नेपालमा ब्रिटिश काउन्सिल आईईएलटीएसले शुरू गर्‍यो वन स्किल रिटेक

डिसी नेपाल
९ असोज २०८० ११:२०
52
Shares

काठमाडौं। ब्रिटिश काउन्सिल आईईएलटीएसले नेपालमा वन स्किल रिटेक (एउटै मात्र शीपमा दोहोर्‍याएर परीक्षा दिन पाइने सुविधा) शुरू गरेको छ। यो सुविधा शुरू भएसँगै अब पहिलो पटकको परीक्षामा आशातित नतिजा प्राप्त गर्न नसकेका परीक्षार्थीहरूले सबै खालका शीपमा दोहोर्‍याएर परीक्षा दिनुपर्ने झन्झट बेहोर्नुपर्ने छैन।

वन स्किल रिटेकमा आईईएलटीएस परीक्षाको एउटा खण्डको मात्रै दोहोर्‍याएर परीक्षा दिन पाइने भएकोले विद्यार्थीहरू सफल हुने सम्भावना बढ्नेछ। सुनाइ, पढाइ, लेखाइ र बोलाइ जुनसुकै शीपको परीक्षामा पनि यो अवसर प्राप्त हुनेछ।

परीक्षाको ढाँचा र समय सामान्य आईईएलटीएस परीक्षामा व्यक्तिगत शीप जाँचे जस्तै हुनेछ। तर परीक्षार्थीहरूले अन्य तीन शीपको परीक्षा दिन भने आवश्यक हुने छैन। जसले गर्दा समयको बचत हुनेछ।

आईईएलटीएस प्रयोगकर्ताहरूले दिएको सुझाव र प्रतिक्रियाका आधारमा नयाँ फिचर शुरू गरिएको ब्रिटिश काउन्सिलका आईईएलटीएस निर्देशक एन्ड्र्यिू म्याकेन्जीले बताए। ‘उपयुक्त तयारी र सहायता भयो भने हाम्रा परीक्षार्थीहरूले परीक्षामा उत्कृट अंक हासिल गर्न सक्छन् भन्नेमा हामी विश्वस्त छौं,’ म्याकेन्जीले भने।

‘अंग्रेजीमा आफ्नो प्रदर्शन निपुण छैन भन्ने महसुस परीक्षार्थीहरूले गरिरहेका छन् भने वन स्किल रिटेकले त्यस्ता परीक्षार्थीहरूलाई त्यो एउटा शीपमा दोहोर्‍याएर परीक्षा दिने अवसर दिनेछ, यसले निष्पक्षता बढाउने हामीले आशा गरेका छौं,’ उनले भने।

आईईएलटीएस वन स्किल रिटेक ग्रहण गर्ने संगठनहरूले आवेदनको स्तरमा सम्झौता नगरिकन प्रवेशसम्बन्धी मापदण्ड हासिलमा आफ्ना परीक्षार्थीहरूलाई लचकता दिन सक्नेछन्।

‘परीक्षार्थीहरूलाई आफ्नो पूर्ण क्षमता अनुसारको अंक हासिल गर्न सघाउने हाम्रो प्रतिबद्धतालाई बलियो बनाउने यो पहलप्रति आईईएलटीएस पार्टनरहरूलाई पनि गर्व छ,’ म्याकेन्जीले भने।

आईईएलटीएस वन स्किल रिटेक चयन गर्ने परीक्षार्थीहरूले दोस्रो परीक्षा रिपोर्ट फारम पाउनेछन्। यसलाई बसाइसराइँ वा अध्ययनको प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ।

पाएको अंकका आधारमा परीक्षार्थीहरूले दोहोर्‍याएर दिएको शीप परीक्षामा पुरानो वा नयाँ रिपोर्ट कुन प्रयोग गर्ने भनेर रोज्न सक्नेछन्। आईईएलटीएस वन स्किल रिटेकका लागि शुरूको परीक्षा दिएको ६० दिनभित्रको म्याद लिन सकिनेछ।

‘नेपालमा आईईएलटीएस परीक्षार्थीहरूलाई उनीहरूले सकेको उत्तम अंक हासिल गर्न सक्ने बनाउन चाहन्छौं,’ नेपालका लागि परीक्षा निर्देशक राइम्यान म्याक्सिमले भने। यो नयाँ पहलले परीक्षार्थीहरूलाई पूर्ण सम्भावना हासिलमा सघाउने हाम्रो प्रतिबद्धता उजागर गरेकोमा हामीहरू शानसँग भन्न सक्छौं,’ उनले भने।

ब्रिटिश काउन्सिल आईईएलटीएस

अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली (आईईएलटीएस) विदेशमा उच्च अध्ययन तथा आप्रवासनको प्रयोजनमा विश्वमा सबैभन्दा लोकप्रिय अंग्रेजी भाषा निपुणता परीक्षा हो।

विश्वभर ११ हजार ५०० भन्दा धेरै संघसंस्थाहरूले आईईएलटीएसमाथि विश्वास गरेका छन्। यी संघसंस्थाहरूमा शैक्षिक संस्था, रोजगारदाता, सरकारी तथा पेशागत निकायहरू पनि छन्।

आईईएलटीएसमा ब्रिटिश काउन्सिल, आईडीपीः आईईएलटीस अष्ट्रेलिया र क्याम्ब्रिज असेसमेन्ट इङ्लिशको संयुक्त स्वामित्व छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *