उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो

डिसी नेपाल
२६ पुष २०८० १९:००
40
Shares

त्रिशूली । पौष कृष्ण पक्षको औँसीको अवसरमा आज नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीको उत्तरगयामा पितृको उद्धारका निम्ति श्राद्ध गर्नेको दिनभर घुइँचो लागेको थियो । यहाँको प्रख्यात नदी ली, सलाखु र फलाँखुको त्रिवेणीस्थल बेत्रावतीमा श्राद्ध गर्नाले पितृहरुको उद्धार हुने जनविश्वास छ ।

मुलुकका विभिन्न स्थानबाट आज ३० हजारभन्दा बढीले यहाँ श्राद्ध गरेका उत्तरगया क्षेत्र विकास कोषका अध्यक्ष अष्टमान डङ्गोलले जानकारी दिए । उनका अनुसार दक्षिणायनको अन्तिम औँसीका रुपमा रहेको पौषकृष्ण औँसीका दिन उत्तरगयामा पितृलाई पिण्डदान गर्नाले दिवङ्गत व्यक्तिको बैकुण्ठमा बास हुने, जीवनमा जानरअन्जानमा भएरगरेका गल्ती क्षमा हुने धार्मिक विश्वास रहेको छ ।

आज बिहानैदेखि पितृको श्राद्ध गर्न आउनेको सङ्ख्या अहिलेसम्मकै धेरै रहेको डङ्गोलले जानकारी दिए । “बेत्रावती उत्तरगयाधाम हिन्दू धर्मालम्वीको प्रमुख चारधाममध्ये कै मुख्य हो । यसलाई नेपालमा रहेको एकमात्र धामका रुपमा पुज्ने गरिएको छ”, उनले भने ।

उत्तरगयामा पौष कृष्ण औँसीका दिन आमाबाबु नभएकाले सकेसम्म हरेक वर्ष नभए जीवनमा एकपटक भए पनि पिण्डदान गर्नुपर्छ भन्ने विश्वासका साथ हरेक वर्ष यहाँ श्राद्ध गर्नेको घुइँचो लाग्ने गरेको नीलकण्ठ मावि बेत्रावतीका शिक्षक गणेश श्रेष्ठले बताए । त्रिशूली, सलाँखु र फलाँखुको त्रिवेणीमा पर्ने उत्तरगया क्षेत्र नुवाकोटको गेर्खु, फिकुरी, मेदाङ भञ्याङ, देवीघाट र रसुवाको मैलुङसम्म फैलिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *