फड्के किराको प्रकोपले धानबालीमा नोक्सानी

डिसी नेपाल
१७ असोज २०८० १३:२९
48
Shares

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाका किसानको धान रोपेको खेतमा खैरो फड्के किराले व्यापक नोक्सानी पुर्याएको छ।

सो नगरपालिका–१, ६ र १२ का किसानको पाक्नै लागेको धानबालीमा फड्के किराको प्रकोप देखापरेको छ। फड्के किराले पात र डाँठको रस चुसेर खाँदा धानका बोट पाक्न नपाई मर्न थालेका छन्।

धान पाक्नै नपाई मर्न थालेपछि उत्पादन घट्ने चिन्ता किसानलाई छ । वडा नं १ बन्साहाका किसान नरबहादुर कुवँरले पाँच कट्ठा जग्गामा लगाइको धान बाली फड्के किराका कारण सखाप भएको बताए।

“धान पाक्नै लाग्दा किराको प्रकोप देखा पर्यो”, उनले भने, “हेर्दा हेर्दै दुई/तीन दिनमै पूरै धानका बोट मरेका छन् ।” अरू खेतमा किरा सर्नबाट रोक्नका लागि विषादी छर्ने कार्य गरिरहेको उनले बताए।

फड्के किराको प्रकोप देखा परेका क्षेत्रमा धानको उत्पादन २० देखि ३० प्रतिशतसम्म घट्न सक्ने नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करन बुढाऐरले बताए।

“केही ठाउँमा किराको प्रकोपले पूरै धानबाली पाक्न नपाउँदै सुकेको छ”, उनले भने, “कुनै ठाउमा भर्खर किराको प्रकोप देखिएको छ, किसानलाई कृषि शाखाबाट निःशुल्क रुपमा फड्के किरा मार्नका लागि एजाडिराक्टिन र एसिफेट नामक विषादी वितरणको कार्य गरिरहेका छौँ ।”

किराको सङ्ख्या हेरी एक हप्ताको फरकमा विषादी छर्कनका लागि किसानलाई सल्लाह दिन थालेको जनाउँदै उहाँले किसानलाई धानका बिरुवाको फेदमा पर्ने गरी विषादी छर्कन लगाउन लागेको बताए। फडके किराको प्रकोप तीन वडामा बढी देखिए पनि फाटफुट रुपमा नगरपालिकाका १२ वटै वडामा देखिएको उनले बताए।

किसानले किराको प्रकोप हुन लागेका बेला सावधानी अपनाउन नसक्दा बढी क्षति ब्यहोर्नुपरेको उनले बताए। नगरपालिकाको खेतीयोग्य जग्गाको ९० प्रतिशत क्षेत्रमा धान खेती हुने गरको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *