नयाँ पुस्ताले चासो नदिँदा मौलिक लोक भाका र संस्कृति हराउँदै

डम्मर बुढा मगर/रासस
१३ असोज २०८० १४:१६
64
Shares

बागलुङ। बागलुङमा बढी प्रचलित सोरठी, मारुनीलगायत मौलिक भाका र संस्कृति हराउँदै गएका छन्।

एक दशक अगाडिसम्म ग्रामीण क्षेत्रमा गुञ्जिने बिना सालैजोको ठाडी भाका, सालैजो, झ्याउरेलगायतका दर्जन बढी भाका अहिले सुनिँदैनन्। मेलापात र महोत्सवमा गाइने गीतहरु एक जनाले सुरु गर्ने र समूहका महिला तथा पुरुषले भाका समातेर गाउँने चलन हराउँदै गएपछि बूढापाकाले चिन्ता व्यक्त गरेका छन्।

“अहिले त रोधी पनि बस्न छोडे, रोधीमा गाइने गीत पनि हराए । कहीँ कतै रोधी गाएको भाका सुनिँदैनन् । ती गीत, जमाना फेरिए, मान्छेका स्वभाव र चालचलन सबै फेरिएका छन्”, ढोरपाटनकी ८३ वर्षीया मोतिकुमारी घर्तीले भनिन्। उनले कहिलेकाहीँ एक्लै हुँदा पुराना गीत गुनगुनाउने गरेको बताइन्।

उनले गुनगुनाउने गीत अहिलेका युवा पुस्ताले खासै बुझ्दैनन्। यानिमाया, सुनिमाया, शिरफुलेमाया लगायतका थुप्रै लोक भाकाहरु सुनिन छाडेको भन्दै मोतिकुमारी गुनासो गरिन्। रोधी बस्दा, बुकीँ चढ्दा, झर्दा, मेलापात गर्दा, मेला महोत्सवमा यी गीत निकै गाउने गरेको स्मरण गर्दै अहिले हिन्दी र अङ्ग्रेजी गीतले मौलिकतालाई हराई दिएको घर्तीको भनाइ थियो।

गीतसंगीतले मानिसको दुःख, वेदना र हर्ष बोल्ने भन्दै पुराना गीतसँगै संस्कृति पनि हराउँदै गएको उनले बताइन्। कुनै गीत चाडबाड विशेषतः र कुनै बाह्रै महिना गाउन मिल्ने भन्दै पछिल्लो समय पश्चिमा संस्कृतिले गर्दा स्थानीय पहिचान हराएकोमा उनले चिन्ता व्यक्त गरिन्। आधुनिकताले गर्दा धेरै मान्छेको पहिरन, खानपान र दैनिकी बदलिएको हुँदा उनीहरुलाई पुराना गीत संगीतको महत्व थाहा नभएको घर्तीको भनाइ थियो ।

“हाम्रो पालामा अहिलेको जस्तो फोन थिएन, चिट्ठी लेख्ने प्रचलन पनि धेरै पछि आएको हो, परिवारका मान्छे र कोही आफन्त टाढा भए, प्रदेश गए भने नफर्किंदासम्म उसको हालखबर थाहा हुँदैनथ्यो, त्यति बेला मनको बह पोख्न गीत गाइन्थ्यो,” उनले भनिन्, “अहिले त छिनछिनमा फोन गर्छन्, भिडियो हेराहेर गर्छन्, विदेश छ कि सँगै छ थाहै हुँदैन, अहिलेका मान्छेलाई के थाहा त्यस बेलाका गीतको महत्व ?, उतिबेला हाम्रो सुख, दुःखको सारथी थियो गीत ।”

युवा पुस्ताले पुराना भाका नसुन्दा मौलिकता बोकेका गीतहरु हराउँदै गएको स्थानीय ७७ वर्षीय टीकाराम रोका मगरले बताए। उनले अहिले पनि बूढापाकाले पुराना भाका गाउनका लागि लगाउने गरेको बताए।

उनका अनुसार अरूलाई भन्दा बढी रोका मगरलाई बढी थाहा भएको हुँदा उनलाई यो भाका गाउन लगाएका हुन् । बिना सालैजोको ठाडी भाका, सालैजो, झ्याउरे लगायतका दर्जन बढी भाका मगर, गुरुङलगायत आदिवासी जनजाति समुदायका मानिसले गाउने उनको भनाइ थियो ।

“हाम्रा पाका पुर्खादेखि गाउँदै आइएको गीतरसङ्गीत अहिले लोप भए, धेरै वर्ष पुराना गीत अरू समुदायका मान्छेले गाउन जान्दैनन् । यी गीतमा हाम्रो पहिचान, हाम्रो कर्म र परम्परा बोलेको हुन्छ, यी गीतहरुको लय पनि अरूभन्दा बेग्लै हुन्छ, अहिले त हराउँदै गयो”, मगरले भने, “युवा पुस्ताले र्‍याप /झ्याप केके हो के गाउँछन्, म मरे भने त यो गीत पनि मर्छ भन्ने पीर लाग्छ, संस्कृति बचाउनका लागि राज्यले पनि भूमिका खेल्नुपर्छ, अहिले केटाकेटी जेन्मेको दुई/चार वर्षपछि विदेशी गीत सुन्ने गाउने गर्छन्, हाम्रा छोरा नातिले मैले गाएको रुचाउन्न् ।” गीतको राग र तालको भाव बुझेर टुक्कालाई पूर्णता दिनुपर्ने हुँदा यो यानिमाया, सुनिमाया र ठाडी भाका गाउन कठिन मानिने उनको बुझाइ छ ।

आधुनिक सञ्चारमाध्यमको विकास, पुराना पुस्ताका कलाकारबाट पुस्तान्तरण र नयाँ पुस्ताले चासो नदिँदा मौलिकता बोकेका गीत हराउन थालेको ७४ वर्षीय तुलबहादुर पाइजा मगरले बताए। उनका अनुसार मेला, महोत्सव तथा विभिन्न कार्यक्रममा ठाडी भाका गाउने चलन छ। अर्मपर्म लाग्दा, घाँसदाउरा गर्दा, मेलापात जाँदा र लामो दूरीको यात्रा गर्दा मनोरञ्जनको माध्यम गीतसंगीत नै थियो । आफ्ना पालामा साथीभाइ भेट हुँदा यस्ता गीतबाटै हालखबर, सञ्चो बिसञ्चो सोध्ने गरेको उनले स्मरण गरे।

अहिले फोनले गर्दा दिनदिनै कुरा हुने हुँदा गीतमा हालखबर सोध्न छोडिएको पाइजाले बताए। पुराना गीतहरु तीन रात, तीन दिन गाउँदा पनि नसकिने भन्दै अहिले त्यस्ता गीत गाउने मान्छे भेट्याउन मुस्किल पर्ने उनको भनाइ थियो । पछिल्लो समय रेडियो, टेलिभिजन तथा मोबाइलमा आउने आधुनिक, पपगीतले मौलिक भाका हराउन थालेको भन्दै यस्ता गीत अहिलेका कलाकारले पनि नगाउने उनले बताए।

“दिनभरि मेलापातमा व्यस्त भइन्थ्यो, थकाइ लाग्थ्यो, साँझ, ओल्लोपल्लो घरका तरुनी तन्नेरी भएर रोधी बसिन्थ्यो, पुराना गीत गाइन्थ्यो, रोधी बस्दा पुराना गीतहरुको संरक्षण हुन्थ्यो, अहिले त रोधी बस्ने चलन नै छैन, हामी तन्नेरी हुँदा बेस्सरी रोधी बस्ने, गीत गाउने गरिन्थ्यो”, पाइजाले भने, “अहिलेका त न रोधी बस्छन्, न पुराना गीत गाउँछन्, यसले गर्दा पुराना संस्कृति बोकेका गीत हराए, हाम्रो पालामा मोबाइल, टिभी केही थिएन, केमा गीत सुन्नु ?”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *