अपर तामाकोशी हाइड्रोपावरको आजदेखि शतप्रतिशत हकप्रद सेयर खुला

डिसी नेपाल
१८ भदौ २०८० ९:४९

काठमाडौ। अपर तामाकोशी हाइड्रोपावर कम्पनीको आज सोमबार भदौ १८ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर खुला भएको छ ।

कम्पनीले १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । जसअनुसार १ सय रुपैयाँ अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन खुला भएको छ ।

यस हकप्रद सेयरका लागि कम्पनीले साउन २६ गते बुक क्लोज गरिसकेको छ । साउन २५ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद दाबी गर्न पाउनेछन् । असोज ७ गते यस कम्पनीको हकप्रद बिक्री बन्द हुने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

यो हकप्रद सेयरमा नागरिक लगानी कोष र सनराइज क्यापिटलले बिक्री प्रबन्धकको जिम्मेवारी लिएका छन्। यस हकप्रदमा सनराइज क्यापिटल, नागरिक लगानी कोष कार्यालयबाट पनि आवेदन दिन सकिन्छ ।

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

अपरले कर्जा तिर्न र २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद सेयरमार्फत रकम संकलन गर्न लागेको हो । लगानीकर्ताले यी स्थानबाट पनि आवेदन दिन सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *