बेनी-जोमसोम सडक खण्ड : बैसरीमा पहिरोको जोखिम

डिसी नेपाल
२५ साउन २०८० १२:४५

बेनी। बेनी-जोमसोम सडकखण्ड अन्तरगत रघुगङ्गा गाउँपालिका-२ बैसरीमा गुडिरहेको बोलेरो जीपमाथि पहिरो खस्दा चालक गम्भीर घाइते भए। बुधबार साँझ ग १ ज ६८२० नं को बोलेरो जीपमाथि खसेको ढुंगा लाग्दा जीप चालक ४० वर्षीय लुकजन शेरपुजा घाइते भएका थिए।

बेनी अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरामा ‘रेफर’ गरिएकामा उनको अहिले शल्यक्रिया पश्चात आइसियूमा उपचार भइरहेको छ।

एक सातादेखि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकको बैसरी खण्डमा पहिरोले सिधा सवारी आवागमन प्रभावित बनेको छ। चार दिनपछि सडकमा थुप्रिएको पहिरो ‘डोजर’को सहायताले पन्छाएर आंशिक रुपमा सडक सुचारु भएको केही घण्टामै दुर्घटना भएपछि बैसरीको पहिरोले यात्रु र सवारी चालकमा भय र त्रास सिर्जना गरेको छ।

यसअघि पनि यस पहिरोबाट खसेको ढुङ्गा लागेर सवारी चालक र यात्रु पटक-पटक घाइते भइसकेका छन्। बैसरीमा खसेको पहिरोले मुस्ताङ र उत्तरी म्याग्दीलाई राष्ट्रिय राजमर्गसँग जोड्ने बेनी-जोमसोम सडकको यात्रा कष्टकर र सास्तीपूर्ण बनाएको छ।

राहुपारे र बैसरीको बिचमा रहेको अँधेरीखोला आसपासमा निरन्तर पहिरो खस्न थालेपछि यस सडकखण्डमा सिधा सवारी अवरुद्ध हुन थालेको छ। कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम–कोरला सडक आयोजना अन्तर्गत यो सडक कालोपत्रसहित निर्माणधीन छ।

बैसरीमा गएको पहिरोको कारण अवरुद्ध बनेको र जोखिमपूर्ण सडकको वैकल्पिक मार्ग तिलकेनी-बगैँचा–रानीपौवा-चौर-रिसिनचौतारी-माछखर्क हुँदै बेगखोला सडक भए पनि यो सडक उपेक्षामा परेको छ।

मोटरसाइकल, जीप लगायतका साना सवारी साधन आवतजावत गर्ने यो सडकलाई वैकल्पिक मार्गको रुपमा विकास गनुपर्ने स्थानीयवासीको माग छ। साँघुरो र जीर्ण अवस्थामा रहेको वैकल्पिक सडकलाई स्तरोन्नती गरी सञ्चालन गरेमा बैसरीको पहिरोको जोखिमयुक्त यात्रा गर्नुपर्ने बाध्यता हट्ने रिसिनचौतारीका स्थानीयवासी प्रेम केसीले बताए।

‘‘मुख्य बाटो पहिरोको जोखिममा छ, वैकल्पिक बाटो साँघुरो र हिलाम्मे छ, कम्तीमा मर्मत सम्भार गर्न सकेमा वैकल्पिक बाटोलाई नियमित सञ्चालनमा ल्याउन सकिन्छ, यसो गर्दा पहिरो रोकथाम नहुँदासम्म जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटाउन सकिन्छ’’, उनले भने।

वैकल्पिक बाटोलाई मर्मत गरेर नियमित सञ्चालनमा ल्याउन सम्बन्धित निकायले उदासिनता देखाएको स्थानीयवासीको गुनासो छ।

बेनी-जोमसोम सडकखण्डको गलेश्वरदेखि मुस्ताङको घाँसासम्मको सडक बाढीपहिरोको कारण जोखिमयुक्त मानिन्छ। यस खण्डमा हरेक वर्ष पहिरो र बाढीले यातायात अवरुद्ध हुँदै आएको छ।

निर्माणधीन अवस्थामा रहेको सडकको वैकल्पिक सडकको ‘ट्र्याक’ भए पनि स्तरोन्नती गरी सुचारु गर्नतर्फ सरोकारवालाको ध्यान नजाँदा यात्रुहरुले सास्ती खेप्दै आएका छन्।

तत्काललाई पहिरोलाई छलेर नयाँ ‘ट्र्याक’ बनाउन र यसअघि नै तयार भएको रानीपौवा-बेगखोला सडकलाई स्तरोन्नती गरी दीर्घकालीन वैकल्पिक सडक बनाउन आयोजना र सम्बन्धित निकायमा माग गरिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए।

अहिले बैसरीमा पहिरोले सिधा सवारी अवरुद्ध हुँदा बेनी–जोमसोम सडकमा गुड्ने मोटरसाइकल, बोलेरो, जीप लगायतका साना सवारी साधनले यसै वैकल्पिक सडकलाई प्रयोग गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *