माधवप्रसाद उपाध्यायले सम्हाले गरिमा विकास बैंकको सिइओको जिम्मेवारी
काठमाडौं। गरिमा विकास बैंकको सिईओको जिम्मेवारी माधवप्रसाद उपाध्यायले सम्हालेका छन्। शनिबार निवर्तमान सिइयो गोविन्दप्रसाद ढकालको विदाइ गर्दै उपाध्यायले सिइओको जिम्मेवारी सम्हालेका हुन्।
गरिमा विकास बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा सकिएसँगै विकास बैंकको चैत १४ गते सम्पन्न सञ्चालक समितिको ३०४औं बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो।
पद तथा गोपनियताको समथ ग्रहण पश्चात बोल्दै नवनियुक्त प्रमुख कार्यकारी अधिकृत उपाध्यायले विकास बैंकमा कार्यरत सशक्त युवा जनशक्ति मार्फत संस्थागत सुशासन र अनुपालनालाई पहिलो प्राथमिकतामा राखी विकास बैकलाई थप उचाईमा पुर्याउने तथा सदैव उत्कृष्ट प्रतिफल प्रदान गर्नमा केन्द्रीत रहने प्रतिवद्धता व्यक्त गरे।
त्यसैगरी निवर्तमान प्रमुख कार्यकारी अधिकृत ढकालले विगत १५ वर्षभन्दा बढी समय विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेकोमा सञ्चालक समतिप्रति कृतज्ञता व्यक्त गरे।
उक्त समारोहमा विकास बैंकको सञ्चालक समितिका पदाधिकारीहरु, पुर्व अध्यक्षहरु, गरिमा म्युचुअल फण्डका कोष सुपरिवेक्षकहरु, सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेडका अध्यक्ष, सञ्चालक समिति सदस्य र प्रमुख कार्यकारी अधिकृत, विकास बैंकमा व्यवस्थापन तहमा कार्यरत पदाधिकारीहरु तथा अन्य कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आइरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment