इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठलाई व्यावसायिक त्रुटी गरेकोमा कारवाही सिफारिस

डिसी नेपाल
१ चैत २०८० ११:२३
104
Shares

काठमाडौं। इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोलबाट गोली पड्केको घटनामा उनलाई ‘व्यावसायिकतामा त्रुटी’ का आधारमा विभागीय कारवाहीको सिफारिस गरिएको छ।

प्रहरी प्रभाग बलम्बुमा गोली चलेको घटनाबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाउँदै विभागीय कारवाहीको सिफारिस गरेको हो।

प्रहरी नायव उपरीक्षक गंगा पौडेल नेतृत्वको समितिले जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीलाई छानबिन प्रतिवेदन बुझाइसकेको छ। ६ फागुनमा प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोलबाट गोली चलेको थियो।सो घटना छानबिन गर्न ७ फागुनमा छानबिन समिति गठन गरिएको थियो।

इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठको कमजोरीका कारण गोली चलेको छानबिन समितिको निष्कर्ष छ। गोली लागेर इन्स्पेक्टर श्रेष्ठका बडीगार्ड र एक जना सेवाग्राही सामान्य घाइते भएका थिए। छानबिन समितिले इन्स्पेक्टर श्रेष्ठलाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो।

श्रेष्ठले पेस्तोल चेकजाँच गर्दा अचानक पड्किएको समितिमा बयान दिएका छन्। तर, ‘वेपन क्लियरिङ जोन’ मा हतियार चेकजाँच गर्नुपर्नेमा श्रेष्ठले कार्यालयभित्र नै चेकजाँच गरेको हुनाले उनको ‘व्यावसायिकतामा त्रुटी’ देखिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

समितिले प्रतिवेदन बुझाएको र त्यसबारे अध्ययन भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए। घटनापछि इन्स्पेक्टर श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा सरुवा गरिएको थियो। प्रतिवेदनको आधारमा उनलाई स्पष्टीकरण सोधिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *