विप्लवको विरोधाभाषपूर्ण कदम

समाजवादी मोर्चामा सहभागीता जनाउँदै एमसीसीविरुद्ध आन्दोलनको घोषणा

शरद रिजाल
१५ भदौ २०८० ११:२९

काठमाडौं। चलनचल्तीमा एउटा कथन निकै प्रख्यात छ, ‘एउटै म्यानमा दुईवटा तरबार अट्दैन’। तर नेपालको राजनीतिमा यो कथनको ठिक विपरीत विप्लव नेतृत्वको नेकपा यात्रारत छ।

अमेरिकन सहयोग परियोजना(एमसीसी) बुधबारदेखि कार्यान्वयन भइसकेको छ। सरकारले एमसीसी परियोजना लागू हुने क्षेत्रमा स्थानीयको जग्गा अधिग्रहण गर्ने बारे प्रक्रिया थालिसकेको छ।

व्यापक विरोधका बाबजुद सदनबाट पारित भए कार्यान्वयन भएको एमसीसी परियोजनाको अझैपनि कतिपय राजनीतिक दलहरुले आपत्ति जनाइरहेका छन्। उनीहरुले एमसीसी राष्ट्रहित विपरीत रहेको बताउँदै सडक संघर्षमा केन्द्रित बनेका छन्।

यस्तै चार दल सम्मिलित समाजवादी मोर्चामा आवद्ध विप्लव नेतृत्वको नेकपाले पनि एमसीसी विरुद्ध आन्दाृेलनका कार्यक्रम घोषणा गरेको छ। आज शुक्रबार बसेको स्थायी समितिको बैठकले चरणबद्ध रुपमा एमसीसीको विरोध गर्ने निर्णय गरेको छ।

एकातिर सत्तारुढ चार दलीय मोर्चामा रहँदै वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको प्रशंसा गर्दै देश दौडाहामा हिँडेका नेकपाका महासचिव विप्लवले एमसीसीको विरोधस्वरुप आन्दोलन घोषणा गनु आफैंमा द्वैध चरित्र र विरोधाभाष कदम तय गरेका छन्।

राजनीतिक यात्रा दुरगामी दृटिकोण र उद्देश्यबाट प्रेरित भएर गरिने कार्य हो। यो क्षणिक लाभ हानिको विषय होइन। आफ्नो विचार दृष्टिकोणप्रतिको प्रतिवद्धता नै इमान्दार राजनीतिकर्मीको परिचायक हो। तथापि विप्लवले क्षणिक फाइदाको लागि आफ्नो अडान कायम राख्न सकेका छैनन्।

एकातिर प्रधानमन्त्री दाहालसँगको सामिप्यता गुम्न नदिन उनको पार्टीको महासचिव बन्ने लालसाले सत्तारुढ माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसहितको समाजवादी मोर्चाका कार्यक्रममा सरिक बन्नुपर्ने स्थिति छ।

अर्कोतिर क्रान्तिकारिता प्रदर्शित गर्दै राष्ट्रवादी छवि जोगाउन एमसीसी विरोधीका रुपमा सडक आन्दोलनमा होमिनुपर्ने बाध्यात्मक अवस्था छ।

राजनीतिक अकर्मण्यताको सिकार बनेका उनको आगामी रणनीति दाहाल नेतृत्वको पार्टीमा समाहित हुने महत्वकांक्षा पलाएको देखिन्छ। यद्यपि उनले महासचिवको दाबी सार्वजनिक रुपमा गरेका छैनन्।

तर, पार्टी एकताबारे मुख खोलिसकेका छन्। त्यसका लागि उनले आफ्नो बचाउका लागि वर्तमान अवस्था संकटपूर्ण रहेको संज्ञा दिँदै सबै कम्युनिष्ट मिल्नुपर्ने उनको तर्क छ।

माओवादीबाट विभाजित भएर नौ वर्षसम्म अलगै रहेका उनले आफ्नो पार्टीको यथोचित गति प्रदान गर्न नसकेको अन्योलतापूर्ण परिस्थितिले पार्टीका इमानदार कार्यकर्ताहरु लाखापाखा लागि सकेका छन्।

गएको स्थानीय निर्वाचन उपयोगको विषयमा विवाद हुँदा उनका पार्टीका नेताहरुले असहमति प्रकट गर्दै अलग भएका थिए। संसदीय व्यवस्थाको विकल्पमा खडा गरिएको भनिएको उनको दलले स्थानीय निर्वाचनमा भाग लिन मरिहत्ते गरेपछि पार्टीका शीर्ष तहमा रहेका नेताहरु अलग भएका हुन्।

धर्मेन्द्र बास्तोला कञ्चन, हेमन्तप्रकाश वली सुदर्शन, इश्वरी दाहाल असारे काका, उदयबहादुर चलाउने दीपक लगायतका नेताहरु उनीसँगै विद्रोह गरी मोहन वैद्य नेतृत्वको पार्टीमा समाहित भएका छन्।

अहिले उनको दल सत्तारुढ समाजवादी मोर्चामा सामेल हुँदै गैरसंसदीय चरित्रका वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, विश्वभक्त दुलाल आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपासँग पनि सडक आन्दोलनमा सक्रियता देखाएको छ।

सत्तारुढ र संसदीय व्यवस्था विरोधी दलसँगको अस्वभाविक मोर्चाबन्दी विप्लवले कायम गरेका छन्। विप्लवको पार्टीबाट विद्रोह गरेर हाल वैद्य नेतृत्वको क्रान्तिकारी पार्टीमा रहेका नेता हेमन्त प्रकाश वलीले विप्लवमा आएको संसदवादी रुझानले अवसरवादी प्रवृत्ति हाबी भएको बताउँछन्।

उनले गत स्थानीय निर्वाचनमा यस्तै प्रवृत्ति  र रवैया देखाएकाले उनीसँग अलग्गिएको जनाए। विप्लवमा अवसरवादी प्रवृत्ति व्याप्त भएर द्वैध चरित्र हावी भएको उनले बताए।

उनले भने, ‘विप्लवजीमा संसदवादी र अवसरवादी प्रवृत्ति देखियो । यो सुहाउने चरित्र होइन। उहाँले माक्र्सवादको आधारभूत मान्यतामा पनि प्रश्न उठाउनुभएको छ। त्यसैले उहाँ अहिले अवसरवादको चरम अवस्थामा पुग्नुभएको छ।’

उनले विप्लव घोषित रुपमा संसदीय राजनीतिमा अवतरण गरेको जिकिर गरे। विप्लवले सत्तारुढ दलसँगको समाजवादी मोर्चा परित्याग गरेपछि मात्रै आफूहरुको सडक मोर्चामा सामेल गराउने अन्यथा सहयात्रा गर्न नसकिने उनले प्रष्ट्याए। यदि सत्तारुढ दलसँग सहयात्रा जारी राखे विप्लवको दाहोरो भूमिकासँग सहकार्य गर्न नसकिने उनको भनाइ छ।

नेता वलीले भने, ‘उहाँ एकातिर सरकारी मोर्चामा सामेल भएर हिँड्नु भएको छ । जसमा एमसीसी पारितदेखि कार्यान्वयसम्म मूल भूमिका खेलेका दल आवद्ध छन् । उहाँ सरकारको प्रतिरक्षक बनेर सडमा आउनु विरोधाभाषपूर्ण हुन्छ । हामीले सत्तारुढ दलसँगको मोर्चा परित्याग गरेपछि मात्रै सडक मोर्चामा आउन सचेत गराएका छौं।’

विप्लवले समाजवादी मोर्चाबाट बाहिरिएपछि मात्रै सडकमा सहकार्य गरिने उनले बताए। विप्लवको द्वैध र अवसरवादी चरित्र एमसीसी विरुद्ध सडक संघर्ष गरेका दलहरुलाई स्वीकार्य नहुने उनले चेतावनी दिए।

याे पनि पढ्नुस्

एमसीसी विरोधीको आवरणमा सत्तारुढ घटकसँग समाजवादी मोर्चामा साँठगाँठ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *