नेपालगञ्जमा अनिश्चितकालका लागि कर्फ्यु
काठमाडौं। जिल्ला प्रशासन कार्यालय बाँकेले आज दिउँसो १ बजेदेखि लागू हुने गरी अनिश्चितकालिन निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ।
सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहारलगायतका गतिविधि भएको तथा सर्वसाधरणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एव शान्ति भंग हुने स्थिति देखिएको भन्दै नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु) लगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए।
जिल्लाको पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राझा चोक र दक्षिणमा जमुनाहा नाकासम्म कर्फ्यु आदेश जारी भएको हो।
उक्त चार किल्ला सीमाभित्र कसैले भेला हुन सभा समारोह गर्न, जुलुस तथा र्याली गर्न र हिँडडुल गर्न समेत नपाइने गरी निषेधाज्ञा जारी भएको प्रजिअ आर्चायले जानकारी दिए।
ओमकार परिवार र हिन्दु समाजलगायतका संघ, संस्थाले आज नै नेपालगञ्जमा सदभाव र्याली निकालेका थिए। सो आदेशको उल्लंघन भए कानूनअनुसार कारवाही हुने स्थानीय प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सञ्जालमा पनि एकअर्काविरुद्ध जथाभावी नलेख्न आग्रह गरेको थियो। यदि त्यसो गरेमा स्थानीय प्रशासन ऐन २०२८ तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment