धनगढी आसपासका क्षेत्रमा छाडा चौपायाबाट बाली जोगाउन सकस

डिसी नेपाल
१६ फागुन २०८० १४:४४
4
Shares

कैलाली। धनगढी आसपासका क्षेत्रमा छाडा पशुचौपायाका कारण खेतमा लगाइएको बालीनाली जोगाउन किसानलाई सास्ती हुन थालेको छ।

छाडा पशुचौपायाको व्यवस्थापन हुन नसक्दा किसानले हैरानी खेप्नु परेको धनगढी उपमहानगरपालिका–२ का टेकराज जोराले दुःखेसो पोखे। रातको समयमा छाडा पशु आएर खेतमा लगाइएको अन्नबाली, तरकारी खाएर सखाप पारिदिने गरेको उनले बताए। गतवर्ष पनि छाडा चौपायाले आफूले लगाएको खाद्यान्न बाली र तरकारी खाएर ठूलो नोक्सानी ब्योहोर्नु परेको किसान जोराको भनाइ छ।

छाडा चौपायाले करिब एक बिघा जमिनमा लगाइएको गहुँ बालीमा नोक्सान पु¥याएको धनगढीका किसान तेजुराज चौधरीले बताए। “छाडा गाईगोरु दिनभर बजार क्षेत्रमा डुलेर हैरानी गर्छन् । रात परेपछि खेतबारीमा लगाएको खाद्यान्न बाली नोक्सान गर्दछन”, उनले भने।

उपमहानगरले छाडा पशुचौपायाको व्यवस्थापनका लागि वडा नं ७ स्थित देवहरियामा गौशाला निर्माण गरेको छ। धनगढी– ३ चटकपुरमा केही वर्षदेखि गौ संरक्षण सेवा समितिमार्फत गौशाला निर्माण गरी सञ्चालनमा ल्याइएको छ।

त्यस्तै अन्य स्थानमा पनि गौशाला बन्ने क्रममा छन । कतिपय स्थानमा काञ्जिहाउस समेत निर्माण गरिएका छन्। दूध दिउञ्जेलसम्म गाई पाल्ने र दूध दिन छाडेपछि छाडारुपमा छाड्ने प्रवृतिका कारण छाडा पशुको व्यवस्थापनमा कठिनाइ थपिएको स्थानीय अगुवाको भनाइ छ।

धनगढीसँग पश्चिम सिमाना जोडिएको छिमेकी जिल्ला कञ्चनपुर, गोदावरी नगरपालिका र खुला भारतीय सिमानाका कारण चौपाया छाडा पशु भित्रिने क्रम नरोकिएकाले व्यवस्थापनमा चुनौती थपिएको गौ–संरक्षण सेवा समितिका उपाध्यक्ष चेतराज अवस्थीले बताए। उनका अनुसार धनगढीको देउरियामा निर्माण गरिएको गौशालामा सयौँ छाडा पशु रहेका छन्।

छाडा चौपायाको व्यवस्थापनका लागि यहाँको स्थानीय तहबाट केही प्रयास भए पनि समस्या समाधान हुन नसकेको अवस्थीले बताए। छाडा पशुको व्यवस्थापन गर्न स्थानीय तहका साथै सरोकारवाला निकायले पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *