पार्टीभित्र र बाहिरका विपक्षीलाई एकैपटक तह लगाउने र आफैं प्रधानमन्त्री बन्ने देउवा रणनीति

डिसी नेपाल
५ पुष २०८० ७:४२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिलेको प्रचण्ड सरकारलाई जसरी पनि जोगाउने र सरकार गठनका बेला भएको सहमतिअनुसार प्रचण्डलाई निर्धारित समयसम्म प्रधानमन्त्री बनाइराख्ने निर्णयमा पुगेका छन्।

नेपाली कांग्रेसभित्र प्रचण्ड सरकारको विरोध चर्किएका बेला सभापति देउवा भने ‘पार्टीभित्र र बाहिरका विपक्षीलाई एकैपटक तह लगाउने र आफैं प्रधानमन्त्री बन्ने रणनीति’ अनुसार प्रचण्ड सरकारलाईै समर्थन गरिराख्ने र पार्टीभित्रको विरोधको आवाजलाई ‘कुल्चने’ निर्णयमा पुगेका हुन्।

कांग्रेसभित्र अहिले प्रचण्ड सरकारको विकल्प खोज्नुपर्ने आवाज चर्किएको छ। प्रचण्ड सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको भन्दै कांग्रेसका केही नेताहरुले प्रचण्ड सरकारलाई हटाएर कांग्रेस आफैंले नेतृत्व लिनुपर्ने भनिरहेका छन्।

तर, यस्तो आवाज उठाउने नेताहरु अधिकांश देउवा पक्षका होइनन्। शेखर कोइराला, गगन थापा र उनीहरुको खेमाका नेताहरु प्रचण्ड सरकारको विपक्षमा छन्।

उनीहरु पार्टीभित्र देउवाको विपक्षका नेताका रुपमा चिनिन्छन्। शेखर कोइराला पार्टी सभापतिको लागि देउवाको विपक्षमा उम्मेदवार भएका थिए भने गगन थापा पार्टी संसदीय दलको नेतामा देउवाको विपक्षमा उभिएका थिए।

देउवानिकट स्रोतका अनुसार सभापति देउवा अहिले प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धताप्रति विश्वस्त छन्। प्रचण्डलाई विश्वास गर्नको लागि उनले ७ वर्षअघिको घटनालाई आधार मानेका छन्। २०७३ मा केपी ओलीको सरकार ढलेपछि प्रचण्ड र देउवाबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको थियो।

अहिले नै प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएमा आफू प्रधानमन्त्री बन्न पाउँदिन भन्ने भय पनि देउवालाई छ। प्रचण्ड सरकार ढलाएमा यो गठबन्धनका अरु दलहरुले आफूलाई समर्थन गर्छन् भन्ने देउवालाई विश्वास छैन।

सहमतिअनुसार पहिले प्रचण्ड प्रधानमन्त्री बनेका थिए । २०७४ सालको जेठमा प्रचण्डको पालो सकिएर देउवा प्रधानमन्त्री बन्ने पालो आएको थियो । यही समयमा बजेट ल्याउने बेला समेत भएको थियो ।

देउवाले आफ्ना विश्वासपात्रहरुलाई बताएअनुसार उनले प्रचण्डलाई सहमतिअनुसार पदबाट राजीनामा दिन भनेका थिए। तर, त्यतिबेला बजेट ल्याउने बेला भएकोले सरकारमा सहभागी कांग्रेसका केही मन्त्रीहरुले प्रचण्डलाई बजेट पेश नहुँदासम्म राजीनामा नदिन आग्रह गरेका थिए।

प्रधानमन्त्रीले राजीनामा दिएपछि मन्त्रिमण्डल पनि फेरिने र नयाँ मन्त्रीले बजेटको तयारी गर्न पनि कठिन हुने भएकोले उनीहरुले राजीनामा नदिन भनेका थिए। तर, प्रचण्डले राजीनामा दिए र अर्को प्रधानमन्त्रीको निर्वाचनमा देउवालाई सहयोग गरेर प्रधानमन्त्री पनि बनाए।

देउवाका अनुसार त्यतिबेला प्रचण्डले सहमतिप्रति प्रतिबद्धता जनाएर राजीनामा दिएका थिए। उतिबेला राजीनामा नदिनको लागि देउवालाई ‘कन्भिन्स’ गर्न मिल्ने कारण हुँदाहुँदै पनि सहमतिप्रति प्रचण्डले देखाएको प्रतिबद्धताले अहिले पनि देउवालाई प्रभावित पारिरहेको छ।

यस्तोमा प्रचण्डलाई बाँकी कार्यकाल प्रधानमन्त्रीमा समर्थन गरेमा प्रचण्डले प्रतिबद्धताअनुसार पद छोड्छन् र आफूलाई प्रधानमन्त्री बनाउन सहयोग पनि गर्छन् भन्ने देउवाको बुझाइ छ।

अर्कोतर्फ अहिले नै प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएमा आफू प्रधानमन्त्री बन्न पाउँदिन भन्ने भय पनि देउवालाई छ। प्रचण्ड सरकार ढलाएमा यो गठबन्धनका अरु दलहरुले आफूलाई समर्थन गर्छन् भन्ने देउवालाई विश्वास छैन।

यस्तोमा कांग्रेसले सरकार बनाउनको लागि रोज्ने सहयात्री भनेको एमाले हो। देउवा सरकारमा साझेदारीका लागि एमालेकहाँ गएमा एमाले अध्यक्ष ओलीले पहिले आफैं प्रधानमन्त्री बन्ने माग गर्न सक्छन्। यस्तोमा देउवाले प्रधानमन्त्री बन्न अझै पर्खिनुपर्ने हुन सक्छ।

अर्को अवस्थामा एमाले कांग्रेसलाई सरकारको नेतृत्व दिन तयार हुन सक्छ। तर, एमालेले कांग्रेसलाई सरकारको नेतृत्व दिँदै गर्दा प्रधानमन्त्रीमा देउवाबाहेक अर्को व्यक्ति हुनुपर्ने अडान राखिदिन सक्छ।

यस्तोमा देउवा आफू प्रधानमन्त्री बन्न पाउँदैनन्। एमालेसँग गठबन्धन गर्न जाँदा आफ्नो पार्टीका आफूविरोधी नेताहरुले नै एमालेसँग साँठगाँठ गरेर ‘कांग्रसको प्रधानमन्त्री हुन्छ तर देउवा हुँदैन’ भन्ने अवस्था ल्याइदिन सक्ने देउवाको सबैभन्दा ठूलो डर हो। यस्तोमा उनी यो गठबन्धन भत्काएर अर्को गठबन्धन बनाउने पक्षमा छैनन्।

यही गठबन्धनमा भएको सहमतिअनुसार प्रधानमन्त्री बन्ने विकल्प रोज्ने हो भने अबको एक वर्षपछि देउवाको प्रधानमन्त्री बन्ने पालो आउँछ। यही गठबन्धनबाट अर्को प्रधानमन्त्रीको निर्वाचन हुँदा कांग्रेसबाट प्रधानमन्त्री बन्ने व्यक्तिको रुपमा देउवाको विकल्प खोज्ने अवस्था आउँदैन।

यसो गर्दा पार्टीभित्रका आफ्ना विरोधीहरुले पनि चलखेल गर्न पाउँदैनन् र बाहिरको प्रतिपक्षी दलले पनि आफूलाई सत्ताबाट बाहिर राख्ने प्रयास गर्न सक्देन भन्ने देउवाको बुझाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *