रविसँग कि सिआईबीसँग तर्सिएको हो कांग्रेस ?

डिसी नेपाल
११ चैत २०८० १३:०२

काठमाडौं। आफूले गरेको प्रधानमन्त्री पदको अफरलाई अस्वीकार गर्दै एमाले-माओवादी गठबन्धनमा उपप्रधान तथा गृहमन्त्री बनेका रवि लामिछानेमाथिको छानविनलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बटमलाइन बनाएको छ। त्यसको जवाफमा सरकारले गृहमन्त्री लामिछाने माथि कुनै छानविन नहुने जवाफ पनि दिइसकेको छ।

ठूलो परिमाणमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीकी तत्कालीन प्रमुख किरण बज्राचार्यलाई विभागीय कारवाही गर्न सिफरिस गरेपछि गृहमन्त्रीले बज्राचार्यलाई सीआइबी प्रमुखबाट हटाएर एआईजी श्याम ज्ञवालीलाई सिआईबी प्रमुख बनाएका छन् ।

यसपछि कांग्रेस गृहमन्त्रीमाथि सबैभन्दा बढी खनिएको छ। कांग्रेस कुनै पनि हालतमा श्याम ज्ञवालीलाई ब्यूरो प्रमुखाट फिर्ता बोलाउने मिसनमा छ। त्यसका लागि उसले गृहमन्त्रीमाथि छानवीनको मागलाई मुख्य बटमलाइन बनाएको छ।

स्रोतका अनुसार कांग्रेसको यो बटमलाइन गृहमन्त्री लामिछानेले कानुन उल्लंघन गरेकाले उनीमाथि अनुसन्धान हुनुपर्छ भन्ने भावनाले प्रेरित भन्दा पनि ब्युरो प्रमुख ज्ञवालीले कांग्रेसका शीर्ष नेतामाथि नै अर्को प्रकरणमा अनुसन्धान अगाडि बढाउँछन् कि भन्ने त्रासबाट प्रेरित छ। कांग्रेस कानुन उल्लंघन गर्नेमाथि कारवाही गराउने भन्दा पनि आफ्नालाई अनुसन्धानको दायराबाट जोगाउने प्रयासमा रहेको स्रोत बताउँछ।

केन्द्रीय अनुसन्धान ब्युरोको जिम्मामा अहिले सुन तस्करी प्रकरण मात्र नभइ नक्कली भुटानी शरणार्थी प्रकरण पनि छ । शरणर्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा समेत तानिने अवस्था छ। देउवाका विश्वासपात्र बालकृष्ण खाण यसअघि नै अनुसन्धानमा तानिएर धरौटीमा छुटेका छन्। उनीमाथि अनुसन्धान जारी छ।

अब ब्यूरोका नेतृत्व ज्ञवालीले गर्दा सो प्रकरणको अनुसन्धान कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजू देउवातर्फ सोझिने संकेत पाएपछि कांग्रेस अत्तालिएको छ। यदि आरजूमाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान भए त्यसले समग्र पार्टीलाई नै क्षति हुने निष्कर्ष निकालेको कांग्रेसलाई मनाउन सिआईबीबाट ज्ञवालीलाई अन्यत्रै सरुवा गर्ने तयारी भइरहेको बताइएको छ।

अनुसन्धानका क्रममा यस प्रकरणमा मुछिएकाहरुले यो प्रकरणमा आरजु र खाणकी पत्नी मन्जुको पनि संलग्नता रहेको आरोप लगाइसकेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल बन्द भएको छैन। ब्युरो प्रमुख बज्राचार्य हुँदा यो प्रकरणमा नाम मुछिएका आरजु र मन्जुमाथि अनुसन्धान भएन।

उनीहरुको नाम आएपछि एकाएक अनुसन्धान सुस्त भएको थियो। अनुसन्धान सुस्त हुनु र आरजु र मन्जुमाथि अनुसन्धान नै नहुनुको पछाडि कांग्रेसकै भूमिका रहेको आरोप लाग्ने गरेको छ।

अब ब्यूरोका नेतृत्व ज्ञवालीले गर्दा सो प्रकरणको अनुसन्धान कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजू देउवातर्फ सोझिने संकेत पाएपछि कांग्रेस अत्तालिएको छ। यदि आरजूमाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान भए त्यसले समग्र पार्टीलाई नै क्षति हुने निष्कर्ष निकालेको कांग्रेसलाई मनाउन सिआईबीबाट ज्ञवालीलाई अन्यत्रै सरुवा गर्ने तयारी भइरहेको बताइएको छ।

यसअघि नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको बेलामा ज्ञवालीकै नेतृत्वमा भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाणलगायत पक्राउ परेका थिए। पछि कांग्रेसको चर्को विरोधपछि ज्ञवालीलाई रानीपोखरीबाट प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको थियो। अहिले उनै ज्ञवाली ब्यूरोको नेतृत्वमा आएपछि उनले पहिले आफूले सुरु गरेको र अधुरोमै रोकिएको अनुसन्धानलाई निरन्तरता दिने कांग्रेसलाई डर छ ।

अहिले पनि कांग्रेसले गृहमन्त्रीमाथि अनुसन्धानको माग गर्दै संसदमा चर्को नारावाजी गर्दै आएको छ र आफूहरुको माग पूरा नभए संसद चल्न नसक्ने चेतावनी दिँदै आएको छ। कांग्रेसको माग सम्वोधन गर्न यदि ज्ञवालीको सिआईबीबाट सरुवा भए सिआईबीमा उनको कार्यकाल एक महिना भन्दा बढी नहुने देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *