सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सत्ता गठबन्धनको गृहकार्य

दिपा पौड्याल
४ वैशाख २०८१ १३:५३

धनगढी। सुदूरपश्चिममा नयाँ सरकार निर्माण बारे अन्योलता बढेको छ। आइतबार प्रदेश प्रमुख नाजिर मियाँले दिएको समयभित्र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेपनि अहिलेसम्म प्रदेश प्रमुखले निर्णय लिएका छैनन्।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालको मंगलबार बिहान बालुवाटरमा भएको छलफल पछि नयाँ विकल्पमा जाने सम्भावना पनि बढेको छ।

सोही अनुसार सुदूरपश्चिमका एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नाउपाका केहि सांसदहरुले छलफल गरेको बुझिएको छ। स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिएर अगाडी बढ्ने विकल्पको बारेमा छलफल गरेका छन्।

नाउपाका दुई सांसदले मुख्यमन्त्रीमा दाबि पेश गरेको अवस्थामा एकीकृत समाजवादीलाई कसरी मुख्यमन्त्री दिन सकिन्छ भन्ने कानुनी पाटो बारे अहिले छलफल भइरहेको बुझिएको छ। प्रधानमन्त्री प्रचण्डसँगको भेटमा पनि नेता खनालले सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिएमा सबै समस्याको हल हुने बताएका थिए।

स्रोतका अनुसार प्रदेश प्रमुखले दुवै दाबिलाई रद्द गरेर नयाँ आह्वान गर्न सक्ने बताइएको छ। तर यसका लागि प्रदेस प्रमुखले दिने कानुनी आधारले प्रदेशको राजनीति अदालती झमेलामा जान सक्नेसमेत विश्लेषण शुरु भएको छ।

आइतबार गरिएको दाबिमा लक्ष्मणकिशोरले कांग्रेससहित २८ सांसदको समर्थन पश गरेका छन् भने कैलाश चौधरीले २३ सांसदको समर्थन सूची पेश गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *