गुण्डा नाइके रिगललाई आममाफी दिएको विरोधमा भारतीले थालिन् अनसन

डिसी नेपाल
१७ असोज २०८० ११:३६
68
Shares

काठमाडौं। आफ्ना श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइको रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी भारती मानन्धरले रिले अनसन सुरु गरेकी छन्।

श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले विरोध गर्दै आएका छन्। भारती आजबाट माईतीघर मण्डलामा रिले अनसन बस्न थालेकी हुन्।

२०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो। उक्त हत्या रिगल भनिने योगराज ढकालले गरेका थिए।

ढकाल २०७३ सालमा अदालतबाट आत्मसर्मपण गरेर आजीवन कारावासको सजाय काटिरहेका उनलाई सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आममाफी दिएका थिए। खुँडा प्रहार गरेर क्रूररुपमा हत्या गरेका हत्यारालाई आममाफी दिएको भन्दै सरकार र राष्ट्रपतिको चौतर्फी आलोचना भइरहेको छ।

रिगललाई आममाफी दिइएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रतिनिधि सभा बैठकमै प्रश्न उठाएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति पौडेललाई भेटेर आममाफीबारे तीन बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *