बाबुरामको मिशन ८४ : गोरखा-२ प्रचण्डलाई नछाड्ने, आफैंले उम्मेदवारी दिने

डिसी नेपाल
२७ फागुन २०८० १६:५८
80
Shares

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले आगामी २०८४ को निर्वाचनमा गोरखा- २ मा निर्वाचन लड्ने संकेत गरेका छन्।

बाबुरामका विश्वासपात्र एवं लामो समय उनको सचिवालय सम्हालेका नेसपा प्रचार विभाग प्रमुख  विश्वदीप पाण्डेले आगामी निर्वाचनमा गोरखा २ मा निर्वाचन लड्ने जानकारी गराएका हुन्।

गोरखा २ मा यसपाली छाडेर हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुम्पिँदै निर्वाचनमा सघाएका उनले अब उक्त क्षेत्रमा आफैंले लड्ने पाण्डेले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

पाण्डेले फेसबुकमा लेखेका छन्,‘नेसपा अध्यक्ष बाबुराम भट्टराई केही अघि लामो अवधि गोरखा यात्रामा हुनुहुन्थ्यो । त्यस क्रममा आफू यसअघिको चुनावमा विजयी भएको निर्वाचन क्षेत्र गोरखा २ का मतदाताहरुसंग वृहत् छलफल भएको थियो । सो क्रममा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न आएको सुझावलाई उहाँले स्विकार गर्नुभएको छ । अब उहाँ २०८४ को निर्वाचनमा गोरखा २ मा उम्मेदवार हुनुहुनेछ ।’

यसअघि बाबुरामले आगामी निर्वाचन नलड्ने बताउँदै आफ्नो निर्वाचन क्षेत्र प्रचण्डलाई सुम्पिएर छोरी मानुषी यमी भट्टराईलाई काठमाडौं-७ मा उम्मेदवार बनाएका थिए।

यद्यपि उक्त क्षेत्रमा रास्वपाका गणेश पराजुली निर्वाचित भए भने मानुषी तेस्रा्े स्थानमा रहेकी थिइन्। नेसपा नेतृ रहेकी बाबुरामपुत्री मानुषी माओवादीको निर्वाचन चिन्ह लिएर चुनावमा होमिए पनि पराजित भएकी थिइन्।

बाबुरामले आगामी निर्वाचनमा नयाँ पुस्ता आउनुपर्ने बताउँदै आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका थिए। उनले आफ्नो पूर्ववत निर्णय परिवर्तन गर्दै आगामी ८४को निर्वाचनमा उम्मेदवारी दिने भएका हुन्।

देशभर मिशन ८४ को चर्चा भइरहेकै बेला बाबुरामले पनि आफ्ना पूर्वसहकर्मी प्रचण्डलाई छाडेको क्षेत्रमा आफैंले फेरि उम्मेदवारी दिने भएका छन्। प्रधानमन्त्री प्रचण्डलाई यसपाली निर्वाचन क्षेत्र सुम्पिएर जिताएका उनी पछिल्लो समय प्रचण्डसँग रुष्ट रहेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रचण्डले गरेको गठबनधन परिवर्तनलाई अवसरवादको संज्ञा दिएका थिए।  यसकै उपज उनको उम्मेदवारीबारे पार्टीका प्रचार विभाग प्रमुख रहेका पाण्डेले पूर्वजानकारी गराएको चर्चा छ।

२०७४ को निर्वाचनमा चितवन ३ बाट निर्वाचित प्रधानमन्त्री प्रचण्डले गत निर्वाचनमा चुनाव जित्ने निर्वाचन क्षेत्रको खोजीमा भौतारिरहेको बेलामा बाबुरामले आफ्नो क्षेत्र छाडेका थिए। अब बाबुरामले सोही क्षेत्रमा निर्वाचन लड्ने उद्घोष गरेपछि प्रधानमन्त्री प्रचण्डको निर्वाचन क्षेत्र पुनःपरिवर्तन हुने भएको छ।

प्रधानमन्त्री प्रचण्डले प्रत्येक निर्वाचनमा निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका छन्। २०६४ मा रोल्पा- २ र काठमाडौं- १० बाट निर्वाचित उनी २०७०मा सिरहा- ५ र काठमाडौं- १० मै उम्मेदवारी दिएका थिए। काठमाडौं- १०मा पराजित भएका उनी सिरहा बाट निर्वाचित भएका थिए।

यस्तै २०७४ मा चितवन- ३ बाट निर्वाचित भएका उनले निर्वाचन क्षेत्र परिवर्तन गर्दै २०७९मा गोरखा- २ मा पुगेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.