पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान

डिसी नेपाल
१० वैशाख २०८१ १३:५४

काठमाडौं। नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मानबाट सम्मानित गरेको छ।

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुरा भएको अवसरमा सोमबार ललितपुरको गोदावरीमा आयोजित समारोहकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई गणतन्त्र गौरव सम्मानबाट सम्मानित गरेको हो।

सम्मानित भएपछि पूर्वराष्ट्रपति भण्डारीले आफ्नो सम्मान समग्र लोकतान्त्रिक गणतन्त्रप्रतिको आस्था र विश्वासमाथिको सम्मान भएको भन्दै थप जिम्मेवारीबोध भएको बताइन्।

उनले एमाले तत्कालीन महासचिव मदन भण्डारीको रहस्यमय दुर्घटनामा मृत्यु भएपछि आफ्नो राजनीतिक यात्राले नयाँ मोड लिएको जिकिर गरिन्। मदन भण्डारीलाई स्मरण गर्दा निकै भावुक भएकी भण्डारीले एमालेको प्रेरणा र प्रोत्साहन एवं जनताको चाहना अनुरुप मदन भण्डारीका अधुरा सपना साकार पार्न राजनीतिमा सक्रिय हुने परिवेश सिर्जना भएको बताइन्।

उनले मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका निम्ति सवैले मिलेर कार्य गर्नुपर्ने अवस्था विद्यमान रहेको उल्लेख गरिन्। त्यस्तै भण्डारीले कम्युनिष्ट आन्दोलनमा पटक पटक देखिने गरेको फुट र विभाजनका बारेमा गम्भीर रुपमा समिक्षा गर्नुपर्ने बेला आएको पनि बताइन। कार्यक्रम मदन भण्डारीसम्बन्धी पुस्तक समेत सार्वजनिक गरिएको थियो।

आइतबार समापन भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकले भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने निर्णय गरेको थियो।

पूर्वराष्ट्रपति भण्डारीले लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा पुर्‍याएको योगदानर राष्ट्रिय स्वाभिमानको रक्षाका लागि अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गरेको एमालेले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *