रेशम-रञ्जिता बिवादको चुरो कुरो

रञ्जिताको राजनीतिक भविष्य सुनिश्चितताको अफर पछि निम्तिएको किचलो

डिसी नेपाल
२१ चैत २०८० १२:१७

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीमा रेशम चौधरी र रञ्जिता श्रेष्ठ दम्पतिबीचको विवादले पार्टी विभाजनको संघारमा पुगेको छ। सोमबार पार्टीको बैठकमा हात हालाहालको स्थिति निम्तिएको थियो। त्यसकाे प्रतिक्रिया स्वरूप अध्यक्ष रञ्जिताले बागमती र गण्डकी प्रदेशका अध्यक्षलाई कारबाही गरेपछि पार्टीको विवाद चरमउत्कर्षमा पुगेको छ।

रेशम रञ्जिता दम्पतिको बिवादले सिंगो पार्टी नै दुई धारमा विभाजित भएको छ। रेशम पक्षले यही चैत २३ २४ गते केन्द्रीय समितिको बैठक बोलाएको छ। उक्त बैठक पार्टीको आधिकारिक नभएको रञ्जिताले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएकी छिन्।

यसले नाउपा विभाजनको डिलमा पुगेको बताइन्छ। रेशम रञ्जिता दम्पतीकोबीचमा राजनीतिक रुपमा देखा परेको दरारले पारिवाारिक र राजनीतिक विभाजन ल्याउने सम्मको अवस्था देखिएको नाउपा स्रोत बताउँछ।

यसको नालीबेली निकै लामो रहेको छ। रेशमले डिल्लीबजार कारागारबाट गठन गरेको पार्टीमा आफ्नै श्रीमती रञ्जितालाई अध्यक्ष बनाएका थिए। उनको अवधारणा अनुसार गठित नाउपाले ४ संघीय सांसद सहित प्रदेशमा १२ सांसद जितेको थियो। लुम्बिनीमा ४, मधेशमा १, सुदूरपश्चिममा ७ सांसद नाउपासँग रहेका छन्।

उनले निर्वाचन आयोगले खारेज गरिदिएको अध्यक्ष पद थमौतीका लागि सत्ता गठबन्धनसँग बार्गेनिङ गर्ने अस्त्रका रुपमा लुम्बिनी र सुदूरपश्चिमका सांसदहरुलाई उपयोग गर्ने दाउमा छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा रहेका आफ्ना सांसदहरुको निर्णायक उपस्थितिलाई देखाएर सरकार बनाउने क्रममा आफ्नो माग बलियो ढंगले राख्न तत्काल गठबन्धनलाई समर्थन गर्न नहुने अडानमा उनी रहेको स्रोतले जनाएको छ।

रेशमले स्थापनाा गरेको पार्टीको अध्यक्ष बनेर संघीय मन्त्री समेत बनेकी रञ्जिता अहिले उनकै विरुद्ध उत्रिएकी छिन्। रेशम रञ्जिता खटपटको मूल कारण भने सत्ता राजनीति नै देखिएको छ।

नाउपाको गत महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम टिकापुर घटनामा तीनवटै अदालतबाट दोषी ठहर भएको भन्दै निर्वाचन आयोगले उनको पद खारेज गरिदिएको थियो। त्यसपछि रञ्जिता नै पुनः पार्टीको अध्यक्ष बनेकी छिन्।

अहिले रेशम रञ्जिता दम्पतीका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते एमाले सहितको नयाँ गठबन्धन बनेपछि त्यसको पक्षमा या विपक्षमा रहने भन्ने विषयमा मतभेद बढाएको हो।

नाउपा संरक्षक रहेका रेशम वर्तमान सरकारलाई समर्थन गर्न नुहने अडानमा थिए भने रञ्जिता परिवर्तित सत्ता गठबन्धनकै पक्षमा उभिएकी थिइन्। यही विषयमा बढेको विवाद अहिले पार्टी विभाजनको तहमा पुगेको छ।

सुदूरपश्चिममा कांग्रेसको सरकारलाई समर्थन गर्नुपर्ने पक्षमा रेशम लागेका छन्। उनले कुनै हालतमा पनि कमलबहादुर शाहको सरकार जोगाउनु पर्ने पक्षमा उभिएका छन्।

यता रञ्जिताले भने रेशम विदेश गएको बेलामा पार्टीको बैठक बसालेर केन्द्रमा परिवर्तन भएको सत्ता गठबन्धन बमोजिम प्रदेशमा बन्ने नयाँ समीकरणलाई साथ दिने निर्णय गराएकी थिइन्।

यिनै विषयले बढाएको पार्टीको विवादमा सत्तारुढ एमाले माओवादी रञ्जिताको पक्षमा देखिएका छन् भने भर्खरै सरकारबाट बाहिरिएको कांग्रेस रेशमको पक्षमा देखिएको छ।

स्रोतका अनुसार सत्तारुढ घटकले रञ्जितालाई वर्तमान सरकारमा सामेल हुन आग्रह गर्दै त्यसपछिको राजनीतिक भविष्य पनि सुनिश्चितताको आश्वासन दिएका छन्।

सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले रञ्जितलाई अनेकौं प्रपञ्चमार्फत आफ्नै पक्षमा ल्याइसकेका छन्। यसको उपज वर्तमान सत्ता गठबन्धनको पक्षमा आफ्नो श्रीमान रेशमको इच्छाविपरीत रञ्जिता दृढतापूर्वक उभिएको स्रोतको दाबी छ।

स्रोतका अनुसार सत्ता गठबन्धनका नेताहरु रञ्जितालाई हालकै सरकारमा सामेल गराएर मन्त्री बनाउने र त्यसपछि आगामी ८४ को् निर्वाचन लगत्तै उपराष्ट्रपतिकोप्रलोभन देखाएर आफ्नो पक्षमा ल्याउन सफल भएका छन्।

यता रेशम भने अहिले पार्टी कुने हालतमा सरकारमा सहभागी हुन नहुने पक्षमा अडिग छन्। उनले सरकारमा सहभागी भए पार्टीको जनमत गुम्ने बताउँदै अहिलेको आवश्यकता पार्टीलाई मजबुद गराउन सांगठनिक सक्रियता बढाउनुपर्ने पक्षमा छन्।

उनी सरकार बाहिर रहेर बार्गेनिङ पावर बढाउने दाउमा छन्। निर्वाचन आयोगले अध्यक्ष पद खारेज गरिदिएपछि वर्तमान सत्ता गठबन्धनसँग रुष्ट रहेका हुन्। यसमा मूख्य भूमिका सत्ता गठबन्धनकै नेताहरुले निर्वाचन आयोगमार्फत गराएको निष्कर्षमा रेशम पुगेका छन्।

उनी सक्रिय राजनीतिमा आउन चाहेका छन्। निर्वाचन आयोग बाधक बनेपछि सरकार बाहिर रहेर बार्गेनिङ पावर बढाएर खुला राजनीति गर्ने उनको मनशाय छ। त्यसका लागि तत्काल सरकार बाहिर रहनुपर्ने उनको मत छ।

स्रोतका अनुसार रेशमले सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग सबै राजनीतिक दलका नेताहरुको हिंसात्मक पृष्ठभूमिलाई छुट दिइएको तर आफूलाई मात्रै उपेक्षा गरेर पार्टीको अध्यक्ष बन्न नदिन निर्वाचन आयोगलाई प्रयोग गरिएको भन्दै गुनासो गरेका थिए।

उनको एक मात्रै जोड स्वतन्त्र रुपले खुला राजनीति गर्न पाउनु पर्ने  छ। सोही कारणले आफ्नो बलियो उपस्थिति सबै प्रदेशमा देखाउन सरकार बाहिर रहनुपर्ने निष्कर्षमा पुगेका उनको रणनीति पार्टीको नेतृत्व आफैंले गर्ने  छ।

उनले निर्वाचन आयोगले खारेज गरिदिएको अध्यक्ष पद थमौतीका लागि सत्ता गठबन्धनसँग बार्गेनिङ गर्ने अस्त्रका रुपमा लुम्बिनी र सुदूरपश्चिमका सांसदहरुलाई उपयोग गर्ने दाउमा छन्।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा रहेका आफ्ना सांसदहरुको निर्णायक उपस्थितिलाई देखाएर सरकार बनाउने क्रममा आफ्नो माग बलियो ढंगले राख्न तत्काल गठबन्धनलाई समर्थन गर्न नहुने अडानमा उनी रहेको स्रोतले जनाएको छ।

तर रञ्जिता भने सत्ता गठबन्धनका नेताहरुको आश्वासन र भावी उपराष्ट्रपतिको प्रलोभनमा परेर आफ्नै श्रीमान रेशम विरुद्ध उभिएको स्रोतकाे दाबी छ।

उसो त यी दुबैको दाम्पत्य जीवन पनि सुरुदेखि नै खासै सुमधुर नरहेको बताइन्छ। रेशमको जेठी श्रीमतीको रुपमा रहेकी रञ्जिता काठमाडौंकी रैथाने नेवार समुदायकी हुन्। उनी प्रायजसो काठमाडौंमै बस्ने गर्दथिन्।

रेशमले अर्की कान्छी श्रीमतीलाई बर्दियामा राखेका छन्। उनको कान्छी श्रीमती आशा चौधरीबाट एक छोरी समेत छिन्। यसले पनि रेशम रञ्जिताको दाम्पत्य जीवनमा राजनीतिक मतभेदले तीव्रता ल्याएको नाउपा स्रोत बताउँछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *