आन्दोलनकारी संसद् छिरेको विषयमा अनुसन्धान गर्न समिति गठन

डिसी नेपाल
१५ फागुन २०८० ६:४६

काठमाडौं। नेपाल प्रहरीले आन्दोलनकारी संसद् छिरेको विषयमा अनुसन्धान गर्न समिति गठन गरेको छ।

लघुवित्त संस्थाविरुद्ध संघर्ष गरिरहेका आन्दोलनकारी नयाँ बानेश्वरस्थित संघीय संसद् भवन छिरेका घटनाबारे अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारी र प्रहरी नायब उपरीक्षक दिनेश घिमिरे सदस्य रहेको छानबिन समिति गठन गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए। समितिलाई घटनाका सम्बन्धमा सूक्ष्म तवरले अनुसन्धान गर्न निर्देशन दिइएको छ।

समितिले जनप्रतिनिधिमूलक संस्था संसद् भवनको सुरक्षामा लापरबाही गर्ने प्रहरी कर्मचारीमाथि कारबाहीको सिफारिस गर्नाका साथै पुनः यस्ता प्रकारका घटना दोहोरिन नदिन राय-सुझावसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।

लघुवित्त संस्थाविरुद्ध संघर्ष गर्दै आएका आन्दोलनकारी निषेधित क्षेत्र तोडी नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको २ नं गेटबाट भित्र प्रवेश गरेका थिए । संसद् भवन परिसर प्रवेश गरेका एक पुरुष र ४८ महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनालगत्तै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्को सुरक्षा व्यवस्थाबारे गम्भीर चासो र असन्तुष्टि व्यक्त गरेका थिए।

उनले घटनाबारे गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, काठमाडौं उपत्यका प्रहरी प्रमुख दीपक थापा, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख एवम् प्रवक्ता नारायणप्रसाद भट्टराई, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायतसँग स्पष्टीकरण लिनुभएको गृहमन्त्रीका प्रेस संयोजक कमल गिरीले जानकारी दिए।

प्रहरी प्रधान कार्यालयले संसद् भवनको सुरक्षामा खटिने प्रहरी निरीक्षकसहित ३२ प्रहरीलाई जिम्मेवारी मुक्त गरी अर्को टोली खटाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *