१५ दशमलव पाँच प्रतिशतले घट्यो व्यापार घाटा

डिसी नेपाल
१ भदौ २०८० १४:०९

काठमाडौं। गथत आर्थिक वर्ष २०७९/८० मा मुलुकको वैदेशिक व्यापार घाटा १५ दशमलव पाँच प्रतिशतले घटेको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो विवरणानुसार अघिल्लो आवको तुलनमा गत आवमा व्यापार घाटा १५ दशमलव पाँच प्रतिशतले घटेर रु १४ खर्ब ५४ अर्ब ५९ करोड कायम भएको छ। अघिल्लो आवमा यस्तो घाटा २३ दशमलव शून्य प्रतिशतले बढेको थियो।

केन्द्रीय बैंकका अनुसार गत आवमा मुलुकबाट रु एक खर्ब ५७ अर्ब १४ करोडको वस्तु निर्यात भएको छ । जुन अघिल्लो आवका तुलनामा २१ दशमलव चार प्रतिशतले कम हो । अघिल्लो आवमा निर्यात ४१ दशमलव सात प्रतिशतले बढेको थियो।

तथ्यांकअनुसार गत आवमा कूल वस्तु आयात १६ दशमलव एक प्रतिशतले घटेर रु १६ खर्ब ११ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो आवमा यस्तो आयात २४ दशमलव सात प्रतिशतले बढेको थियो।

राष्ट्र बैंकका अनुसार गत आवमा भारततर्फ भएको निर्यात ३१ दशमलव तीन प्रतिशतले घटेको र चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः ११८ दशमलव तीन प्रतिशत र १० दशमलव सात प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा जिङ्क सिट, पार्टिकल बोर्ड, अलैँची, ऊनी गलैँचा, पोलिस्टर धागोलगायतका वस्तुको निर्यात बढेको तथा सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहनालगायतका वस्तुको निर्यात घटेको छ।

त्यस्तै वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४ दशमलव चार प्रतिशत, १५ दशमलव नौ प्रतिशत र २० दशमलव सात प्रतिशतले घटेको छ।

स्पोञ्ज आइरन, रासायनिक मल, अन्य स्टेसनरी सामान, अलकत्रा, कागजलगायतका वस्तुको आयात बढेको र सवारी साधन तथा स्पेयर पार्टस, एमएस विलेट, औषधि, पेट्रोलियम पदार्थ, कच्चा भटमासको तेललगायतका वस्तुको आयात घटेका राष्ट्र बैंकले जनाएको छ।

गत आवको वैदेशिक व्यापारमा निर्यात-आयातको अनुपात नौ दशमलव सात प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *