प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

डिसी नेपाल
७ वैशाख २०८१ १७:०७

पोखरा। नेपाली कांग्रेसले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।

शुक्रबार अपरान्ह बसेको बैठकमा कांग्रेस सांसदहरु उपस्थीत नभएपछि गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धितालले बैठकमा सहभागी हुन पटक पटक आग्रह गरे।

सभामुखको बायाँतर्फ रहेको प्रतिपक्षी बेन्चमा सांसदहरुको आसन खाली देखिएको भन्दै उनले प्रतिपक्षी सदस्यहरुलाई हलमा प्रवेश गरि आफ्नो स्थानमा आसन गर्न आग्रह गरेका थिए।

त्यसपछि पनि प्रतिपक्षी सांसदहरु नआएपछि सभामुख धितालले प्रतिपक्षी सांसदको उपस्थीति नदेखिएको भन्दै कार्यसूचीमा रहेका बुँदाहरु हटाएर बैठक अर्को सूचना नभएसम्मलागि स्थगित गरे।

खगराज अधिकारी नेतृत्वको सरकारको वैधानिकताका सम्बन्धमा यसअघि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा फैसला नआएसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने भन्दै कांग्रेसले बैठक बहिष्कार गरेको हो।

अदालतको फैसला नआउदै मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि प्रदेश प्रमुखले प्रदेशसभा बैठक आह्वान गरिएको भन्दै कांग्रेसले सभामुखलाई ध्यानाकर्षणपत्र समेत बुझाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *