पार्टीमै बस्ने घोषणा गरेका विश्वदीप पार्टी छोड्न चाहनेलाई समेत उछिन्दै प्रचण्डको शरणमा

बाबुरामसँग तोडे दुई दशक देखिको पारिवारिक सम्बन्ध

डिसी नेपाल
४ वैशाख २०८१ १२:१०

काठमाडौं। नेपाल समाजवादी पार्टी(नेसपा)का नेता विश्वदीप पाण्डे नेकपा(माओवादी केन्द्र)मा प्रवेश गरेका छन्। उनलाई सोमबार प्रधानमन्त्री रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा पार्टीमा भित्र्याएका हुन्।

तत्कालीन माओवादीमा रहँदादेखि डा.बाबुराम भट्टराईका स्वकीय सचिव रहेर काम गरेका पाण्डे हाल नेपाल समाजवादी पार्टीको प्रचार विभाग प्रमुख रहेका थिए।

जनयुद्ध   हुँदै  हालसम्म बाबुरामकै सचिवालयमा रहेका उनका निकटस्थ पाण्डेले सोमबार उनको साथ छाडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हातबाट खादा लगाएर पार्टी प्रवेश गरेका छन्।

बाबुराम नेतृत्वको नेसपामा लामो समयदेखि माओवादीसँग एकता गर्ने विषयमा बिवाद रहेको थियो। पार्टीका अध्यक्ष महिन्द्रराय यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठ माओवादीसँग एकताको पक्षमा थिए भने बाबुराम र पाण्डे एकताको विपक्षमा रहेका थिए।

नेसपाको अर्का अध्यक्ष यादव र सहअध्यक्ष श्रेष्ठ पक्षले माओवादीसँग एकताको औपचारिक निर्णय गरेपछि पार्टी विभाजित भएको थियो। सोही समयमा पाण्डेले यादव र श्रेष्ठलाई माओवादीमा प्रवेशका लागि सहजता प्रदान गर्नुपर्ने सामाजिक सञ्जालमार्फत बताएका थिए।

उनले पेरिसडाँडासम्म पुर्याएर बिदाइ गर्दै आफूहरुले नेसपालाई नै बनाउने प्रण गरेका थिए। तर पाण्डे आफैं उनीहरु भन्दा अघि नै माओवादीमा प्रवेश गरेका छन्।

जबकि यादव र श्रेष्ठले माओवादीसँग पार्टी एकताको औपचारिक निर्णय मात्रै गरेका हुन्। उनीहरुले अहिले पनि अलग पार्टीका रुपमा राजनीतिक गतिविधि गरिरहेका छन्।

तिनै श्रेष्ठ र यादवलाई सौहार्द ढंगले माओवादीमा पठाएर बाबुरामसँगै रहेर नेसपा बनाउने अठोट पाण्डेले गरेका थिए। उनले राजनीतिक यात्रामा मतभेद उत्पन्न भए सम्मानका साथ अलग्गिनुपर्ने बताउँदै माओवादीमा उचित स्थान प्रदान गर्न आफूले अध्यक्ष प्रचण्डलाई आग्रह गर्ने समेत बताएका थिए।

उनले पार्टीमा असहमति कायम गरेर माअ‍ोवादी जाने तयारी गरेका नेताहरुलाई सम्मानपूर्वक पठाउने उद्घोष गरेको उक्त स्टाटस सामाजिक सञ्जालबाट हटाइसकेका छन्।

बाबुरामसँगै रहेर पार्टी बनाउने सामाजिक सञ्जालबाट उद्घोष गरे लगत्तै महिन्द्र राय र गंगानारायणको एकता अगावै उनी माओवादीमा प्रवेश गरेका हुन्।

उनको माओवादीमा प्रवेशको कारण भने अर्कै रहेको बताइएको छ। केही दिन अघि बाबुरामसँगै साथमा रहने बचनबद्धता जाहेर गरेका उनी आर्थिक रुपले समस्याग्रस्त भएपछि माओवादीमा प्रवेश गरेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार उनी आर्थिक रुपले कमजोर भएर व्यवसाय धराशायी भएपछि माओवादीमा प्रवेश गरेका हु्न्। उनले आफ्नो आर्थिक समस्या बाबुरामसमक्ष राखेका थिए।

सोमबार पार्टी प्रवेश गर्नुअघि उनले बाबुरामकै निवासमा पुगेर आफ्नो समस्या दर्शाएका थिए। तर बाबुरामबाट कुनै सहयोग नहुने देखेपछि हतारिएर माओवादीमा प्रवेश गरेको स्रोतको दाबी छ।

स्रोतका अनुसार प्रचण्डले उनको समस्या समाधानका लागि राजनीतिक नियुक्तिको आश्वासन दिएपछि उनी हतारिएर माओवादीमा प्रवेश गरेका हुन्। प्रचण्डले आफ्नै सचिवालयमा या अन्यत्र कतै राजनीतिक नियुक्ति दिने प्रतिबद्धता जनाइसकेका छन्।

विश्वदीपको बुबा भक्ति पाण्डे माओवादी जनयुद्धमा भारतबाट हतियार आयात गर्ने मध्येका एक हुन्। सोही कारणले पनि प्रचण्ड विश्वदीपप्रति सकारात्मक रहेको बताइन्छ।

बाबुरामको पारिवारिक सदस्यको रुपमा रहेका विश्वदीप उनको निकटस्थ सहयोगी हुन्। करिब दुई दशक बाबुरामको पारिवारिक सदस्यको रुपमा रहेका थिए। माओवादीमा प्रचण्ड बाबुरामसँगै हुँदा विश्वदीपका बुबा भक्ति पाण्डे बाबुरामका निकटस्थका रुपमा चिनिन्थे।

बाबुरामले नयाँ शक्ति गठन गर्न माओवादीबाट अलग भएपछि बुबा भक्ति पाण्डे प्रचण्डसँगै रहँदा विश्वदीप भने बाबुरामतिर लागेका थिए।

माओवादीमा चाचा उपनामले चिनिने उनका बुबा भक्ति पाण्डे दोस्रो संविधासभा सदस्य हुँदै सांसद भएका उनको केही वर्ष अघि निधन भइसकेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *