पाथीभरामा पछिल्लो एक महिनामा ५५ लाख रुपैयाँ भेटी संकलन
ताप्लेजुङ। पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट संकलन भएको ५५ लाख भेटी संकलन गरेको छ। फागुन महिनामा पाथीभराबाट संकलन भएको ५५ लाख ७० हजार ८८० विभिन्न बैंकमा जम्मा गरेको क्षेत्र विकास समितिले जनाएको छ।
फागुनमा जम्मा भएको भेटी रकमबारे बुधबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक रुपमा जानकारी गराएको हो। समितिले हरेक महिनाको अन्तिम दिन पाथीभरामा संकलित भेटीघाटी सार्वजनिक गर्दै आएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए।
यस्तै पछिल्लो एक महिनामा स्वदेशी तथा विदेशी गरी १७ हजार ९१२ जना तीर्थयात्री पाथीभरा मन्दिरमा पुगेको तथ्यांकसमेत समितिले सार्वजनिक गरेको छ। केही दिनयतादेखि मौसम न्यानो भएसँगै पाथीभरामा भक्तजनको आगमन बढेको छ।
यसैबीच पाथीभरामा संकलन भएको सुनचाँदी लिलाम बिक्री प्रक्रियामा रहेको समितिले जनाएको छ। रिफाइन गरिएको १७८ तोला ८२ लाल सुन र पाँच हजार २९८ तोला १२ लाल चाँदी बिक्रीको प्रक्रियामा रहेको बताइएको छ। गत फागुन २० गते लिलाम बिक्रीको सूचना निकालिएको र बिक्री प्रक्रियामा नै रहेको समितिले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment