सहकार्यको मिलनबिन्दु पहिल्याउँदै कांग्रेस-एमाले

निर्वाचन प्रणाली परिवर्तन गर्न सहमत, माओवादीमा संशय

शरद रिजाल
२३ चैत २०८० १४:४५

काठमाडौं। तत्कालीन सत्ता गठबन्धनको निर्णय विपरीत कोशीमा एमालेसँग सहकार्य अघि बढाएर आफ्नो दलको मुख्यमन्त्री बनाउन सफल भएको कांग्रेसको शेखर कोइराला समूह अहिले फेरि एमालेसँग सहयात्राको तयारीमा लागेको छ।

बिहीबार विराटनगर पुगेका शेखर कोइरालाले मुलुकको संकट समाधान गर्न दुई ठूला दल कांग्रेस एमाले मिल्न अपरिहार्य रहेको बताएका छन्। उनले विगतमा संविधान निर्माणको समय स्मरण गर्दै सो अवधिमा कांग्रेस एमालेको सहकार्यले नै संविधान निर्माणले पूर्णता पाएको उल्लेख गरेका थिए।

कांग्रेसका सभापति शेरबहादुर देउवा इतरका नेता कोइराला सुरुदेखि नै माओवादीसँगको गठबन्धनको विपक्षमा थिए। उनले कांग्रेस माओवादी सत्ता सहयात्रा रुचाएका थिएनन्।

गत फागुन २१ गते कांग्रेससँगको गठबन्धन लत्याएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग सहकार्य गरेपछि नयाँ सहकार्य वाम एकतासम्म पुग्ने आँकलन गरिएको थियो।

तर एमालेका नेताहरुले यसलाई गठबन्धन नठानेर समीकरणका रुपमा बुझ्न कार्यकर्तालाई सुझाइरहेका छन्। यसले पनि वर्तमान सत्ता गठबन्धन दीर्घकालसम्म जानेमा आशंका व्याप्त छ।

यसैबीच कांग्रेस- एमाले सहकार्यका लागि संवाद अघि बढेपछि नयाँ गठबन्धनको सम्भावित भविष्य नै अन्योलग्रस्त बनेको जानकारहरु बताउँछन्।

कांग्रेसका कोइराला तेस्रो दल माओवादीले दुई ठूला दललाई पालैपालो आफ्नो अनुकूलतामा हिँडाएको भन्दै एमालेसँग सहकार्य गर्नुपर्ने सार्वजनिक रुपमा बताउँदै आएका उनले ओलीसँग सम्वाद पनि सुरु गरिसकेका छन्।

एमाले -काग्रेसबीच नयाँ सहकार्य थालेर संविधान संशोधनको दिशामा जानुपर्ने कांग्रेस नेता कोइराला बताउँछन्। उनले वर्तमान मिश्रित निर्वाचन प्रणालीले नै मुलुकमा स्थिरता निम्तिएको निष्कर्षमा पुगेकाले यसलाई संशोधनको आवश्यकता बढेको औंल्याए।

‘अहिलेको अस्थिरताको मूल कारक निर्वाचन प्रणाली भएकाले त्यसलाई संशोधन गर्न दुई ठूला दल मिल्नुको विकल्प छैन।’, उनले डिसी नेपालसँग भने, ‘त्यसैले अस्थिरताको कारक मिश्रित निर्वाचन प्रणाली परिवर्तन गर्दै समानुपातिक प्रणाली हटाउन दुवै दल मिल्नुपर्ने आवश्यकता महशुस गरेका छौं।’

अहिलेको अस्थिरताको कारक हालको मिश्रित निर्वाचन प्रणाली भएकाले त्यस अन्तर्गतको समानुपातिक प्रणाली संविधान संशोधनमार्फत हटाएर प्रत्यक्ष निर्वाचित मात्रै बनाउनुपर्ने उनको निचोड छ। उपरोक्त प्रस्तावमा एमाले अध्यक्ष केपी शर्माओली सकारात्मक रहेको उनको भनाइ छ।

यसका अलावा शासकीय स्वरुपसहित धर्म निरपेक्षता लगायत अन्य संवैधानिक व्यवस्था संशोधनका बारेमा पनि पुनर्विचार गर्ने तपाईंको मनशाय हो? भन्ने डिसी नेपालको प्रश्नमा उनले अहिले निर्वाचन प्रणाली बाहेक अन्य विषयमा संविधान संशोधनबारे आफ्नो कुनै प्रस्ताव नभएको प्रष्ट पारे। अन्य संवैधानिक प्रावधान संशोधनका पक्षमा तत्काल आफू नरहेकाे उनले जिकिर गरे।

एमाले अध्यक्ष ओलीसँगको सहकार्यलाई लिएर भइरहेको भेटवार्ता सकारात्मक उन्मुख भएको कोइरालाले दाबी गरे। यद्यपि भेटवार्ता भएको समयका बारेमा उनले खुलाउन चाहेनन्।

यता एमाले अध्यक्ष ओलीको सचिवालयले भने सुरु देखि नै आफ्नो दलका अध्यक्षले यही विषयलाई लिएर कांग्रेससँग संवाद गर्न चाहे पनि कांग्रेस तयार नभएको जनाएको छ।

वर्तमान निर्वाचन प्रणालीको उपज अस्थिरता निम्तिएको बारेमा दुवै पक्षको साझाा धारणा भएपनि संस्थागत रुपमा छलफल नभएको ओलीको सचिवालयले दाबी गरेको छ।

सचिवालयका अनुसार अध्यक्ष ओलीले वर्तमान समीकरणमा एमाले सहभागी हु्नु अगावै कांग्रेससँग अघि बढाएकाे सहकार्यको प्रस्तावमा कोइराला पक्ष सकारात्मक भएपनि संस्थापन देउवा पक्षले बेवास्ता गरेपछि सहकार्यले मूर्तरुप लिन नसकेको हो।

कांग्रेसको कोइराला पक्षसँग विभिन्न माध्यमबाट छलफल भएपनि समग्र पार्टीसँग संस्थागत रुपमा यसबारेमा कुनै गृहकार्य नगरिएको ओलीको सचिवालय स्रोतले जनायो।

यता कांग्रेस एमाले सहकार्यको चर्चा पछि माओवादी वृत्तमा भने सन्त्रास छाएको छ। यस अघि कांग्रेससँग सहकार्य तोडेर एमालेसँग सहकार्य गर्दा वाम गठबन्धनको रुपमा औंल्याएको माओवादी पछिल्लो दुवैको चलखेलप्रति जानकार रहेको बताइएको छ।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सहकार्य प्रस्ताव औपचारिक रुपमा अहिलेको गठबन्धन बन्नु अगावै राखिएको बताए। कोशीमार्फत सहकार्यको थालनी गरिएपनि कांग्रेसले संस्थागत निर्णय गर्न नसक्दा त्यसको विकल्पमा नयाँ समीकरण बनेको उनले स्वीकार गरे। तर अब अहिलेको गठबन्धलाई नै निरन्तरता दिने पक्षमा एमाले रहेको उनले जिकिर गरे।

‘यस अगावै कांग्रेससँग छलफल अघि बढाउने प्रयत्न गरिएको हो। यस बारेमा सार्वजनिक धारणा व्यक्त गरिसकेका छौं। तर अहिलेको गठबन्धनप्रति हामी प्रतिबद्ध छौं। यसैबाट जनपक्षीय काम गर्दै जान लागेका छौं।’, उनले डिसी नेपालसँग भने।

उनले अहिलेको गठबन्धनको विकल्पका बारेमा एमाले तयार नभएको प्रष्ट्याए। उनले अगाडि थपे, ‘यसको विकल्पमा एमाले तयार छैन। राष्ट्रिय हितका विषयमा छलफलका लागि सबैसँग खुला छौं’

प्रचार विभाग प्रमुख गौतमले राष्ट्रिय हितका विषयमा सर्वपक्षीय सहमतिका आधारमा सबैसँग सहकार्य गर्न सकिने बताउँदै त्यसका लागि गुटको नभएर पार्टीको संस्थागत धारणा ल्याउन कांग्रेसलाई आग्रह गरे।

संविधान संशोधनको गहन विषय एकाध दलको बीचको सहमतिले नभएर सबैको राष्ट्रिय सहमतिको आवश्यकता पर्ने उनले औंल्याए।

यद्यपि दुई प्रतिस्पर्धी दलका नेताहरुका बीचको छलफल स्वाभाविक भएको भन्दै राष्ट्रिय राजनीतिका साझा विषयमा छलफल हुनुलाई अन्यथा मान्न नहुने टिप्पणी गरे।

तत्काल एमालेले कांग्रेससँग सहकार्य गर्ने अवस्था नरहेको माओवादीका उपमहासचिव मातृका यादव पनि बताउँछन्। उनले अनौपचारिक रुपमा कसैको गठबन्धन तोड्ने इच्छा भएपनि संस्थागत रुपमा एमाले-माओवादीको बीचमा सुमधुर सम्बन्ध रहेको जिकिर गरे।

उनले डिसी नेपालसँग भने, ‘अब कसैको मनोगत चाहनाले गठबन्धन टुटाउने प्रयत्न गरिए पनि संस्थागतरुपमा त्यस्तो चलखेल भएको देखिँदैन।’

प्रधानमन्त्री एवं पार्टी अध्यक्षसँग आफ्नो नियमित भेट भएको जनाउँदै उनले भेटमा निर्धारित समयसम्म गठबन्धन जानेमा प्रधानमन्त्री निर्धक्क रहेको बताए। परिवर्तित गठबन्धन दीर्घकालसम्मै जाने आफूहरुलाई प्रधानमन्त्रीबाट ब्रिफिङ गरिएको उनले जानकारी दिए।

माओवादीमा वर्तमान गठबन्धनको भविष्यलाई लिएर कुनै संशय नरहेको उनले जनाए। मुलुकको हित अनुरुप गठबन्धन परिवर्तन गरिएकाले विश्वसनीय वातावरण कायम रहेको उनले दाबी गरे।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *