महाकुम्भ मेलामा शाहीस्नान

डिसी नेपाल
१ वैशाख २०८१ १८:५५

धरान। सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराधाममा लागिरहेको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा शाहीस्नान गरिएको छ।

आज नयाँ वर्षको शुभसाइतमा यस वर्षको कुम्भ मेलाको पहिलो शाहीस्नान गरिएको हो। जगदगुरु बालसन्त मोहनशरण देवाचार्यसहित साधुसन्तहरूले बराहक्षेत्रस्थित सप्तकोशी नदीमा शाहीस्नान गरेका हुन्। एक महिनासम्म लाग्ने कुम्भमेलामा जम्मा चारवटा स्नान कार्यक्रम राखिएका छन्। यही वैशाख ११, १६ र २६ गते शाहीस्नानका कार्यक्रम राखिएको छ।

हिन्दू धर्मशास्त्रीय मान्यताअनुसार विश्वका चारधाममध्येको एक पवित्र तीर्थ वराहक्षेत्रस्थित सप्तकोशी नदीमा सन्त, महन्तलगायतले शाहीस्नान गरेको जगदगुरु देवाचार्यले बताए। धर्मशास्त्रअनुसार सन्त, महन्तले गर्ने स्नानलाई शाहीस्नान भनिन्छ।

शुभ मुहुर्तमा शाहीस्नान गरेमा अमरताको वरदान प्राप्त गर्ने धार्मिक विश्वास रहेको देवाचार्यले बताए। वराहक्षेत्रस्थित चतराधाममा गत चैत २७ देखि सुरु भएको महाकुम्भ मेला यही वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ।

कुम्भमेलाकै अवसरमा चतरास्थित रामानन्दाचार्य सेवा पीठले पनि आजदेखि संकटमोचन श्रीहनुमद महायज्ञ सुरु गरेको छ। महायज्ञमा वैशाख ५ गते पीठको निमन्त्रणमा भारतको वागेश्वरधामका कथावाचक धीरेन्द्र शास्त्री (वागेश्वर सरकार) सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ। शास्त्रीले चतरामा वैशाख ९ गतेसम्म हनुमान कथावाचन गर्ने आयोजकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *