‘खुला सिमाना तर बन्द आकाश’को अवस्थाबाट बाहिर निस्कनुपर्छ : परराष्ट्रमन्त्री खनाल

डिसी नेपाल
२९ असोज २०८३ २०:५४
4
Shares

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको आर्थिक सहकार्य विस्तार गर्न हवाई कनेक्टिभिटीलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की) को ३२औँ वार्षिक साधारणसभालाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उनले व्यापार, लगानी, ऊर्जा, डिजिटल प्रविधि र पर्यटनका क्षेत्रमा सहकार्य बढाउनुपर्ने बताए।

‘हाम्रा जनतालाई जोड्न हामीले जमिन र आकाश दुवै मार्गको प्रयोग गर्नुपर्छ। यस बिन्दुमा, हामी ‘खुला सिमाना तर बन्द आकाश’को अवस्थाबाट बाहिर निस्कन आवश्यक छ,’ उनले भने।

मन्त्री खनालले भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीको महत्त्वपूर्ण स्रोत रहेको उल्लेख गरे। उनका अनुसार भारतसँगको द्विपक्षीय व्यापार नेपालको कुल वैदेशिक व्यापारको झन्डै दुई तिहाइ छ भने नेपालको ८० प्रतिशतभन्दा बढी वस्तु निर्यात भारततर्फ हुने गरेको छ।

उनले नेपाल–भारत आर्थिक सम्बन्धलाई अझ उत्पादक, विविधीकृत र उच्च मूल्य सिर्जना गर्न सक्ने बनाउनुपर्ने बताए। यसका लागि नेपालले उत्पादन क्षमता विस्तार, रोजगारी सिर्जना, गुणस्तरीय लगानी आकर्षित र निर्यात विविधीकरणमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।

‘भारत लगानीको प्रमुख स्रोत, मुख्य पारवहन साझेदार र नेपालको बिजुलीका लागि झन्झन् महत्त्वपूर्ण बजारका रूपमा पनि रहेको छ,’ उनले भने।

मन्त्री खनालले व्यापार सहजीकरण, लगानी तथा औद्योगिक सहकार्य, ऊर्जा, डिजिटल रूपान्तरण र पर्यटनलाई नेपाल–भारत आर्थिक सहकार्यका प्रमुख क्षेत्रका रूपमा प्रस्तुत गरे। उनले सीमापार विद्युत् व्यापारले दुई देशबीचको आर्थिक सम्बन्धमा नयाँ सम्भावना खोलेको उल्लेख गर्दै जलविद्युत् क्षेत्रमा थप लगानी र प्रसारण पूर्वाधार विस्तार आवश्यक रहेको बताए।

डिजिटल अर्थतन्त्रमा सहकार्यको सम्भावना औँल्याउँदै उनले नेपाल र भारतबीच भुक्तानी प्रणालीमा बढ्दो अन्तरसञ्चालनशीलताले नागरिक र व्यवसायलाई प्रत्यक्ष लाभ पुर्‍याउन सक्ने बताए। नेपाली युवा जनशक्तिलाई भारतको प्रविधि, पूँजी र बजारसँग जोड्नुपर्नेमा पनि उनले जोड दिए।

उनले नेपाल–भारत आर्थिक सहकार्यलाई प्रभावकारी बनाउन सरकार र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको बताए। निक्कीले व्यापारमा देखिएका अवरोध पहिचान गर्ने, लगानीयोग्य परियोजना अघि बढाउने र नीतिगत सुधारका लागि सरकारलाई सुझाव दिने भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ थियो।

‘परराष्ट्र मन्त्रालयले निक्कीलाई एक रणनीतिक संस्थागत साझेदारका रूपमा लिन्छ,’ उनले भने।

मन्त्री खनालले साना तथा मझौला उद्यम, महिला उद्यमी र युवा व्यवसायीलाई समेत सीमापार व्यापार तथा लगानीका अवसरमा पहुँच दिलाउनुपर्ने बताए। नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक, आर्थिक तथा मानवीय सम्बन्धलाई उपयोग गर्दै लगानी, प्रविधि हस्तान्तरण र साझा समृद्धिमा आधारित आधुनिक आर्थिक साझेदारी निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *