आगलागीपीडित परिवारलाई विराटनगर महानगरपालिकाको सहयोग

डिसी नेपाल
२१ मंसिर २०८० २१:२०

मोरङ । विराटनगर महानगरपालिकाले आगलागीमा ज्यान गुमाएका पीडितपरिवार र घाइतेलाई राहत उपलब्ध गराउने भएको छ । बुधबार महानगरपालिका वडा नं –७ सातघुम्तीस्थित कवाडी गोदाममा आगलागी भएको थियो ।

मृत्यु भएका परिवारलाई जनही रु एक/एक लाख तथा घाइतेलाई रु ५०/५० हजार राहत महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए ।

विराटनगर–७ सातघुम्तीस्थित दुखा मण्डलले सञ्चालन गरेको कवाडी पसलमा बुधबार आगलागी हुँदा विराटनगर–६ का दीपक मण्डल, सुशीला पासवान र सुनिता कामतको मृत्यु भएको थियो । सुशीलाको घटनास्थलमै मृत्यु भएको थियो भने मण्डलको बुधबार उपचारका लागि अस्पताल लैजाने क्रममा विराटनगरमा तथा सुनिता कामतको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको थियो ।

घटनामा घाइते भएका विराटनगर–६ का किशोर पासवान, रीता सरदार र कटहरी गाउँपालिकाका–६ की पिंकी कामतको काठमाडौंमा उपचार भइरहेको छ । महानगरले काठमाडौंबाट सुनिताको शव ल्याउने व्यवस्थापन मिलाएको छ । महानगरले कवाडी व्यवसाय र गोदामसहित सम्वेदनशील व्यवसायलाई व्यवस्थित गर्ने भएको छ ।

महानगरपालिकाले निश्चित स्थान तोकेर मात्रै कवाडी, गोदामलगायत अन्य संवेदनशील व्यवसाय सञ्चालनको अनुमति लिनुपर्ने महानगर प्रमुख कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । आगामी दिनमा यस प्रकारका संवेदनशील व्यवसायजन्य सुरक्षाको मापदण्डलाई कडाइका साथ अनिवार्य लागू गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *