देउवासँगको छलफल पछि सुदूरपश्चिममा नेकपा एसको अर्कै दाउ

डिसी नेपाल
६ वैशाख २०८१ १२:२२
48
Shares

धनगढी। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न दिएको दुई दिनको समय आज सकिँदै छ।

सत्ता समीकरणको दल नेकपा एमालेले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई समर्थन नगर्ने बताएपछि अन्योलता अझै जारी रहेको छ। एमालेले अहिलेसम्म स्पष्ट निर्णय नगरेको बताइएको छ।

यता एमालेले सोडारीलाई समर्थन नगर्ने भनेपछि एकीकृत समाजवादीले भने प्लान बी तयार गरेको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरेर सुदूरपश्चिममा सहयोग मागेको बताइएको छ।

नेपालको प्रस्तावमा देउवा सकारात्मक भएको र आवश्यक परेमा सहयोग गर्ने र बदलामा अन्य प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग गर्नुपर्ने शर्त राखेका छन्। देउवाको प्रस्तावमा नेपाल सकारात्मक रहेको बुझिएको छ।

देउवासँगको छलफल पछि सुदूरपश्चिममा एकीकृत समाजवादीले प्लान बी तयार गरेको छ। अर्कोतर्फ माओवादीले भने केन्द्रको समीकरणलाई बचाउन एकीकृत समाजवादीलाई समर्थन गर्न सक्ने बताइएको छ।

प्रदेश प्रमुखले सरकार दाबि गर्न दिएको समय आज साँझ ५ बजे सकिने भएकाले एकीकृत समाजवादीले कसरी बहुमत पुर्याएर दाबि गर्न भन्ने स्पष्ट भएको छैन।

सुदूरपश्चिममा एकीकृत समाजवादीका ४ सांसद छन्। कांग्रेसका १८ सांसदले समर्थन गरेमा २२ मत हुने छ।

प्रदेशमा हाल कायम रहेको ५२ सदस्यमा बहुमतका लागि २७ मत आवश्यक पर्दछ। एकीकृत समाजवादीलाई नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका ५ सांसदले समर्थन गर्ने नगर्ने स्पष्ट रहेको छैन।

यस अघि नाउपाका लक्ष्मणकिशोर चौधरीलाई एकीकृत समाजवादीले दिएको समर्थन फिर्ता लिएकाले अब उनीहरुले एकीकृत समाजवादीलाई समर्थन गर्ने नगर्ने स्पष्ट रहेको छैन। नाउपाको रेशम पक्षका ५ सांसद र राप्रपाका एक सांसदले समर्थन गरेमा भने २८ मत हुन्छ र बहुमत पुग्ने अवस्था बन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *