प्रचण्ड- बाबुराम पुनर्मिलन : ८ वर्षपछि जोडिँदै २४ वर्षे राजनीतिक सहयात्राको कडी

३२ वर्षअघि जोडेका हरिबोल, बाबुराम भित्रिन लाग्दा प्रचण्डसँग रुष्ट

शरद रिजाल
२९ मंसिर २०८० ७:३९

काठमाडौं। नेकपा(माओेवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच आठ वर्षअघि टुटेको राजनीतिक सामिप्यता फेरि जोडिँदै छ।

२४ वर्षे लामो सहकार्य २०७२ को नयाँ संविधान जारी भएपछि तोडेका यी नेताद्वय अहिले पुनर्मिलनको सन्निकट छन्। गत निर्वाचनमा माओवादी केन्द्रकै चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएको बाबुरामको दल नेसपा अहिले एकताको चरणमा प्रवेश गरेको छ।

हाल प्रधानमन्त्री समेत रहेका माओेवादी केन्द्रका अध्यक्ष दाहालले एउटै निर्वाचन चिन्ह लिने सहमति भएपछि सो समयमा भनेका थिए, ‘प्रचण्ड बाबुराम एकै ठाउँ हुनुले ठूलो अर्थ राख्छ, यसको नेपाली राजनीतिमा विशिष्ट महत्व छ।’

प्रचण्ड बाबुरामको सहकार्यमा सुरुवाती समयदेखि नै अन्तरविरोध र एकता श्रृङखलाबद्ध रुपमा चल्दै आएको छ। तर, पछिल्लो बाबुरामको बहिर्गमनको प्रकृति नितान्त भिन्न थियो।

उनी अध्यक्ष दाहालसँग राजनीतिक एवं कार्यनीतिक विषयमा विमति राखेर अलग भएका होइनन्। उनी जीवनभर अंगीकार गरेको माक्र्सवादी दर्शन नै असान्दर्भिक भएको निष्कर्षसहित सिंगो जीवन अर्पण गरेको कम्युनिष्ट आन्दोलनबाट बाहिरिएका थिए।

अहिले बाबुरामको पुनरागमन उनी आफूले परित्याग गरेको कम्युनिष्ट आन्दोलनमा फेरि समाहित हुने जमर्को गर्दै दाहालसँग नयाँ बिन्दुमा सहकार्यको आरम्भ गर्न लागेका छन्। यद्यपि दुई पार्टीको एकताले अझै मूर्तरुप लिइसकेको छैन।

तर, दुबै पार्टीबाट गठित वार्ता टोलीले पार्टी एकता अन्तिम चरणमा पुगेको बताइरहेका छन्। उनीहरुले दुबै दलको संयुक्त संयोजन समिति गठनको तयारी भइरहेको जनाएका छन्। एकीकृत पार्टीको नाम नेकपा(समाजवादी) राख्न दुबै पक्षबीच सहमति जुटिसकेको बताइएको छ।

प्रचण्ड बाबुरामको राजनीतिक सहकार्यको थालनी २०४८ सालमा नेकपा (एकताकेन्द्र) हुँदै २०७२ असोज ९ सम्म एकीकृत नेकपा (माओवादी) मा कायम रहेको थियो। यही चरणमा उनीहरुबीच तीव्र अन्तरविरोध र मिलाप हुँदै यहासम्म आइपुगेका थिए।

बाबुराम र प्रचण्डको राजनीतिक मिलन सुरुमा हाल माओवादी केन्द्रका उपमहासचिव रहेका हरिबोल गजुरेलले गराएका थिए।

उनले मोहन विक्रम सिंह नेतृत्वको नेकपा (मसाल) बाट बाबुरामसहित टोपबहादुर रायमाझी, राम कार्की, मणि थापा र देबेन्द्र पौडेल लगायतका नेताहरुको नेतृत्व गर्दै प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा (एकताकेन्द्र) मा समाहित गराएका थिए।

उनै गजुरेलले भर्खरै आफ्नै अध्यक्ष रहेका प्रधानमन्त्री प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका छन्। उनी पछिल्लो समय प्रधानमन्त्री रहेका अध्यक्षसँग सरकार सञ्चालनका लागि आफूले तय गरेको नीतिगत प्रस्तावमा असहमति जनाए पछि रुष्ट बनेका हुन्।

कुनै समय बाबुरामको समेत नेता भएका गजुरेल अहिले माओवादी केन्द्रको उपमहासचिवको भूमिकामा छन्। तथापि उनलाई अध्यक्ष प्रचण्डले पार्टीमा उपेक्षा गरेको बताइन्छ।

यता बाबुराम भने माओवादीको उपाध्यक्ष हुँदै एकपटक प्रधानमन्त्री समेत भइसकेका छन्। अबको एकीकृत पार्टीमा दोस्रो हैसियत कायम हुने प्रारिम्भक सहमति भएको बताइएको छ।

पहिलो पटक प्रचण्डसँग सहकार्यको थालनी गर्दा बाबुराम कम्युनिष्ट पार्टीकै बफादार कार्यकर्ता थिए। उनी मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) को बागमती प्रदेशस्तरीय नेता मात्रै थिए। उनी केन्द्रीय भूमिकामा थिएनन्। जब गजुरेलको नेतृत्वमा प्रचण्ड नेतृत्वको दलमा बाबुराम समाहित भए तब उनको राजनीतिक भूमिका फेरियो।

उनी एकाएक तत्कालीन नेकपा (एकताकेन्द्र) को संसदीय मोर्चाका रुपमा रहेको संयुक्त जनमोर्चाको अध्यक्ष भएका थिए। यही क्रममा जनयुद्ध सुरु गर्दा तत्कालीन कांग्रेस नेता शेरबहादुर देउवा नेतृत्वको सरकारलाई २०५१ सालमा उनकै नेतृत्वमा माओवादीले ४० बुँदे माग राखेर त्यसको केही समयमै २०५२ फागुन १ गते युद्धको घोषणा गरेका थियो।

यसरी दशबर्ष जनयुद्धको शान्तिपूर्ण अवतरणको प्रस्थान बिन्दु मानिने चुनवाङ बैठकमा लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पारित गराउन प्रमुख भूमिका निर्वाह गर्दै तत्कालीन संसदवादी सात दलसँगको बाह्रबुँदे सहमति बाबुरामकै पहलमा भएको थियो।

युद्धरत माओवादीको शान्तिपूर्ण रुपान्तरणको सूत्रधार मानिएका बाबुराम अन्ततः दोस्रो संविधानबाट नयाँ संविधान जारी भएसँगै प्रचण्डसँगको सहकार्य तोडेका थिए।

उनले नेपाली राजनीतिको एउटा अध्याय समाप्त भएको बताउँदै अबको राजनीतिक यात्रा विकास र समृद्धि भएकाले त्यसको नेतृत्व पुरातन कम्युनिष्ट पार्टीले गर्न नसक्ने जनाएका थिए। उनले वैकल्पिक राजनीतिक दलका रूपमा नयाँ शक्ति नेपाल नामक पार्टी गठन गरेका थिए।

यद्यपि उनको निर्दिष्ट लक्ष्य प्राप्तिका लागि गठित नयाँ शक्ति पार्टी अहिले नेपाल समाजवादी पार्टीसम्म आइपुग्दा निकै आरोह अवरोह पार गर्दै उल्लेख्य गति हासिल गर्न सकेन।

अहिले तिनै बाबुराम विगतको सहकार्यको तुलनामा पृथक परिस्थितिमा प्रचण्डसँग एउटै पार्टीमा सहकार्यको निकट छन्। गत २०७९ मंसिर ४ को निर्वाचनमा एउटै चिन्ह लिएर चुनावमा होमिएको उनको दल नेसपाले संघीय संसदमा एक र प्रदेशमा दुई सांसद जितेको थियो।

अहिले लामो समयदेखिको राजनीति सहकार्यमा आठ वर्षअघि टुटेको कडि जोड्ने प्रयत्न गरेका छन्। अबको प्रचण्ड बाबुराम एकता विगतको भन्दा फरक पृष्ठभूमिमा देखा परेको छ।

एक अर्काका परिपूरकको रुपमा ती दुबै नेतासँग भएका कार्यकर्ताहरुले अथ्र्याएपनि अहिले बाबुरामलाई प्रचण्डको अपरिहार्यता आफ्नो प्रतिकूल राजनीतिलाई अवतरण गराउने उचित अवसरको रुपमा लिएका हुन्।

उनले कम्युनिष्ट सिद्धान्त परित्याग गरे पछिको यात्राले उचित दिशाबोध गर्न नसक्दा वैकल्पिक राजनीतिको असफल प्रयोग बाध्य भएर प्रचण्डको दैलोमा अवतरण गराउने निर्णयमा पुगेका छन्।

यी दुबैको खस्कदो ओज र दलीय क्षयीकरणले एक अर्काको आवश्यकता बोध गर्दै फेरि सहकार्यको सुरुवात गर्ने जमर्को गरेका छन्।
यसअघि अनेकौ आन्तरिक तिक्तताका बीच २४ वर्ष टिकेको सहकार्य विगत ८ वर्षअघि टुटेको थियो।

अहिले पुनर्मिलनकोे सन्निकट पुगेको छ। तर अबको सहकार्य कति दिगो हुन्छ, त्यो भने आगामी दिनमा यी नेताद्वयको आपसी क्रियाकलापले निर्धारण गर्ने छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *