उपनिर्वाचनः सत्ता गठबन्धन दलहरुले छुट्टाछुट्टै उम्मेदवारको नाम घोषणा गर्दै

दिपा पौड्याल
१५ चैत २०८० ७:००

काठमाडौं। अहिलेसम्मको परिस्थिति हेर्दा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका छुट्टाछुट्टै उम्मेदवार हुने भएका छन्। यद्यपी गठबन्धनभित्रका दलहरूबीच अन्तिम समयसम्म अहिलेको निर्णयमा फेरबदल हुनसक्ने कतिपय नेताहरूको भनाइ छ।

आफ्नो पक्षमा निर्णय लिन अन्य दलहरुलाई दबाब दिने उद्देश्यले पनि उम्मेदवारहरुको नाम सार्वजनिक गर्ने रणनीतिका रुपमा पनि यसलाई धेरैले अर्थ्याएका छन्। त्यसो त मित्रवत् प्रतिस्पर्धा गर्न तयार रहेको सन्देश पनि दलहरुले दिएका छन्।

उपनिर्वाचनका लागि यही चैत २४ गते उम्मेदवारी दिने कार्यतालिका तय गरिएको छ। इलाम-२ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ को प्रदेश सभा सदस्य १ मा उपनिर्वाचनमा हुँदैछ ।

बुधबार मात्र नेकपा माओवादी केन्द्रले दुवै स्थानमा उम्मेदवारी दिने निर्णय गरेको छ भने नेकपा एकीकृत समाजवादीले उम्मेदवारको नाम नै सार्वजनिक गरेको छ । उम्मेदवारको टुङ्गो नलगाइसकेपनि माओवादी केन्द्रले इलाम र बझाङमा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ।

सो पार्टीको पदाधिकारी बैठकले दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गर्दै उम्मेदवारको टुंगाे अर्को बैठकबाट लगाउने भएको हो। नेकपा माओवादी इलाम जिल्ला कमिटीले चार जनाको नाम माथिल्लो कमिटीलाई सिफारिस गरिसकेको छ।

अर्को सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले पनि दुवै स्थानमा उम्मेदवारी दिने भएको छ। इलाम-२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय सो पार्टीले गरेको छ।

प्रदेशसभातर्फ उम्मेदवारी नदिने निर्णय गरेको सत्ता गठबन्धनभित्रकै अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी शनिबार इलाम-२ मा उठाउने उम्मेदवारको नाम टुंगो लगाउने जनाएको छ।

रास्वपाले स्वतन्त्र उम्मेदवारी दिएका मिलन लिम्बुलाई समर्थन गर्ने वा आफ्नै उम्मेदवारका रुपमा अघि सार्ने चर्चा पनि छ। तर अहिलेसम्म अन्तिम निर्णय भने गरिसकेको छैन। सत्ता गठबन्धनमा रहेको दल जसपाले भने अहिलेसम्म कुनै निर्णय लिइसकेको छैन।

सत्ता साझेदार दल नेकपा एमालेले यसअघि नै इलाम-२ मा नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ र बझाङ जिल्ला अध्यक्ष दमनबहादुर भण्डारीलाई उम्मेदवार चयन गरिसकेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रदेश समितिले इलाम-२ को उम्मेदवारका लागि केन्द्रीय समितिमा ७ जनाको नाम सिफारिस गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिफारिस भएका नेताहरुसँग छलफल गर्नुभएको छ।

काँग्रेसले पनि उम्मेदवारको चयन भने गरिसकेको छैन। सत्ता समीकरण परिवर्तनसँगै उपनिर्वाचनलाई दलहरुले प्रतिष्ठाको विषय पनि बनाएका छन्।

सत्ता गठबन्धनमा आएको फेरबदलका कारण यो उपनिर्वाचनलाई जनमत परीक्षणका रुपमा पनि हेरिएको छ। त्यसमाथि स्वतन्त्र रुपमा युवाहरुले उम्मेदवारी घोषणा गर्न थालेपछि पनि इलाममा हुने उपनिर्वाचन झन् रोचक बन्दै गएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *