विश्व रंगमञ्च दिवसः रंगमञ्चमा फर्किन नसकेका रंगकर्मी

डिसी नेपाल
१४ चैत २०८० ७:५४

काठमाडौं। आज ६३ औं विश्व रंगमञ्च दिवस हो। रंगकर्मीले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउने गरेका छन्। कलाकार र दर्शकबीचको सिधा सम्पर्क र तत्काल पाइने प्रतिक्रिया रंगमञ्चको विशेषता हो। पछिल्लो समयमा नेपालमा पनि रंगकर्मी र रंगमञ्चप्रति लोकप्रियता बढ्दै गएको पाइएको छ।

रंगकर्मीका रूपमा उदाएका कलाकार अहिले चलचित्रमा सर्वाधिक खोजिने अनुहारसमेत बनेका छन्। यद्यपि, रंगमञ्च भने अहिले पनि अभिनय सिक्ने मञ्चका रूपमा मात्र चिनिन्छ। चलचित्रमा सशक्त अभिनय गर्नुपर्ने भूमिका हुँदा प्रायः नाटकमा अभिनय गर्ने नाट्यकर्मी खोजिन्छ।

कला जीवनको महत्त्वपूर्ण पक्ष हो। यसले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्छ। त्यसैले समाज बदल्न कलात्मक गतिविधिको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ।

रंगमञ्चमार्फत चलचित्रमा उदाउने कलाकारको सूचीमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, कार्म, विपन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल, रवीन्द्रसिंह बानियाँ, कमलमणि नेपाल, महेश त्रिपाठी, बुद्धी तामाङलगायत रहेका छन्।

सानो भूमिकादेखि शीर्ष भूमिकासम्म चलचित्रमा स्थापित भएका रंगकर्मी रंगमञ्चमा कमै फर्किने गरेका छन्। कलामाथि व्यापार पनि हाबी हुँदा उल्लेखित नामहरू रंगमञ्चसम्म आउन नसकेको आरोप लाग्ने गरेको छ।

चलचित्रमार्फत व्यावसायिक सफलता मिले पनि कलाकारितामा अभिनेता सौगात मल्ल रंगमञ्चमार्फत स्थापित भए। रंगमञ्चमा लामो समय बिताए पनि पछिल्लो समय चलचित्रमा व्यस्त भएका अभिनेता मल्ललाई नाटकमा नदेखिएको लामो समय भइसकेको छ। उनले प्रयास भएता पनि त्यसले सफलता पाउन नसकेको स्वीकारे।

“नाटकमा फर्किने योजना बनिरहेको छ। पहिले पनि केही नाटकमा अभिनय गर्ने तयारी नगरेको होइन, तर विविध कारणले त्यो पूरा भएन”, अभिनेता मल्लले भने, “केही साथीसँग चलचित्रमा काम गर्ने र त्यसलाई नै नाटकका रूपमा प्रस्तुत गर्ने तयारी पनि भएको थियो। नाटकलाई समय दिनुपर्छ, अभ्यास र मञ्चन गरेर झण्डै दुईदेखि तीन महिनासम्म समय लाग्छ, त्यही कारण पनि धेरैलाई समय मिलाउन सहज नभएको हुन्सक्छ।”

अभिनेता मल्लझैं नाटकमा नदेखिएको लामो समय भएका कलाकारमा अभिनेता रवीन्द्रसिंह बानियाँ पर्छन्। षट्कोण आर्टस्मार्फत चलचित्र निर्माण सुरु भएपछि अभिनेता बानियाँ रंगमञ्चमा फर्किएका छैनन्। “षट्कोण आर्टस्मार्फत नाटक बनाउने योजना पनि बनेको थियो। तर चलचित्रकै व्यस्तताले गर्दा त्यसले पूर्णता पाएको छैन। अरुको नाटकमा काम गर्न सहज नै हुन्छ तर आफैँले निर्माण गर्दा चार महिना लाग्ने भएकाले रंगमञ्चसम्म पुग्न नसकिएको हो। म नाटकमा देखिने तयारीमै छु”, अभिनेता बानियाँले भने।

व्यावसायिक पाटोभन्दा कला महत्त्वपूर्ण हुने भएकाले स्थापित र विस्थापितको लहर चलिरहेको रंगकर्मीको भनाइ छ। रंगकर्मी भोलाराज सापकोटाले नाटकलाई कलाले मात्र जीवित राखेको बताए।

“रंगकर्म गरिरहेकालाई यसैबाट जीविकोपार्जन गर्न सहज छैन, अहिले चलचित्रमा महँगो अभिनेतामा पर्ने केहीले यहीँबाट सुरुआत नगरेको भने होइनन्, तर यो अभिनय बुझ्ने र सिक्ने मञ्चमात्र बनिरहेको छ”, सापकोटाले भने, “मैले पनि पाँच वर्षको अन्तरालमा यो वर्ष नाटकमा अभिनय गरेँ। हामीले रंगमञ्चमा फर्किँदा नै अभिनय बाँच्न पाउँछौ।”

आर्थिक पक्षलाई सबल बनाउन भए पनि चलचित्रमा काम गर्ने क्रम बढेको छ। रंगमञ्चमार्फत कलाकारिता सुरु गरेका अनुहार चलचित्रमा मात्र देखिनु दुःखद भएको अभिनेता कमलमणि नेपालले टिप्पणी गरे।

“रंगमञ्चमार्फत मेरो जीविका चल्थ्यो भने सायद म त्यहीँ हुन्थे, तर हामीकहाँ नाटक हेर्ने संस्कार निकै कम छ, यहाँमात्र नभई विदेशमा कमै मानिस नाटक हेर्न रुचाउँछन् र यस्तै कारणले रंगकर्मी चलचित्रमा बढी व्यस्त हुन्छन् होला”, अभिनेता नेपालले भने, “नाटकमा फर्किन ढिलो गर्न हुँदैन, हामीले आफ्नो उपस्थिति रंगमञ्चमा पनि राख्नुपर्छ, चलचित्रमा मात्र केन्द्रित भएर रंगमञ्च भुल्यौं भने कलाकारिता पनि जीवित रहन सक्दैन।”

अभिनेता रवीन्द्र झाले मैथली नाटकमार्फत अभिनयको सुरुआत गरे। ‘जात्रा’मार्फत चलचित्रमा स्थापित भएपछि उनी पनि रंगमञ्च फर्किन सकेका छैनन् तर उनले नाटकप्रति माया भएकाले बेलाबखतमा हेर्न पुग्ने बताए।

“हामीले रंगमञ्चलाई भुलेको भए समय निकालेर त्यहाँ पुग्ने थिएनौं। मञ्चमा नभएता पनि दर्शक बनेर आफ्नो प्यास मेटाइरहेका छौं। चलचित्रमा काम गर्दा समय व्यवस्थापन गाह्रो भएको मात्र हो, रङ्गमञ्च भुल्ने कल्पना पनि गर्न सकिन्न”, अभिनेता झाले भने। नाटकमा आफ्नो कला देखाएर चलचित्रसम्मको यात्रा तय गरेका रंगकर्मीलाई ‘थिएटर’मा अहिले विरलै देख्न पाइन्छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *