घर टहरा बनाउँदै एक हजार एमाले स्वयं सेवक

डिसी नेपाल
१२ मंसिर २०८० १३:१३

काठमाडाैं। कात्तिक १७ गतेको विनाशकारी भूकम्पले जाजरकोट र पश्चिम रुकुमको अवस्था झन् भन्दा झन् दयनीय बन्दै गएको छ।

करिब १९ हजार घरहरु क्षतिग्रस्त भएका छन् भने हजारौं सर्वसाधारण त्यसबाट प्रभावित बन्न पुगेका छन्। भूकम्पले घर ढलेपछि अधिकांश सर्वसाधारण सामान्य त्रिपालमुनि टाउको लुकाएर जिउ जोगाउने प्रयास गरिरहेका छन्।

अत्याधिक चिसो बढेका कारण कतिपयले ज्यान गुमाउन थालेका छन् भने सुत्केरी, अपांगता भएका व्यक्ति तथा बालबालिकाको अवस्था भयावह हुन थालेको छ। विनाशकारी घटनाको करिब १ महिना बित्न लाग्दा समेत सरकारले उचित राहत वितरण नगरेकाे भन्दै आलाेचना हुन थालेकाे छ।

यसैबीच नेकपा (एमाले)ले पार्टी केन्द्रीय सदस्य एवम् विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख किरण पौडेलको नेतृत्वमा एक हजार स्वयंसेवक प्रभावित जिल्लाहरुमा खटाएको छ। दुइ जिल्लाका विकट गाउँहरुमा देशैभरीबाट राहत उद्धारमा खटिएका स्वयंसेवकहरुले स्थानीयहरुसंगको सहकार्यमा घर-टहरा निर्माण गरिरहेका छन्।

“स्थानीयले राष्ट्रपतिको हेलिकप्टर देखे, प्रधानमन्त्रीको आश्वासन पनि सुने तर हामी सेवा गर्न आएका हौँ। जाजरकोट र रुकुममा कम्तिमा २ हप्ता भग्नवशेश ब्यबस्थापन र घर टहरा निर्माणमा लाग्नेछौं ” हजार स्वयंसेवकहरुको नेतृत्व गरिरहेका किरण पाैडेल भन्छन्।

”हाम्रा स्वयंसेवकहरु जाजरकोट-रुकुममा स्थानीयहरुको प्रिय बन्न थालेका छन्। हामीलाई पार्टीको निर्देशन छ, “आफ्नो खाने-बस्ने व्यवस्था आफैँ गर्नु, स्थानीयलाई कुनै भार नपार्नु, सक्दो सेवा गर्नु।” तर स्वयंसेवकहरुलाई अप्ठ्यारो पर्न थालेको छ। स्थानीयहरु क्याम्प क्याम्पमा एका बिहानै आइपुग्छन्। कहिले आलु-मूला तरकारी बोकेर, कहिले भोगटे लिएर। जति नाई नास्ती गर्दासमेत उनीहरुले स्थानीयको प्रेम र सद्भाव नकार्न सकेका छैनन्, पौडेल भन्छन्।

दुवै जिल्लाका ४० स्थानमा २५-२५ जनाको स्वयंसेवककाे टोली खटिएको छ। कुल १ हजार श्रमदानमा लागेका छन् भने ७५ जना मेस संचालन तथा लजिस्टिक म्यानेजमेण्टमा लागेका छन्।

प्रत्येक स्वयंसेवकलाई कम्तिमा २ हप्ता अनिवार्य श्रमदान गर्न पार्टीले निर्देशन दिएकाे छ। हरेक टोलीलाई कम्तिमा ५० घर-टहरा बनाउने लक्ष्य दिइएको छ। स्वयंसेवकहरु बिहान ७ बजेदेखि विभिन्न औजार बोकेर काममा खटिन्छन्।

बेलुका ६ बजेपछि धुलो मैलो अनुहार बनाएर आफ्नो क्याम्पमा फर्किन्छन्। विपत्तिमा सर्वसाधारण जनताको सेवा गर्न पाउँदा स्वयंसेवकको थकित अनुहारमा आत्मसन्तोषको आनन्दमय अनुभूति हुने पाैडेल बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *