूषणले आकाश धुम्म हुँदा मानवीय स्वास्थ्यमा परेको असरको लेखाजोखा छैन।

वन डढेलोका कारण के कति काठहरु जले भन्ने यकिन तथ्यांक वन तथा वातावरण मन्त्रालयसँग छैन। डढेलोका कारण वन क्षेत्रमा कटान गरी राखिएको काठ र ढलापढा तथा सुखढ काठहरु वन डढेलोबाट जोगाउन मुस्किल रहेको डिभिजनल वन अधिकृतहरुको गुनासो छ।

डढेलोकै कारण नेपालको हावा विश्वकै प्रदूषित भएको छ। स्याटेलाइट इमेज हेर्दा हिमालसम्मै तुवाँलोले ढाकेको छ। तुवाँलोले आकाश ढाकेकाले हवाई उडान-अवतरण प्रभावित भएका छन्।

नेपालका हिमाल पग्लिंदै जानुमा डढेलो पनि एउटा कारण भएको विज्ञहरु बताउँछन्। विज्ञहरूका अनुसार धेरै आगलागी हुनु र डढेलो लाग्नु भनेको धेरै हरितगृह ग्यास उत्सर्जन हुनु पनि हो, जसले पृथ्वीको तापमान बढाउन भूमिका खेल्छ। वातावरण विभागले वायु प्रदूषणका कारण जन स्वास्थ्यमा असर परेको भन्दै त्यसबाट जोगिन अपिल गरिरहेको छ।

भू-उपग्रहको तथ्यांक विश्लेषणबाट प्राप्त विवरणबमोजिम सन् २०२४ को सुरुआतदेखि हालसम्म एक हजार ६ सय बढी डढेलो तथा आगलागीका घटना भएको देखिन्छ। डढेलोविद् सुन्दर शर्माका अनुसार देशभर वन डढेलोको अवस्था झनझन विकराल बन्दै गइरहेको छ। शर्माका अनुसार नेपालमा साधारणतया वर्षमा २५ सयको हाराहारीमा डढेलाका घटनाहरु हुन्छन्।

आगलागीका घटनाहरु वर्षेनी दोहोरिन्छन्। तर वन डढेलो नियन्त्रणका लागि प्रभावकारी कदम चालिँदैन। वन तथा वातावरण मन्त्रालय भन्छ-आगामी आर्थिक वर्षको बजेटमा डढेलो नियन्त्रणका कार्यक्रमलाई प्रथामिकतामा राखिने छ। मानिसले जंगलमा आगो लगाएमा कारबाही हुने कानुनी व्यवस्था छ।

कडाइका साथ कानुन कार्यान्वयन नहुँदा मानवीय लापर्वाहीका कारण वन डढेलो बढेको सरोकारवालाहरुको भनाइ छ। वन डढेलो व्यवस्थापन रणनीति २०६७ ले डढेलो व्यवस्थापन गर्न आवश्यक नीतिगत तथा संस्थागत संरचनाको निर्माण एवं सुदृढीकरणमा जोड दिएको छ। अग्निप्रकोप व्यवस्थापन तथा नियन्त्रण सम्बन्धि निकायसँगको समन्वयमा डढेलो व्यवस्थापन संरचना वा संयन्त्रको विकास गरिँदै लगिने रणनीति छ।

रणनीतिको प्रभावकारी कार्यान्वयन गर्नका लागि विज्ञहरुले सुझाएका छन्। वनक्षेत्र प्राकृतिक रूपमा सञ्चालित पारिस्थितिक प्रणाली हो। डढेलोलाई वन्यजन्तु र मानव समुदायका लागि विश्वव्यापी खतराको रूपमा लिइन्छ। यसले वायुको गुणस्तरलाई समेत घटाउँछ र जनस्वास्थ्यमा गम्भीर असर पर्छ। यसको दीर्घकालीन असरप्रति सरकारी निकाय गम्भीर बन्न जरुरी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *