आज ईद उल फित्र, सार्वजनिक बिदा

डिसी नेपाल
२९ चैत २०८० ६:५३

काठमाडौं।आज मुस्लिम धर्मावलम्बीहरूले ईद उल फित्र (ईद) पर्व मनाउँदै छन्। साे अवसरमा आज सार्बजनिक बिदा दिइएको छ।

इस्लाम धर्मावलम्वीले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा गरे पछि ‘इद उल फित्र’ विहिबार मनाउने भए पछि आज सार्बजनिक बिदा दिइएको हो।

गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै बिहीबार सार्बजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको थियो।

इद पर्व मुस्लिम समुदायले आपसी रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुशियाली साटासाट गर्दै शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ।

इदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिँदै मिष्टान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहिआएको छ।

बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए। मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन्। रमजानलाई पवित्र महिना मानिन्छ। “जकात (दान) यही महिनामा दिइन्छ”, उनले भने, “हामी यो महिनालाई पुण्य कमाउने महिना मान्छौं।”

इद-उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिकरुपमा नमाज पढेर यो पर्व मनाइन्छ। राष्ट्रिय जनगणना-२०७८ अनुसार देशमा मुस्लिम सुमदाय कूल जनसंख्याकाे ५ दशमलव ९ प्रतिशत छ।

यो तथ्यांक अपूर्ण भएको आरोप लगाउँदै उनले मुस्लिम समुदायको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृति, शैक्षिकलगायत अवस्थाको अध्ययन अनुसन्धान गरेर वास्तविक विवरण सरकारसमक्ष पेस गर्ने आयोगको योजना रहेको बताए।

काठमाडौंमा मुस्लिम धर्मावलम्बीका लागि मस्जिद भए पनि अलि ठूलो समूहमा मिलेर नमाज पढ्ने, सांस्कृतिक गतिविधि गर्ने सभा हलको अभाव भएको उनी बताउँछन्।

“संस्कृति बचाउन स्थान चाहिन्छ”, उनले भने, “देशका मुसलमान बहुल स्थानमा ‘कल्चर सेन्टर’ स्थापनाका निम्ति हामीले सरकारसँग माग गरिरहेका छौं।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *