केपी-माधवको तुषले उल्झनमा सत्ता गठबन्धन

वैकल्पिक गठबन्धनको पहलमा माधव नेपाल

दिपा पौड्याल
६ वैशाख २०८१ १३:४८

काठमाडौं।  सत्ता गठबन्धन परिवर्तन गर्दा आफूसँग सल्लाह नगरिएको भन्दै रुष्ट बनेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको कारणले गठन्धनमा समस्या उत्पन्न भएको छ।

उनले दुई पटक नै गठबन्धन परिवर्तन गर्दा आफू र आफ्नो दलललाई नसमेटिएकामा असन्तुष्टि व्यक्त गर्दै आइरहेका छन्।यही समयमा सत्ताबाट बाहिरिएको कांग्रेससँग भेटवार्ता बढाएपछि माधव नेपालको वर्तमान सत्ता गठबन्धनसँगको असन्तुष्टि सतहमा आएको हो।

गत वर्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी सहकार्य गरेको कांग्रेस र एकीकृत समाजवादीलाई लत्याउँदै एमालेसँगको नयाँ गठबन्धनबाट प्रधानमन्त्री बनेका थिए। सोही समयमा पनि नेपालले आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए।

अहिले फेरि आफू आबद्ध कांग्रेससहितको गठबन्धन परित्याग गरेर आफ्नो सल्लाह बेगर एमालेसँग सहकार्य गरेपछि उनी बिच्किएका थिए। नयाँ गठबन्धन यही फागुन २१ गते बनेपछि नेपाललाई मनाउन सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्ड उनकै दैलोमा पुगेका थिए।

तारन्तारको भेटवार्ता र ओली प्रचण्डको आश्वासन पछि नयाँ सत्तागठबन्धनमा समाहित भएका उनले आफ्नो दलको तर्फबाट सरकारमा मन्त्री समेत पठाएका छन्। तर उनी वर्तमान सत्ता गठबन्धनसँग सन्तुष्ट नरहेको सार्वजनिक अभिव्यक्ति र सत्ता बाहिर रहेको कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटवार्ताले दर्शाएको छ।

बुधबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले पनि आफूहरुसँग कुनै सल्लाह नगरि प्रचण्ड- ओलीले गठबन्धन तोडेर विश्वासमाथि कुठाराघात गरेको निष्कर्ष निकालेको छ।

बैठकपछि पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले केपी ओली र प्रचण्डले आलोपालो प्रधानमन्त्री खाने मनशायले गठबन्धन बनाएको बताएका थिए। उनले नेताहरुको व्यवहारका आधारमा गठबन्धनप्रतिको धारणा बनाउने चेतावनीपूर्ण अभिव्यक्ति दिएका थिए।

अहिले एकीकृत समाजवादीको असन्तुष्टि वर्तमान सत्ता गठबन्धनको मुख्य दल एमालेसँग रहेको बताइन्छ। अहिलेका एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीचको तुषले एक अर्काप्रति विश्वासको वातावरण बन्न सकेको छैन।

उनै ओलीसँग व्याप्त अविश्वासले पार्टी विभाजनको तहमा पुगेका नेपाललाई वर्तमान गठबन्धनमा आफ्नो सहभागिता असहज लागिरहेको छ। ओलीबाट धोका पाइने भयले नेपाल सशंकित छन्। आफ्नो अस्तित्व रक्षाका लागि भौतारिएका नेपाल यही कारणले कांग्रेस सभापति देउवासँग भेटवार्तालाई बढाएको स्रोतले जनाएको छ।

यसले वर्तमान गठबन्धनको भविष्यमाथि नै प्रश्न उठाएकाले सत्ता गठबन्धनका नेताहरु नेपाललाई मनाउन भरमग्दुर प्रयत्न गरिरहेका छन्। सोही कारणले सुदूरपश्चिममा मुख्यमन्त्री दिन सत्ता गठबन्धन राजी पनि भएको थियो।

तर, आफ्नो दलको मुख्यमन्त्रीलाई एमालेले नस्वीकार्ने संकेत गरेपछि थप चिढिएर नेपालले  कांग्रेस सभापति देउवासँगको भेटवार्तालाई तिव्रता दिएको बताइन्छ। बुधबार देउावसँग भेटवार्ता गरेका नेपालले वर्तमान गठबन्धनप्रति असन्तुष्टि व्यक्त गर्दै छुट्टै गठबन्धन बनाउने विषयमा समेत छलफल गरेको बताइएको छ।

ओली माधवको तुषले वर्तमान गठबन्धनमा गत्यावरोध उत्पन्न भएको नेताहरुको दाबी छ। ओलीको उपेक्षा र जुनसुकै समयमा पनि धोका दिने भयले  त्रसित रहेका अध्यक्ष नेपालले वर्तमान सत्ता गठबन्धनको विकल्प समेत सोच्न तयार भएको स्रोतले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *